आन्दोलनबाट फर्कंदा मृत्यु :

वैशाख २१ - माओवादी आन्दोलनमा सहभागी भएर घर फर्कंदा मंगलबार बेलुका
तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । तुलसीपुरमा भएको प्रदर्शनमा दिनभर सहभागी भएर बेलुका घर फर्कने क्रममा बाटोमा एक्कासी बोहोश भएर हलवार गाविस-१ सुन्दरवस्तीका ६३ वर्षिय रुद्रबहादुर केसीको मृत्यु भएको हो ।
घोराही-तुलसीपुर सडक खण्डको कालाखोला नजिक उनी बेहोश भएर लडेका थिए । बेहोश केसीलाई तुलसीपुर अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । माओवादीले सबै घरबाट एकएकजना प्रदर्शनका लागि जानुपर्छ भनेपछि उनी पनि आन्दोलनमा सहभागी भएको गाउँलेहरुले बताएका छन् ।
केसी दिनभर घाममा जुलुशमा हिडेको र त्यसकै कारण बेलुकापख बेहोश भएर लडेको उनीसँगै आन्दोलनमा सहभागीहरुले बताएका छन् । स्थानीय रमेश रेग्मीका अनुसार प्रदर्शन सकेर साँझ घर फर्किने क्रममा तुलसीपुर बजारदेखि तीन किलोमिटर पूर्व सडकमा उनी एकाएक बेहोस भएर लडेका थिए ।
माओवादीले पनि केसी आन्दोलनमा सहभागी भएको स्विकार गरेको छ । 'दिनभर हामी आन्दोलनमा संगै थियौं, बेलुकापख उहाँहरु घरतिर लाग्नुभयो । हामी हाम्रो कामतिर लाग्यौं,' माओवादी तुलसीपुर नगर इञ्चार्ज बल बहादुर वली 'शितल' भने,'घर जाँदा उहाँलाई बाटोमा ह्रदयघात भएछ । अस्पताल नपुर्‍याउँदै ज्यान गैसकेको रहेछ ।'
यस घटनाबाट पार्टी दुखित भएको उनले बताए । पार्टीले उनको परिवारलाई सक्दो सहयोग गर्ने जानकारी पनि शितलले दिए । 'पार्टीले उहाँको योगदानलाई कदर गर्दै उचित सहयोग गर्छ,' उनले भने,'पार्टीमा एकपटक छलफल गरेर उहाँको बारेमा के गर्नुपर्छ निर्णय गर्छौं ।'

source:kantipur