आन्दोलन विरुद्व स्थानीय बासिन्दा प्रतिकारमा उत्रिए :

काठमाडौँ, वैशाख २१ - अनिश्चितकालीन आमहडतालको तेस्रो दिन आज एकीकृत नेकपा (माओवादी)का कार्यकर्ता र स्थानीय बासिन्दाबीच ठाउँ-ठाउँमा झडप भएको छ।

राजधानीको सतुङ्गल र नैकाप क्षेत्रमा बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दा र एनेकपा(माओवादी)का कार्यकर्ताबीच झडप भयो।
नैकापमा एक स्थानीय बासिन्दाले मोटरसाइकल चलाएको भन्दै ५/७ जना माओवादी कार्यकर्ताले मोटरसाइकल तोडफोड गर्न थालेपछि सोको विरुद्व स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताबीच झडप भएको हो।
बजार बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाका कारण तनावपूर्ण अवस्थामा पुगेको सो झडपमा मध्यस्थकर्ताका रूपमा सुरक्षाकर्मीले अपनाएको संयम, धैर्य र कार्यकुशलताका कारण कुनै पनि क्षति नभएको जनाइएको छ। नैकापको स्थिति अहिले सामान्य रहेको छ।
आफूहरूले मागेजति चन्दा दिइरहँदा पनि बलजफ्ती पसल बन्द गराउन दबाब दिएको भन्दै स्थानीय बासिन्दाले एकीकृत माओवादीका तीन कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। उनीहरूले माओवादीका लागि खानेपानी ओसार्ने ट्याङ्कर चल्न नदिने चेतावनी पनि दिएका छन्।
अहिले त्यसक्षेत्रमा चन्दा, बन्दलगायत माओवादी ज्यादतीको विरूद्ध स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरिरहेका छन्।
यसैबीच, आज बिहान अनामनगरमा बन्दका दिन पनि पसल खोलेको भन्दै माओवादी कार्यकर्ताले करिब दुई दजर्नभन्दा बढी होटल तथा किराना पसलमा तोडफोड गर्दा करिब रु. दुईलाख क्षति भएको स्थानीय बासिन्दाले गुनासो गरे।
यसैगरी मैतीदेवीको तरकारी पसल पनि माओवादी कार्यकताले तोडफोड गरे।
माओवादी कार्यकर्ताले चुच्चेपाटीस्थित नेसनल टेलिभिजनका एक कर्मचारीलाई कार्यालय नजिकै रगताम्य हुनेगरी कुटपिट गरेका छन्। - रासस

source:nagarik