इनरुवा, जेष्ठ ४ - डुम्राहा ७ का मो. अजिमले आफ्नी छोरी सबिलाको बिहेमा सकेजति सामान दिए तर कसैको पनि चित्त बुझेन ।
जतिसुकै महँगो र बढी सामान दिए पनि एउटा सर्प नदिँदा दुवै परिवारमात्र होइन उनको समुदायले नै अजिमले छोरीलाई केही नदिएजस्तो लाग्यो ।
बिहे भएको तीन महिनापछि उनले ज्वाइँलाई दाइजोस्वरूप आफूसित रहेको चारवटामध्ये एउटा सर्प दिए । गाउँकै अफार मोहम्मदलाइ छोरी दिएका अजिमले भने, 'अब चित्त बुझेको छ, छोरी खुसीसाथ ज्वाइँसित छे ।' हो पनि, उनका ज्वाइँ अफार अहिले सर्प देखाएर परिवार पाल्दै आएका छन् ।
उनीमात्र होइन, मुस्लिम समुदायअन्तर्गत नट र बन्जारा समुदायले छोरीको बिहेमा अरू कुरा जति दिए पनि दाइजोमा सर्प दिनु अनिवार्य छ । सर्प देखाएरै गुजारा गर्ने यी समुदायकाले छोरीको बिहे गर्दा अन्य सामान जति दिए पनि नपुग्ने तर एउटा सर्प दिए पुग्ने सोचका साथ दाइजोमा सर्प दिने प्रचलन रही आएको स्थानीय मोहम्मद अजिमको भनाइ छ ।
डुम्राहामा रहेका ३० परिवार नट पनि अचेल छोरीको बिहे गर्दा अन्य सामानभन्दा सर्पलाई प्रमुख ठान्छन् भने केटा पक्षकाले पनि अरू जे जति दिए पनि सर्प नदिई नहुने मानसिकता बोकेकाले दाइजोमा सर्प अनिवार्य भइसकेको डुम्राहाकै मोहम्मद नकिरले जानकारी दिए ।
'सर्प नभए गुजारै चल्दैन,' विगत २० वर्षयता सर्प देखाएर गुजारा गर्दै आएका अजिमले भने, 'ज्वाइँलाई सर्प दिएमात्र कमाएर छोरीलाई पाल्ने भएकाले सर्प दिने गरिएको हो ।'
दाइजोमा सर्प अनिवार्य भएपछि सर्प ल्याउन पनि उनीहरूलाई समस्या हुने गरेको इसराइलले सुनाए । डुम्राहास्थित सपेरा बस्तीका सबैका घरमा अहिले दुईदेखि तीनवटासम्म सर्प छन् । घरका सबै पुरुष बिहानैदेखि गाउँ-गाउँ चहारेर सर्प देखाइ साँझपखसम्म पाँच सयदेखि हजार रुपैयाँ र केही किलो चामल कमाएर आउने गरेका छन् ।
छोरीको बिहेमा सर्प दिनुपर्दा रोजगारी नै समाप्त हुने भयले बेलाबखत उनीहरू गाउँहरूको खेतमा घुम्दै सर्प पक्रिन पनि जाने गरेको अजिमले बताए । 'मैलै अहिलेसम्म १५ देखि २० वटासम्म सर्प पक्रेर ल्याएको छु,' उनले भने, 'एउटा छोरीलाई दिएँ, अरू सर्प नभएका आफन्तलाई दिएँ, मसँग तीनवटा मात्र बाँकी छन् ।'
आफूहरूसित रहेको सर्पगन्ध नामक जडी सुँघाउनेबित्तिकै सर्पले नटोक्ने गरेको र पछि विषालु दाँत निकालेपछि देखाउनका लागि त्यो सर्पलाई लग्ने गरेको सपेरा इसराइलले सुनाए ।
source:kantipur