काठमाडौं, वैशाख २४ - आमहड्तालको विरोध तथा प्रतिकार भइरहेका बेला माओवादी स्थायी समितिको बैठक बसिरहेको छ । हड्ताल फिर्ता लिने
हल्ला चलिरहेका बेला बसेको बैठकलाई चासोका रुपमा हेरिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजारमा जारी बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्ने अनुमान गरिएको छ । चार दिन शान्तिपूर्ण रहेको माओवादी हड्तालमा देशभरबाट विरोध र प्रतिकार मात्र भएनन्, लमजुङ, सुनसरीलगायतका ठाउँमा बजारसमेत खुलाउन थालेपछि माओवादीले दबाब महसुस गरेको छ ।
शुक्रबार बिहान राजधानीमा निस्किएको हजारौंको शान्ति र्यालीले पनि माओवादीलाई हड्ताललाई 'च्यालेन्ज' गरेको छ । माओवादीले 'भिजिलान्तेको' प्रयोग भएको भने पनि चेतावनीका बाबजुद निस्किएको र्यालीलाई भने माओवादीले पनि कम आंकलन नगरेको हुन सक्छ ।
काठमाडौंमा ल्याएका कार्यकर्ताको बसाइ कठीन हुँदै जानु, उद्योगी-व्यवसायी तथा पेशाकर्मीको विरोध, सर्वसाधारणको जीवनयापनमा असहज हुनु र यूरोपेली युनियत, अमेरिकालगायतका मुलुकले मिल्नका लागि दिएको दबाबका कारण पनि माओवादीले आन्दोलन फिर्ता लिने वा स्वरुप परिर्तन गर्नुपर्ने बाध्यता छ ।
शान्तिपूर्ण हड्ताल हिंसात्मक बन्दै जानु, सहमतिबाट मात्रै सरकार परिवर्तन हुने सत्तासाझेदार दलको अडानले पनि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बाध्यतामा माओवादी छ ।
आफ्नो जारी आमहड्ताललाई फिर्ता लिने वा आन्दोलनको स्वरुप परिवर्तन गर्ने संकेत उपाध्यक्ष बाबुराम भट्टराईले व्यक्त गरेका छन् । '६-६ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि यो 'कुम्भकर्ण' सरकारले सुनेन,' कलंकीमा आयोजना गरिएको जनसभामा उनले भनेका थिए, 'तपाईंहरुले हामीलाई सुझाव दिनुहोस् हामी यसलाई परिवर्तन गरेर जस्तोसुकै आन्दोलन ल्याउन पनि तयार छौं ।'
source:kantipur