वाईसीएल क्याम्पमा लगेर तीन अखिल कार्यकर्तालाई कुटपिट :

काठमाडौं, जेष्ठ ४ - अनेरास्ववियुका तीन सदस्यलाई मंगलबार गुणराज खनालको नेतृत्वमा आएको वाइसिएलको एक समूहले हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका छन् ।

पशुपति क्याम्पसका अनेरास्ववियु सदस्य संजय दवाडी, पब्लिक युथ क्याम्पसका अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष राजन रोकाया र सहसचिव सज्जन सिलवाललाई रड र खुकुरी प्रयोग गरी निर्घात कुटपीट गरेको घाइते दवाडीले बताए ।
वाईसीएलका खनालले 'काम छ तुरुन्त आउनुस्' भनेर बोलाई नयाँ बसपार्कमा रहेको वाईसीएल क्याम्पमा लगेर आँखामा पट्टी बाँधी निर्धात कुटपिट गरेको घाइते दवाडीले बताए । घाइते तीनै जनाको अहिले काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहको छ । तीनै जनाको शरीरभरि नील डाम छ ।
'क्याम्पसमा अनेरास्ववियुको राजनीति गर्ने, नेकपा (एमाले)को झण्डा बोक्दै हिड्ने, माओवादी चिनेका छैनौ अब चिन्छौ' भन्दै  कुटेको घाइते रोकायाले बताए । खनालको नेतृत्वमा आएको ३० जना वाईसीएलको समूहले दवाडीको साथमा भएको दुई हजार ५ सय रुपैयाँ र आफ्नो  मोवाईल समेत लुटेको अर्का घाइते सिलवालले जानकारी दिए ।
घटनाको अनेरास्ववियुका महासचिव माधव ढुङ्गेलले घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कारर्वाही गरी वाईसीएल क्याम्प तुरुन्त हटाउनुपर्ने माग गरेका छन् ।

source:kantipur