काठमाडौं, जेष्ठ ९ - राष्ट्रिय मानवअधिकार आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण 'थप रहस्यम' भएको जनाएको छ ।
जेठ ४ गतेदेखि बेपत्ता डाक्टरको गाडी र सरसामान फरक-फरक ठाउँमा भेटिनुले घटना रहस्यमय भएको आयोगको ठहर छ । 'घटनापछि डा. श्रेष्ठले चढेको गाडी र सरसामान फरकफरक स्थानमा प्राप्त हुनु तर निजको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त नहुनुले घटनालाई थप रहस्यमय बनाएको देखिन्छ,' आयोग सचिव विशाल खनालद्वारा आइतबार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।
मानवअधिकार आयोगले डा. श्रेष्ठको अवस्था खोजी तीब्र बनाउन सरकारसँग माग गरेको छ । आफूले पनि घटनाको यथार्थ पत्ता लगाउन आवश्यक अनुगमनमा जुटिरहेको विज्ञप्तीमा उल्लेख छ ।
अस्पताल बन्द नगर
राष्ट्रिय मानवअधिकार आयोगले डा. भक्तमान श्रेष्ठको खोजीका लागि दबाब दिन अस्पताल बन्द नगराउन आग्रह गरेको छ । 'डा. श्रेष्ठको अवस्था सार्वजनिक गर्न दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघले देशभरिका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था एवम् अस्पतालमा आकस्मिक र अन्तरङ्ग बाहेकका सबै सेवा बन्द गरेको छ,' विज्ञप्तीमा भनिएको छ, 'बेलाबेलामा विभिन्न माग राखी स्वास्थ्य सेवाहरू बन्द गरिंदा नागरिकको स्वास्थोपचारमा प्रत्यक्ष असर पर्ने गरेको छ ।'
चिकित्सक श्रेष्ठको अवस्था सार्वजनिक गर्नका लागि दबाब स्वरूप आयोजना गरिने कार्यक्रमबाट सेवाग्राहीहरूले कष्ट पाउन नहुने आयोगको भनाइ छ । 'सर्वसाधारणको नियमित अबिलम्ब स्वास्थ्य उपचार सेवा सुचारु गर्न आयोग सम्बन्धित सबैलाई आग्रह गर्दछ,' आयोगले भनेको छ ।
source:kantipur