डर्बान- युरो च्याम्पियन स्पेनलाई आज हुने समूह ‘एच’को पहिलो खेलमा रोक्न स्विट्जरल्यान्डले फुटबल कौशलमात्रै तिखारिरहेको छैन, एउटा यस्तो योजना पनि बनाएको छ, जुन अरु कसैले बनाएका छैन।
समूह एचको आज हुने पहिलो तथा महत्त्वपूर्ण खेलका लागि कोच हिजफेल्डले कान टट्टाउने भुभुजेलाको आवाजको सामना गर्ने उपाय पनि खेलाडीहरुलाई सिकाइरहेका छन्। विश्वकपका खेलहरु हुँदा यसअघिका विश्वकपहरुमा कहिले नभएको भुभुजेलाको एकोहोरो आवाजले टेलिभिजन प्रसारक र दर्शकमात्र हैन, खेलाडीहरु पनि सताइएका छन्। तर स्थानीय परम्पराविरुद्ध प्रतिबन्ध नलगाउने भन्दै फिफाले हात उठाइसकेपछि अब यसबाट बच्ने उपाय खोज्ने काम सताइएकाहरुकै जिम्मामा पुगेको छ।हिजफेल्डले दक्षिण अफ्रिकामा प्रशिक्षण गराउने क्रममा स्थानीय फ्यानहरुलाई बोलाएर भुभुजेला बजाउन लगाएका थिए। मैदानमा भुभुजेलाको चर्को आवाजले खेलाडीहरुको आवाजलाई दबाउने हुनाले पूर्वाभ्यासका रुपमा उनले प्रशिक्षणमा समेत त्यस्तो आवाज सुनाउन लगाएका हुन्।
खेल हुनु एक दिनअगाडि उनले भने, ‘मैदानमा जस्तो सुन्छन्, त्यो वातावरणमा तयारी गराउनु राम्रो हुन्छ।‘
तर यतिका भरमा स्पेनलाई स्विटजरल्यान्डले पराजितै गर्ला कि भनेर सोच्नु चाहिँ अलि अपरिपक्व हुनेछ। किनभने भुभुजेलाको आवाजबाट स्पेन अपरिचित छैन। गत वर्ष दक्षिण अफ्रिका मै भएको कन्फिडेरेसन कपमा भुभुजेलाको आवाज स्पेनी खेलाडीहरुले सुनिसकेका छन्।
स्पेनका डिफेन्डर फिलिप सेन्डेरोस आफू कोलाहल भएको स्टेडियममा खेल्न बानी परिसकेको बताउँछन्। आर्सेनलसित आवद्ध भई इंग्ल्यान्ड प्रिमियर लिगमा खेल्दा त्यस्तो वातावरण सहिसकेको उनी बताउँछन्।
तर उनी स्वीकार्छन्, त्यो कोलाहल र भुभुजेला निकै फरक हो। यसको आवाजसित एडजस्ट हुन सिक्नु पर्छ हामीले।
source:nagarik