काठमाडौं, वैशाख २२ (नागरिक)- माओवादी नेता नारायणकाजी श्रेष्ठले आजको तीन दल बैठकमा पनि निष्कर्ष ननिस्केको बताएका छन्।
उनले माओवादीले वार्ता र आन्दोलन जारी नै राख्ने नीति लिएको पनि सञ्चारकर्मीलाई जानकारी दिए।
यसैगरी कङ्ग्रेस नेता तथा पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले सहमति र सहकार्यको विकल्प नभएको बताउँदै समस्याको प्याकेजमा समाधान खोजिनुपर्नेमा जोड दिए। उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन माओवादीलाई आग्रह गर्दै वार्ताको विकल्प नै नभएको दाबी पनि गरे।
सञ्चारकर्मीको पहलमा भएको तीन दलीय बैठकपछि उनले भने- हामी सहमतिबाटै निकास निकाल्नुपर्छ भन्नेमा तीनै दल सहमत छौं।
यसैगरी एमाले नेता प्रदीप ज्ञवालीले तीनै पार्टीको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भन्दै अहिले जनताले भोग्नुपरेका समस्या छिटै अन्त्य गर्नुपर्छ भन्नेमा सबै सहमत भएको बताए। अनि उनले थपे- हामी मुलुकलाई दुर्घटनामा पर्न दिने छैनौं। हामीले सगरमाथाभन्दा ठूला शिखरहरु पनि पार गरिसक्यौं भन्दै उनले अबका शिखरहरु त नागार्जुनभन्दा पनि होचा भएका बताए। र, समस्या समाधान खासै ठूलो विषय नभएको उनको भनाइ थियो।
उनले आजै साँझदेखि दुईपक्षीय, त्रिपक्षीय बैठकहरु हुने र तिनले सकारात्मक निष्कर्ष निकाल्ने आशा पनि व्यक्त गरे।
source:nagarik