पोखरा, जेष्ठ १० - उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै
होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।'
जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९ वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो ।
'जुम्ल्याहा दिदीबहिनी नै बिहे गर्ने सोच थियो,' राम-लक्ष्मणले भने, 'आज पूरा भयो ।' आफन्तको सहयोगमा उनीहरूबीच मागी बिहे भएको हो । जुम्ल्याहाको सकभर एकैदिन र उस्तैसँग बिहे गर्नुपर्ने बूढापाकाको भनाइले चिन्तित बनाइरहेका बेला जुम्ल्याहा दाजुभाइ भेट्टाएर बहिनीहरूको विवाह गरिदिएपछि खुसी भएको बेहुलीका दाजु पुष्पराज पौडेलले बताए । 'हामीलाई ज्वाइँ चिन्न र घर तर्फकालाई बुहारी चिन्न मुस्किल छ,' पौडेलले भने ।
पुष्पका अनुसार एक मिनेटको फरकमा जन्मिएका गंगा-जमुना दुवै एकैसाथ बिरामी पर्थे । उनीहरूको बोलीचाली, हिँडाइ, लवाइखवाइ, बानीबेहोरा एउटै छ । संयोगले एसएलसीमा पनि समान अंक ल्याएका छन् । दिदीबहिनी अहिले पोखरामै स्टाफ नर्स छन् । एउटै घरका दाजुभाइसँग बिहे गर्न पाएकोमा निकै रमाइलो अनुभूति भएको बेहुली गंगा-जमुनाले बताए । उनीहरूले घरिघरि 'आफ्नोलाई' नचिनेर झुक्किए पनि सञ्चारकर्मीलाई भने त्यसै झुक्याएको भन्दै ठट्टा गरे ।
१५ मिनेटको फरकमा जन्मिएका बेहुलाद्वय राम-लक्ष्मणको सबै बानीबेहोरा पनि उस्तै छ । पेसा भने फरक । राम पोखरा इन्जिनियरिङ कलेज पढाउँछन्, लक्ष्मण स्थानीय एक फाइनान्समा काम गर्छन् । दाजु ऋषिराम बरालका अनुसार पढाइदेखि अन्य कुनै पनि काममा उनीहरू छुुट्टँिदैनथे ।
बेहुला-बेहुलीले एक-अर्कालाई चिन्न नसकेपछि बेहुलीलाई फरकफरक घुम्टो लगाइदिनुपर्यो । लक्ष्मणको दाहिने र जमुनाको देब्रे गालामा सानो कोठी भए पनि नियालेर हेर्नुपर्ने भएकाले उनीहरूलाई असहज भएको थियो । बेहुला र बेहुलीका लागि गरगहना र कपडा एउटै थियो । झन्डै ६ दशक पण्डित भएका ७५ वर्षे कृष्णप्रसाद आचार्यले पहिलोपटक यस्तो विवाह गरेको बताए । 'सुनेकोमात्र थिएँ,' उनले भने, 'आफैंले देखें ।' उनले धार्मिक हिसाबले पनि यस्तो विवाह राम्रो हुने बताए ।
source:kantipur