वैशाख १९ - हिन्दू राज्यको माग गर्दै आएको वीरगंजस्थित हिन्दू युवा संघले आइतबार वीरगंजमा माओवादीले आह्वान गरेको आमहडतालको प्रतिकार गरे पछि आइतबार बिहान वीरगंज तनावग्रस्त भयो ।
शनिबार यहास्थित घण्टाघरमा माओवादीले आयोजना गरेको आफ्नो जनसभामा वक्ताहरुले हिन्दूवादीहरुलाई हिम्मत छ भने आफ्नो अगाडी आउन चुनौती दिएपछि हिन्दू युवा संघका कार्यकर्ताहरु आक्रोसित भई बिहानै देखि माओवादीको आमहडतालको प्रतिकारमा ओर्लिएका हुन् ।
घडिअर्वा क्षेत्रबाट करीब तीन चार सयको संख्यामा संघका कार्यकर्ताहरु संगठित भई झण्डा, लाठी, तरबार जस्ता घरेलु हतियार सहित माओवादी बिरुद्ध चर्का नारा लगाउदै बजार परिक्रमा गरेका थिए । उनीहरुले घण्टाघर,कैलाश होटल क्षेत्रका केही पसल समेत खुलाएका थिए ।
संघको जुलुश नगर परिक्रमा पछि घण्टाघरमा आइपुग्दा त्यहा माओवादीका कार्यकर्तासंग झडपको स्थिति श्रृजना भएको थियो । सुरुमा त्यहा करीब पाच दर्जनको संख्यामा माओवादी कार्यकर्ता रहेकोमा नगरको बिभिन्न क्षेत्रमा छरिएका माओवादी कार्यकर्ता केही बेरमै एकत्रित भए पछि उनीहरुको संख्या पनि करीब तीन चार सय पुगेको थियो ।
दुबै तर्फबाट ठूलो संख्यामा भिड एकत्रित भएर झडपको रुप लिने निश्चित भएपछि तत्कालै त्यहा पुगेका सुरक्षाकर्मीले हस्तक्षेप गरेर दुबै पक्षलाई भिडन्तबाट रोकेको थियो । प्रहरीको प्रयास पछि वीरगंजमा ठूलो दुर्घटना हुनबाट टरेको थियो ।
आमहडतालको पहिलो दिननै माओवादीको प्रतिकार भएपछि सम्भावित तनाव र झडपको भयले वीरगंजबासीमा चिन्ता छाएको छ ।
source:kantipur