शृंखलाबद्ध विस्फोट तयारीको खुलासा :

काठमाडौ, जेष्ठ ३० - वसुन्धरामा कारभित्र बम विस्फोट गराएको समूहले महाराजगन्जको भाटभटेनी सुपरमार्केट, युनाइटेड वल्र्ड टे्रड र
सांगि्रला होटललगायतमा विस्फोट गर्ने तयारी गरेको खुलासा भएको छ 
वसुन्धरामा बा७च ५५३९ नम्बरको कारका चालक दीपक विश्वकर्मासहितलाई विस्फोटमा पारेर सनसनी फैलाउने योजनाबारे घटनापछि पक्राउ परेका २२ वर्षे विष्णु शाहबाट खुलासा भएको प्रहरीले जनाएको छ ।
'त्यो योजना सफल भएको भए दोस्रो चरणमा डिपार्टमेन्टल स्टोर र अन्डरग्राउन्ड पार्किङ भएको स्थानमा विस्फोट गराउने तयारी रहेछ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'चालक गाडीमै भएका बेला विस्फोट भएको भए प्रमाण नभेटिने र पछि लुकेर धम्क्याउँदै पैसा असुल्ने योजना बनाएका थिए ।'
योजनाअनुसार त्यसपछि भाटभटेनी सुपर मार्केट, युनाइटेड वल्र्ड टे्रड सेन्टर र सांगि्रला होटलमा विस्फोट गराउने तयारी थियो । 'ठूलो दुर्घटना हुनबाट जोगियो,' महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी दीपक थापाले भने, 'अत्यधिक मात्रामा रहेका ती विस्फोटक पदार्थले ठूलो धनजनको क्षति हुन्थ्यो ।'
अनुसन्धानमा संलग्न अर्का अधिकृतले भने पछाडि बसेको ठूलो समूहको खोजी भइरहेको जानकारी दिए । उक्त समूहले एक ठाउँमा बम विस्फोट गराएबापत लाख रुपैयाँका दरले ५ ठाउँमा बम विस्फोट गराउने जिम्मेवारी सानो समूहलाई दिएको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी रणबहादुर चन्दले बताए । उनले भने, 'एउटा समूहले प्रयोग गरेको देखिएको छ, हामी अनुसन्धान गरिरहेका छौं, छिट्टै पक्राउ गर्नेछौं ।' 
राति अबेरसम्म पनि प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो । कारमा बम विस्फोट गराउँदा चालकलाई केही नभएपछि विष्णु शाह भागेर भकुन्डेबेसी पुगेका थिए । उनलाई भोलिपल्टै प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।
'कस्तो हुन्छ भन्ने कौतुहल मेटाउन बम विस्फोट गराएको' बताउँदै आएका उनले शुक्रबार दिउँसो मात्र आफू बस्ने घरमा बम राखेको बयान दिएका थिए । त्यसपछि प्रहरीले वसुन्धरास्थित पशुपतिनाथ श्रेष्ठको घरबाट ठूलो मात्रामा विस्फोटक बरामद गरेको थियो ।
सामान्य पढालेखा उनीसँग मोटरसाइकल र कारको लाइसेन्स छ । उनका आमा र भाइ छन् भने बावुको ५ वर्षअघि मृत्यु भएको थियो ।
उनले सात वर्षअघि काठमाडौं आउनुभन्दा पहिले नै बम बनाउन सिकेको बयान दिएका छन् । 'द्वन्द्वकालका गाउँमै साथीहरूबाट बम बनाउन सिकेको बयान दिएका छन्,' अनुसन्धानमा संलग्न अधिकृतले भने, 'अर्काको घरमा भात पकाएर बस्नेसँग आपै+m सामान खरिद गर्न पैसा हुँदैन, अन्यले सामान ल्याइदिएपछि उसले बनाउने गरेको देखिएको छ ।' 
घरधनी पशुपतिनाथ श्रेष्ठकी श्रीमती डाक्टर रीता श्रेष्ठले शाहले बम राखेको कोठा भण्डार कक्ष भएको बताइन् । 'त्यहाँ राखेको तोरी उसलै ल्याउनेलाने गर्दथ्यो, हामी वास्ता गर्दैनथ्यौं,' उनले भनिन्, 'नक्कली ताला बनाएको रहेछ, हामी नभएका बेला वा हाम्रो आँखा छलेर यो काम गरेको रहेछ ।'
सात वर्षदेखि आफूलाई साँझ-बिहान भात पकाएर ख्वाउँदै आएको बताउँदै डाक्टर श्रेष्ठले पहिलो पटक ऊ संलग्न भएको घटना सुन्दा अचम्म लागेको बताइन् । 'सामान्य पढलेख गरेको केटो हो, यतिसम्म गलत काम गर्ला भन्ने कल्पना पनि थिएन,' उनले भनिन् । 
टीभीमा फिल्म हेरेका बेला बम ब्लास्टलगायतका घटनामा भने शाहले ध्यान दिने गरेको उनको भनाइ छ । 'कहिलेकाहीं नेपालमा यसरी बम हान्दा के सजाय हुन्छ भनेर सोध्ने गर्दथ्यो,' उनले भनिन्, 'बम हान्दा/बनाउँदा के हुन्छ भन्नेसम्म ज्ञान छैन, कसैले प्रयोग गरेको हुनसक्छ ।'
के-के भेटिए स्टोरमा ?
बयान क्रममा शाहले शुक्रबार दिउँसो साढे १ बजेतिर वसुन्धरास्थित पशुपतिनाथ श्रेष्ठको घरको दोस्रो तलामा आफूले बनाएर राखेका बम र अन्य विस्फोटक पदार्थ रहेको बयान दिएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले उनलाई काठमाडौंकै एक होटलमा राखेर सोधपुछ गरिरहेको थियो । उनको बयानका आधारमा प्रहरीले त्यहाँ छापा मार्ने तयारी गरेको थियो । अपराध महाशाखाका एसएसपी रणबहादुर चन्दले श्रेष्ठको घरमा फोन गरेर त्यहाँ विस्फोटक पदार्थ हुन सक्ने जानकारी गराएका थिए ।
तर भुइँतलामा डिपार्टमेन्ट स्टोर भएकाले भीडभाड बढी हुने भएका कारण तत्काल केही नगर्न उनीहरूले प्रहरीलाई आग्रह गरेका थिए । त्यसपछि प्रहरीले राति साढे ९ बजे छापा मरेको थियो । त्यहाँबाट प्रहरीले १९ वटा सानाठूला कार्टुनमा रहेका विभिन्न प्रकारका विस्फोटक पदार्थ, रकेट लञ्चर र त्यसमा प्रयोग हुने गोली एक, पाइप बम ५, सकेट बम २, इम्प्रोमाइन बेङलोर तारकेट २, २० लिटर स्पि्रट, सुतली बम बनाउने सामान, गन पाउडर, तार, टेलिफोन बम, क्यासेट बम, टिन बम, छर्राका लागि प्रयोग हुने विभिन्न किसिमका फलामका टुक्राहरू, पेचकस, पटका र प्रज्ज्वलनशील पदार्थ रहेको सानो जर्किन एउटा बरामद गरेको थियो । पड्कने बमहरूलाई डिस्पोजल टोलीले सडक किनारमा खाल्डो खनेर नष्ट गरेको थियो ।

source:kantipur