बाराक ओबामाको ३.५ अरब डलरको कार्यक्रममा नेपाल छानियो :

काठमाडौं, वैशाख २९ - नेपाल अमेरिकी राष्ट्रपति बाराक ओबामाको ३.५ अरब डलरको 'फीड द फ्युचर इनिसिएटिभ'का लागि छानिएको छ।
राष्ट्रपति ओबामको यो क्रार्यक्रममा नेपाल सहित २० राष्ट्र छनौट भएका छन्। फीड दि फ्युचर अमेरिकी सरकारको कृषि केन्द्रित बृहत् कार्यक्रम हो।

यसको उद्देश्य विकासोन्मुख राष्ट्रहरुमा विकासोन्मुख मुलुकमा भोक र गरिबी दीर्घकालीनका लागि कम गर्नु रहेको छ।
यूएसआइडीका मिसन निर्देशक केभिन रशिङले कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.जगदीश चन्द्र पोखरेललाई यसबारेमा जानकारी गराएका छन्।

नेपालको ८० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर छन्। ६७ प्रतिशत किसानलाई खाद्यान्न अपुग हुने गर्दछ। पाँच वर्ष मुनिका करिब आधा बालबालिका कुपोषित छन्।
ओबामाको कार्यक्रममार्फत नेपालसँग तीव्र र दीगो कृषिजन्य विकास, कारोबार तथा अन्य संयन्त्रद्वारा क्षेत्रीय समन्वय गर्ने सम्भावना छ। फीड द फ्युचरले नेपालका राष्ट्रिय तथा स्थानीय निकायका संस्था तथा व्यक्तिसँग साझेदारी गर्नेछ।

ओबामाको फीड द फ्युचरका २० फोकस मुलुकहरुमा एशियाका नेपाल, बंगलादेश, कम्बोडिया र ताजिकिस्तान छन्। अफ्रिकाका इथियोपिया, घाना, केन्या, लाइबेरिया, मालि, मलावि, मोजाम्बिक, रुवान्डा, सेनेगल, तान्जानिया, युगान्डा र जाम्बिया छन्। यसैगरी ल्याटिन अमेरिकाका ग्वाटेमाला, हाइटी, होन्डुरस र निकारागुवा छन्।

source:nagarik