काठमाडौं, जेष्ठ ८ - एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको विषयमा प्रधानमन्त्री माधवकुमार
नेपालले दिएको अभिव्यक्तिबारे उनीसँग सोधपुछ गरेका छन् । शनिबार राजधानीको गोर्कण रिसोर्टमा बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकमा अध्यक्ष खनालले प्रधानमन्त्री नेपालको संविधानसभाको विषयमा धारणा बुझेको एक नेताले कान्तिपुरसँग बताए । तर अध्यक्ष खनाललाई प्रधानमन्त्री नेपालले दिएको जवाफ सम्बन्धमा भने ति नेताले बताउन चाहेन ।
शुक्रबार प्रधानमन्त्री नेपालले संविधानसभा आफूले नचाहेको धारणा व्यक्त गरेका थिए । उनले माओवादीको चित बुझाउन मात्रै आफूले संविधानसभाको चुनाव स्वीकारेको खुलासा गरेका थिए ।
प्रधानमन्त्री नेपालको अभिव्यक्तिको बैठकमा नेताहरुले चर्को आलोचना गरेका थिए ।
बैठकमा वर्तमान राजनीतिक गतिरोधको अन्त्य र संविधान सभाको म्याद थप विषयमासमेत छलफल भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । साथै संविधानसभाको म्याद थपका लागि माओवादीसँग आग्रह गर्ने निर्णय बैठकले गरेको छ । उनले संविधानसभा म्याद थप र सरकारको राजिनामा अलग-अलग विषय भएको बैठकले ठहर गरेको बताए । माओवादीले उठाउँदै आएको सरकारको राजिनामा असान्दर्भिक भएको उनले दाबी गरे ।
बैठकमा एमाले अध्यक्ष खनाल, नेता केपी ओली प्रधानमन्त्री एवं वरिष्ठ नेता नेपाल, महासचिव पोखरेल, गृहमन्त्री भीम रावल लगायतका नेताहरु सहभागी रहेका थिए । तर उपाध्यक्ष बामदेव गौतम भने अनुउपस्थित रहेको जनाइएको छ ।
source:kantipur