नागार्जुनमा बत्ती र पानी नभएर दुःख पाएँ :

नेपालगन्ज पुगेर पूर्वराजा ज्ञानेन्द्रको गुनासो :
बागेश्वरीको दर्शन गर्न र समर्थकहरूलाई दर्शन दिन आइतबार नेपालगन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्रले सरकारले आफूलाई न्यूनतम सुविधा पनि नदिएको गुनासो गरेका छन् । स्थानीय स्नेहा होटलमा जम्मा भएका समर्थकहरूबीच ज्ञानेन्द्रले नागार्जुन दरबारमा बत्ती-पानीको समस्या भएको बताएका थिए ।
'म बस्ने ठाउँ (नागार्जुन दरबार) मा त बत्ती र पानीसमेत छैन,' ज्ञानेन्द्रले समर्थकहरूबीच भनेका थिए । उनका समर्थकहरूले भने सरकार र राजनीतिक दलले जनतालाई पनि उपेक्षा गरेको भन्दै राजालाई सक्रिय हुन आह्वान गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रलाई उनका समर्थकहरूले राजतन्त्र ब्युँताउन सल्लाह दिएका छन् । उनीहरूले जेठ १४ सम्म संविधान नबन्ने पक्का भएकाले राजतन्त्र ब्युँताउने पृष्ठभूमि तयार भएको ठोकुवासमेत गरेका थिए । 'जेठ १५ देखि सरकारले शासन हातमा लिनुपर्‍यो,' उनीहरूको सल्लाह थियो ।
पूर्वराजा ज्ञानेन्द्रले पनि पुरानै शैलीमा 'जनताका गुनासा' सुने । हुन्छ, बुझेँ भन्नेजस्ता शब्दबाहेक कुनै प्रतिक्रिया जनाएनन् । समर्थकहरूले भ्रमणभरि 'राजा आऊ देश बचाऊ'को नारा लगाउँदै उनलाई हौस्याएका थिए ।
'संविधानसभाले केही गर्न सकेन । देशमा हत्या, हिंसा बढेको छ । शान्ति छैन । भ्रष्टाचार बढेको छ । जनताले शान्तिको अनुभूति गर्न पाएका छैनन्,' ज्ञानेन्द्रलाई भेट्न पुगेका समर्थकहरू भन्दै थिए, 'सरकार ! हामीलाई कुनै पनि राजनीतिक दल चाहिएको छैन । हामीलाई राजसंस्था चाहिएको छ । ब्युँताइबक्सियोस् ।'
होटलमा लहरै उभिएका एक हजारभन्दा बढी समर्थकको गुनासो सुनेपछि उनले मुख खोले । 'नेताहरूले संविधान बनाउँदै छन् । घरजग्गा फिर्ताका लागि काम गरिरहेको सुनेको छु,' उनले भने । उनी राजनीतिक विषयमा थप केही बोलेनन् ।
ज्ञानेन्द्र त्रिभुवनचोकबाट हरियो कार्पेटमा हिँडेर साढे ११ बजे मन्दिर पुगेका थिए । मन्दिरको मुख्य भागमा पुगेपछि उनलाई सीधै गुठी व्यवस्थापन कार्यालयमा लगिएको थियो । त्यहाँ उनी प्लास्टिकको कुर्सीमा बसेर केहीबेर मन्दिरका मठाधीशसँग कुराकानी गरे । 'सन्चै हुनुहुन्छ गुरुजी ? भनेर हालखबर सोध्नुभयो,' योगीले भने, 'मैले पनि देशमा अशान्ति व्याप्त छ, शान्तिका लागि हजुरले बागेश्वरी मातालाई खुसी पार्नुपर्‍यो भने ।'
ज्ञानेन्द्रले गणेश, हनुमान, भैरव, बुद्धबिहार, जुंगेमहादेवको पूजा गरेका थिए । आफ्नो प्रत्यक्ष शासनकालमा ज्ञानेन्द्र मध्यपश्चिम गएका वेला बागेश्वरी मन्दिर दर्शन नगरी कोहलपुरबाट राजधानी फर्किएका थिए । त्यसो गर्नु गल्ती थियो भनेर योगीले उनलाई सम्झाएका थिए ।
मन्दिरपरिसरमा प्रफुल्ल मुद्रामा रहेका ज्ञानेन्द्रले पत्रकारहरूबीच भने, 'म बागेश्वरी मन्दिरको दर्शन गर्न र जनताको दुःखकष्ट के छ भनेर बुझ्न आएको हुँ ।'
तर उनले राजनीतिक प्रतिक्रिया दिन मानेनन् । देशको अवस्था देखेर कस्तो महसुस गरिरहनुभएको छ भन्ने जिज्ञासा उनले पत्रकारतर्फ फर्काइदिए । 'तपाईं पनि माइक बोकेर मेरो अघिपछि हिँडिरहनुभएको छ, तपाईंले कस्तो महसुस गरिरहनुभएको छ, त्यो भन्नोस् पहिला,' उनको टिप्पणी थियो । पूर्वराजाको टिप्पणी सुनेर सबै पत्रकार गलल्ल हाँसे, समर्थकले ताली पिटे । तर, ज्ञानेन्द्र आफैं भने मुस्कानसमेत नदिई नमस्कार गरेर बिदा भए ।
पूजाआजाका लागि भनिए पनि पूर्वराजाको यो भ्रमण राजनीतिक उद्देश्यले गरिएको उनका समर्थकहरूको भनाइ छ । निर्धारित समयमा संविधान नबन्ने पक्का भएको र देशमा अनिश्चय बढेका वेला उनले आफ्नो पक्षमा माहोल बनाउन चाहेको स्रोतले बतायो । उनले पूजाआजाकै बहानामा देश भ्रमणको सिलसिलालाई जारी राख्ने भएका छन् । यसअघि उनी जनकपुर गएका थिए । अर्को महिना पोखराको विन्ध्यवासिनी मन्दिर जाने स्रोतले बतायो ।
पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्ज आगमनलाई राजावादी र हिन्दूवादी संगठनहरूले शक्ति प्रदर्शनका रूपमा उपयोग गरेका छन् । दरबारबाट बहिर्गमनपछि पहिलोपटक नेपालगन्ज पुगेका ज्ञानेन्द्रको स्वागतमा राजावादी, हिन्दूवादीले पूरै दिन खर्चिए ।
बिहान १० बजेतिर राँझा विमानस्थलमा ओर्लिएका ज्ञानेन्द्र मुसुक्क हाँसेर विमानस्थलको विशिष्ट कक्षबाट बाहिर आएका उनलाई स्वागत गर्न विमानस्थलभित्रै समर्थकहरू पसेका थिए ।
समर्थकले 'राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ'जस्ता नारा लगाउँदै ज्ञानेन्द्रलाई अबिर, फूलमाला लगाइदिए । हरियो रंगको कालो सिसा भएको गाडीमा बसेका ज्ञानेन्द्र समर्थकलाई अभिवादन गर्न विमानस्थलको गेटबाहिर फेरि ओर्लिएका थिए ।
गाडीबाट ओर्लिएपछि फेरि उनी हिँड्न थाले । कतिले उनको गोडा पनि ढोगे । केहीबेरपछि ठूलो तामझामका साथ ज्ञानेन्द्र नेपालगन्ज हान्निए । ठाउँ-ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति थियो । ट्राफिकलाई चोक-चोकमा राखिएको थियो । सुरक्षाका लागि वरिष्ठ प्रहरी उपरीक्षक जयबहादुर चन्दलगायतको टोली साथमा थियो ।
त्रिभुवनचोकमा आइपुगेपछि ज्ञानेन्द्र गाडीबाट ओर्लिए । उनको सम्मानमा त्रिभुवनचोकमा गेटहरू बनाइएका थिए । उनलाई हेर्न घरका छतमा मानिसको भीड लागेको देखिन्थ्यो । गर्मीका कारण ज्ञानेन्द्रको शरीर पसिनाले पूरै भिजेको थियो । सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न निकै गाह्रो भयो ।
ठीक ११:३० मा ज्ञानेन्द्र बागेश्वरी मन्दिर प्रवेश गरे । त्यहाँ पुग्दा उनको भव्य स्वागत भयो । पूजापाठ गरेपछि उनी गाडी चढेर स्नेहा होटलमा पुगे । त्यहाँ उनले आफ्ना समर्थकलाई एक-एक गरी भेटे ।
ज्ञानेन्द्र साढे १२ देखि साढे ५ बजेसम्म स्नेहा होटलमा बसेपछि काठमाडौं र्फकन विमानस्थल पनि पुगेका थिए । तर, काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज बीचबाटै फर्किएपछि ज्ञानेन्द्रले आइतबारको रात नेपालगन्जमै बिताएका छन् !

source:nayapatrika