काठमाडौं, वैशाख २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका लागि सरकारले राखेका सवै सर्त पूरा गर्न तयार रहेको बताएका छन् ।
उनले आफूहरु लचिलो भएको फाइदा सरकारवादी दलहरुले उठाएकोमा भने आपत्ति जनाए ।
माओवादीको आयोजनामा बुधबार राजधानीको याक एण्ड यती होटलमा बुद्धिजिवी र नागरिक समाजसँगको बृहद अन्तर्क्रियामा दाहालले नागरिक पार्टीमा रुपान्तरण हुने, लडाकु समायोजन र वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न तयार रहेको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले २५ बैशाखमा राजधानीमा भएको जनसभामा बुद्धिजिवी तथा काठमाडौंमा बस्ने सुकिला मुकिलाहरुले माओवादीलाई हेपेको आरोप लगाउँदै हिसाव किताव लिने चेतावनी दिएपछि बुद्धिजिवीवर्गसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन माओवादीले अन्तर्क्रिया गरेको हो ।
दाहालले माओवादी लडाकुसँगको सम्बन्ध तोड्न तयार रहेको बताए । 'माओवादी नागरिक पार्टी नभएसम्म सहमतिको सरकार बन्दैन भन्ने कुरा आएको,' उनले भने, 'जुन दिन बिस्तृत शान्ति सम्झौता भयो त्यहींबाट हामी नागरिक पार्टी भइसकेका छौं ।' नागरिक पार्टी भएरै संविधानसभाको निर्वाचनमा भाग लिएको, हडतालमा काठमाडौंमा आएका जनता नागरिक पार्टी भएकैले आएको उनले उल्लेख गरे ।
दाहालले क्यान्टोन्मेन्टका लडाकुहरुलाई जेठ महिनाभित्र समायोजन प्रक्रिया सुरु गर्न तयार रहेको बताए । उनले वाईसीएलको अर्ध सैन्य संरचनालाई ४-५ दिनभित्रै भंग गर्ने बताए । त्यसका लागि वाईसीएललाई ब्यारेकबाट हटाइने उनले बताए ।
होटलमा खचाखच रहेका बुद्धिजीवी तथा उद्यमीहरुसँगको अन्तर्क्रियामा दाहालले संविधानसभाको म्याद थप्ने बिषयमा आफूहरुलाई अन्यौल परेको बताए । 'थप्न मान्यो भने एक बर्षसम्म रिङ्ग्याएर सिध्याउने, थप्न मानेन भने देख्यौ माओवादीले नचाहेको यसलाई खत्तम पार्नुपर्छ भन्ने मैले सुनेको छु,' उनले भने । माओवादीले सरकारका सवै सर्त माने पनि प्रधानमन्त्री माधवकुमार नेपालले अझै एक बर्षसम्म राजिनामा नदिने खवर आएको उनले बताए ।
दाहालले गत शुक्रबार अनिश्चितकालीन आमहडताल फिर्ता लिन दबाबका लागि भएको शान्ति र्यालीमा सहभागीलाई भिजिलान्ते भनेकोमा माफी मागे । 'खुलामञ्चमा बोलेको कुराले बुद्धिजीवी र काठमाडौंका जनतालाई नमिठो लागेमा दुःख प्रकट गर्न चाहन्छु । क्षमा चाहन्छु,' उनले भने, 'मेरो उदेश्य बुद्धिजिवी र काठमाडौंका जनतालाई चित्त दुखाउनु थिएन । म काठमाडौंका जनतालाई त्यो भन्न चाहन्न ।'
दाहालले माओवादीले अबदेखि अनिश्चितकालीन आमहडताल नगर्ने जानकारी दिए । पहिले भएको आमहडताल पनि गल्ति थियो भन्ने निष्कर्षमा पार्टी पुगेको उनले उल्लेख गरे ।
दाहालले भने:
- म पहिले हाउसको कुरा सुनेर मात्र आफ्नो कुरा राख्छु भने । माओवादीकै कार्यक्रममा गयो भने उनीहरुकै कुरा सुन्नुपर्छ भन्ने गुनासो थियो ।
- मेरो आलोचना बढी हुन्छ भन्ने लागेको थियो, छाला चाँही दह्रो बनाएर जानुपर्छ भन्ने लागेको थियो ।
- खुलामञ्चमा बोलेकेको कुराले बुद्धिजीवी र काठमाडौंका जनतालाई नमिठो लागेमा दुःख प्रकट गर्न चाहन्छु । क्षमा चाहन्छु ।
- मेरो उदेश्य बुद्धिजिवी र काठमाडौंका जनतालाई चित्त दुखाउनु थिएन । म काठमाडौंका जनतालाई त्यो भन्न चाहन्न ।
- त्यो भनाईप्रति मलाई खेद चाँही छैन, केही बुदिजीवी मात्र जनताको पक्षमा हुन्छन् तर दुई खेमामा बाँडिएका हुन्छन् ।
- थोरै बुद्धिजीवीले जनतालाई हेप्छन्, ९९ प्रतिशत त जनताकै पक्षमा छन् ।
- हामी सुकिलामुकिलाको विरोधी पनि होइन । हामी सुकिला मुकिला नै बनाउन चाहन्छौं ।
- प्रचण्ड प्रधानमन्त्रीकै कुर्सीका लागि मरिहत्ते गर्छ भन्दा दुख पनि लागेको छ ।
- जनतालाई भ्रम परेको पनि छ र पारिएको पनि छ ।
- फेरि नेतृत्वको बिषयमा छलफल गर्न सकिन्छ भनेर हाम्रो स्थायी कमिटीले निर्णय गरेको छ ।
- मैले राजिनामा नदिंदा दुई शक्ति हुन्छ भनेर नै दिएको हो । संविधानसभा रोकेका छैनौं ।
- एमालेकै सभासदहरुले संसद किन खोलेको भनेर मलाई भन्नुभयो ।
- जनदबाबकै लागि हामीले हडताल गरेका थियौं । देशभित्र र बाहिर विध्वंस गर्छ भन्ने भ्रम थियो । यो आन्दोलनमा हामीले त्यो संसारभर देखाएका छौं । हामीले अनुसाशित बनाएका छौं ।
- स्थायी समिति बैठकले यो गल्ति थियो भन्ने निष्कर्ष निकालेका थियौं । त्यो लेसन हामीले लिएका छौं ।
- शान्ति सभा मैले हेरें, त्यहां ठिकै थियो । बाहिर आएपछि मैले जे हुन्छ भन्ने सोचेको थिए, त्यहा त्यही भयो, प्रचण्डलाई फासी दे भनियो । त्यही कारणले खुलामञ्चमा आवेग भयो ।
- बीरगन्जमा हिन्दूवादी भनिए पनि त्यहां बढि मुस्लिम थिए । बीरगन्जमा सय पचास हत्या गर्ने योजना थियो भन्ने सुन्यौं ।
- सप्तरीमा पनि घटना घटाउने योजना थियो, काठमाडौंमा पनि त्यस्तै थियो भन्ने रिर्पोट आएको थियो ।
- मलाई थाहा भएसम्म मलाई विस्तारै विश्वास भएको छ एमालेको केन्द्रीय समितिले भने पनि माधवजीले राजिनामा नदिने भन्ने सुनेको छु । यो के विचित्र हुन लाग्यो । जसलाई मैले चिठी लेखेरै उहाँलाई ल्याएको हुँ ।
- मैले नै सेना समायोजनका लागि चार महिने कार्ययोजना बनाएको थिएँ, कुरा सेना समायोजनमै छ । माओवादी नागरिक पार्टी नबनेसम्म राष्ट्रिय सहमति नभएसम्म सहमति हुन सक्दै भनियो , यो डरलाग्दो कुरा हो । विस्तृत शान्ति सम्झौतामा आए पनि हामी नागरिक पार्टी भएका हौं ।
- ९ महिना सरकार चलाउँदा नागरिक पार्टी नबन्ने, अहिले चाँही माओवादी नागरिक पार्टी बन्नु भन्नु के छ रहस्य । अस्ति आएका जनता बन्दूकको लागि आएका थिए कि नागरिक पार्टी भनेर ? चुनावमा हामी नागरिक पार्टी बनेर आएका थियौं ।
- म यति भन्छु, थिम्पुबाट आएपछि उहाँ फेरिनुभएको छ । हामीले बनाएको भए त उहाँले छाड्नु हुन्थ्यो । त्यसै मैले रिमोट कन्ट्रोलबाट भनेको होइन ।
- गिरिजाबाबु ३ हजार जति सेना समायोजन गरौं भन्नुहुन्थ्यो, म त्यही ५ ६ भन्थें । तर हार्दिकताका साथ कुरा हुन्थ्यो ।
- अव लडाकुलाई विशेष समितिमा ल्याउन तयार भयौं, लडाकुको समायोजन र पुर्नस्थापना गर्न जेठ महिनाभित्रै हामी तयार भयौं । जेठ महिनाभित्र सक्न तयार । हामी ४ महिनाभित्र सेना समायोजन गर्न तयार छौं ।
- केही मान्छे हाम्रो आन्दोलन रोकिएकोमा दुखी छन् । नेपालमा भीडन्त भए हुन्थ्यो भन्ने मनस्थितिका मान्छे पनि छन् ।
- फेरि संख्या तोक्नुपर्ने भनिएको छ,
- ४ ५ दिनभित्र ब्यारेकबाट हटाइदिन्छौं, वाईसीएललाई ।
- बेपत्ता आयोग बनाऔं ।
- द्वन्द्वकालमा भएका घटनामा दोषिका लागि पनि आयोग बनाऔं ।
- संविधानका बिषयमा पनि आयोग बनाऔं । केही बिषयमा त हामी सहमतिमा नि छौं ।
- परिवर्तन चाहने र नचाहनेको लडाईं चांही छ अहिले । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता चाहने र नचाहेको बीचको लडाईं छ । यो सरकारमा यस्तैको भीड छ ।
- गिरिजाबाबुले यसलाई रोक्न चाहनुहुन्थ्यो । तर अहिले सजिलो भएको छ, उनीहरुलाई ।
- पराधिन हुन चाहने र नचाहने बीचको लडाईं हो । पराधिन हुन चाहने र नचाहने बीचको लडाईं छ ।
- हामी आर्थिक उन्नती चाहन्छौं । यसमा पनि पराधिन हुन चाहन्छौं ।
- यो सरकार रहन्छ । एक बर्षसम्म नछाड्ने सूचना पाएका छौं हामीले । माओवादीलाई अझै ङ्याक्ने, झुकाउने रे गलाउने रे । संविधानसभाको म्याद थपौं गलाउने रे नथपौं माओवादीले भनेर स ुनाउने रे ।
- हामी एक पटक सरकारलाई छोड् भनेर एकैमुख लागेर भनिदिउँ । मलाई लाग्छ यसो गर्यौं भने ठीकै हुन्छ ।
source:kantipur