राजधानी छिर्ने नाकाहरुमा उपकरण मार्फत विष्फोटक पदार्थ चेकजाँच गर्ने तयारी :

काठमाडौ, जेष्ठ ३० - गृहमन्त्री भीम रावलले राजधानी छिर्ने नाकाहरुमा अत्याधुनिक उपकरणमार्फत
विष्फोटक पदार्थको चेकजाँच गर्ने तयारी भइरहेको बताएका छन् ।
राजधानीमा ठूलो मात्रामा विष्फोटक पदार्थ वरामद भएको बेला उनले त्यस्ता उपकरणहरुमार्फत चेकजाँच गर्नेबार छलफल भइरहेको बताएका हुन् ।
'राजधानी प्रवेश गर्ने नाकाहरुमा अत्याधुनिक उपकरणमार्फत चेकजाँच थाल्नेबारे छलफल भइरहेको छ', प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'त्यसको प्रभावकारितबारे छलफल भइरहेको छ । त्यो मेटल डिटेक्टर पनि हुनसक्छ ।' उनले साइबर अपराध नियन्त्रण गर्नेबारे पनि तयारी भइरहेको बताए ।
उनले नाम नसुनेका र अस्तित्वमा नभएका संगठनहरुले भ्रम छरेर राजनीतिक तरलताको फाइदा उठाउदै भय र आतंक श्रृजना गर्न खोजेपनि त्यसलाई सुरक्षाकर्मीले विफल पारेको बताए । उनले त्यस्ता संगठित समूहलाई कारवाही गर्न प्रहरी सक्षम रहेको पनि बताए ।

source:kantipur