दार्जिलिङ, जेष्ठ ९ - गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खा लिगका अध्यक्ष मदन तामाङको
हत्या नेपाली माओवादीले गरेको दाबी गरेका छन् ।
वंगाल सरकारले तामाङको हत्याको आरोप लगाइरहेका वेला गुरुङले त्यस्तो दावी गरेका हुन् । 'नेपालका माओवादीले तामाङको हत्या गरेका हुन', गुरुङले भने,'घटनामा हाम्रो कुनै संलग्नता छैन ।' गुरुङले वंगालकै षड्यन्त्रमा नेपाली माओवादीले तामाङको हत्या गरेको जनाएका छन् । उनले गोर्खे-गोर्खेबीच लडाउने षड्यन्त्रमा वंगाल लागेको स्पष्ट पारेका छन् ।
गुरुङले तामाङको हत्याप्रति दुःख प्रकट गर्दै सीवीआई जाँच गर्न वंगाललाई माग गरेका छन् । यसैबीच वंगाल सरकारले मोर्चाका अध्यक्ष गुरुङसहित १३ शीर्ष नेताहरु पक्राउ गर्न प्राथमिकी मुद्धा दर्ता गराएको छ ।
मोर्चाका महासचिव रोसन गिरी, नारी मोर्चाकी अध्यक्ष आशा गुरुङ, सहसचिव विनय तामाङ, प्रचारसचिव हर्क क्षेत्री, रमेश आले, प्रदीप प्रधानलगायतका नेतालाई पक्राउ गर्न मुद्धा दर्ता गरिएको हो ।
source:kantipur