मान्छे तौलँदै, नेपाललाई पैसा दिँदै :

झन्डै ६ हजार किलोमिटर परको देश फिनल्यान्डका बासिन्दाले तौल घटाउँदा यहाँका साना नानीले शिक्षाको
थप अवसर पाउनेछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । फिनल्यान्डका एक नागरिकले १ किलो तौल घटाउँदा नेपाली खातामा शिक्षा क्षेत्रमा खर्च हुने गरी १५ युरो (करिब १५ सय रुपैयाँ) जम्मा हुन्छ ।
पहिचान नखुलाएका फिनल्यान्डका एक नागरिकले सुरु गरेको यो कार्यक्रममा संसारभर छरिएका फिनल्यान्डवासीले सहभागिता जनाउँदैछन् ।
यो अभियान गत जनवरीमा सुरु भएको हो । यसमा २३ हजार ५ यस फिनल्यान्डवासीले सहभागिता जनाएका छन् । उनीहरूको पहिलो तौल जनवरी सुरुमा लिइएको थियो । यतिबेला पुनः लिँदा
घटेको किलोग्रामका आधारमा ती अज्ञात व्यक्तिले नेपाललाई पैसा उपलब्ध गराउनेछन् ।
यसैका लागि विश्वभर रहेका फिनल्यान्डवासीको तौल नाप्ने काम भइरहेको छ । यसैक्रममा शुक्रबार नेपालस्थित फिनल्यान्डको दूतावासमा तौल मापन गरियो । दूतावासका अनुसार यसमा नेपालमा रहेका १७ फिनल्यान्डवासी सहभागी भए । '१४ जनाको घटेको पाइयो र त्यो कुल ८२ किलो भयो,' दूतावासले भनेको छ, 'यसबाट १२ सय ३० युरो उठेको छ ।' यो करिब १ लाख २३ हजार रुपैयाँ हो ।
यो अभियानबाट करिब १ अर्ब रुपैयाँ (१० मिलियन युरो) आउने अनुमान छ । उठेको रकम दूतावासमार्फत् नेपालले जुन १५ मा पाउनेछ । 'यसबाट आउने रकम  आगामी बजेटमा समावेश गरी देखिने गरी खर्च गर्नेछौं,' अर्थ सचिव रामेश्वर खनालले भने ।
फिनल्यान्ड सरकारले पनि नेपालको शिक्षा क्षेत्रमा सहयोग दिँदै आएको छ । सन् २०१४ सम्मको अवधिका लागि फिनल्यान्डले हालै करिब १ अर्ब ६० करोड रुपैयाँ (१६ मिलियन युरो) सहयोग गरेको छ ।

source:kantipur