सिनेमा शैलीमा गोली हानाहान :

काठमाडौं, जेठ ८ - शुक्रवार मध्यान्ह ३ : ४५ वजे बालाजु, पुल नजिकै गोली चल्यो। ठमेलतिर हुईकिईरहेको
मोटरसाईको पछाडि बसेको युवकको हातमा बन्दुक थियो। उनी आफ्नो पछाडि आईरहेको अर्को मोटरसाईकल चालकलाई 'टार्गेट' गर्दै गोली हानिरहेका थिए, अनी टार्गेट युवक गोली छल्दै मोटरसाईकल पिछा गरिरहेका थिए। अचानक अर्का मोटरसाईकल चालकले पनि पेस्तोल झिके,गोली चल्यो। अघिल्लो मोटरसाईकलमा सवार युवक भक्लक्क ढले।

चलचित्रको दृष्यांकन हो या रियल सिन? बटुवा अन्यौलमा थिए। जव एक घाईतेलाई ट्याक्सीमा राखेर उपचारका लागि अस्पताल पठाइयो बल्ल खुल्यो ति दृष्य हतियारका कारोवारी र प्रहरीविच भिडन्तको 'रियल' थियो।



महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले हतियार बेचविखन गर्दैछन् भन्ने जानकारी आएपछि कारोवारीको खोजीमा खटिएको प्रहरी टोली र हतियारका कारोवारीबीच भिडन्त भएको बताए। उनले भने, 'पक्राउ गर्न खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिनु अगाडि नै गोली हानेपछि प्रहरीले जवाफी फायरिगं गरेर एक जनालाई घटनास्थलबाट र अर्कोलाई घेराउ गरी पक्राउ गर्‍यो।'



अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार कारोवारीलाई एम्बुसमा पार्न प्रहरी निरीक्षकको कमान्डमा 'बालाजु भ्याली कोल्ड स्टोर नजिक सादा पोशाकमा चार जना प्रहरी खटिएका थिए। तीन जनाको संख्यामा हतियारका कारोवारी आएका थिए। प्रहरी 'मुभ' हुनुभन्दा अगाडि नै कारोवारीले चिनेर भाग्ने प्रयास गर्दा दुबैपक्षबीच घम्साघम्सी परेको थियो। घम्साघम्सीको क्रममा हतियारका कारोवारीले प्रहरीकै मोटरसाईकल थुतेर भागेका थिए।



प्रहरीले कारोवारी भागेको मोटरसाईकलको पिछा गरे। खरेलका अनुसार 'नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथि २ राउण्ड गोली प्रहार भएपछि प्रहरीले फायर गर्दा गोरखा सौरपानी -२ घर भएका वर्ष २१ का शिव ढकाललाई गोली लागेको थियो।' गोली लागेर ढकाल ढलेपछि अर्का २ कारोवारी भागेका थिए।



प्रहरी टोलीले गोली लागि घाईते भएका ढकाललाई वीर अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ ल्याएका थिए। उनको पेटमा गोली लागेर देब्रे कम्मरतिरबाट निस्किएको देखेपछि वीरका चिकित्सकले उनलाई अप्रेशन कक्षमा लगेका थिए। चिकित्सकका अनुसार उनको अवस्था गम्भिर छ।



अप्रेशन कक्षमा लैजानु अगाडि ढकालले नागरिकसित 'मोटरसाईकलमा हिडिरहेको अवस्थामा गोली हानेर घाईते बनाएको' दावी गरे। गोर्खा सोरतागं स्थायी घर रहेका २१ वर्षिया ढकालले कटुवा पेस्तोल आफ्नो रहेको स्विकार समेत गरे। उनले भने, 'हतियार बोकेको छ भन्दैमा गोली नै हानीहाल्नुपर्छ?'



फरार अभियुक्तको खोजीमा महानगरिय प्रहरी बृत्त बालाजु र सोह्खुट्टे प्रभागवाट करिब एक सय प्रहरी टोली परिचालित भएको थियो। प्रहरी टोलीले बालाजु पुल वरीपरीको क्षेत्र सिल गरी छापा मादैं जानेक्रममा भ्याली कोल्डस्टोरको छतमा प्वाल परेको देखेपछि भित्र खोजी गर्दा शौचालयमा लुकेर बसेको अवस्थामा मनमैजु शेषमति डेरा गरी बस्ने वर्ष १९ को दुम्सी भन्ने सुमन मगर पक्राउ परेका थिए।



अर्का फरार अभियुक्त फरार नै छन्। पक्राउ परेका मगरले आफ्नो साथमा रहेको हतियार नदी किनारमा फालेको बताएपनि प्रहरीले हतियार फेला पार्न सकेको छैन। हतियार र फरार अभियुक्तको खोजीमा प्रहरी टोलि परिचालित भएको प्रहरी अधिकारीले बताए।



अनुशन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुशन्धानवाट पक्राउ अभियुक्तहरु बालाजु तथा नयाँबजार एरियामा हतियार देखाई लुटपाटमा सक्रिय समुहका सदस्य रहेको खुलेको छ। मगरले बयानमा आफ वाइसियलको सदस्य रहेको समेत स्विकार गर्दै २० हजारमा हतियार बिक्री गर्न बालाजुमा आएको स्विकार गरेका छन्। मगरले रक्तिम नाम गरेका ब्यक्तिले आफुलाई हतियार वेच्न पठाएको बयान दिएको अनुशन्धान संलग्न प्रहरी अधिकारीले बताए।



प्रहरीले एक सातामा उपत्यकावाट हतियार बरामद गरेको यो तेस्रो घटना हो। जेठ २ गते नागढुङ्गामा २ थान कटुवा पेस्तोल, एक राउन्ड गोली सहित चार जना पक्राउ परेका थिए। त्यसको दोस्रो दिन मनमैजुवाट अमेरिकामा बनेको पेस्तोल र तीन राउन्ड गोली सहित तीन जना पक्राउ परेका थिए।

source:nagarik