प्रिटोरिया - अफ्रिकी महादेशमा भइरहेको पहिलो विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रले प्रभुत्व जमाउन थालेका छन्। दुई दक्षिण अमेरिकी टोलीले विश्वकपको
क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। शनिबार दक्षिण कोरियालाई २-१ ले पराजित गरी उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ। नकआउट चरण पुगेका ब्राजिल र चिली जसले जिते पनि क्वार्टरफाइनलमा दक्षिण अमेरिकी टोलीको नेतृत्व गर्नेछन्।
यसअघिको १८ विश्वकप संस्करण युरोप र दक्षिण अमेरिकाले ९/९ पटक जितेका छन्। युरोपले जितेको सबै उपाधि युरोपभित्र छन्। दक्षिण अमेरिकी टोलीले आयोजना भएका सबै महोदशमा विश्वकप जितेका छन्। त्यसमा सर्वाधिक ५ पटक विश्वकप जित्ने क्रममा ब्राजिलले आफ्नै महादेशसहित युरोप, उत्तर अमेरिका र एसियामा उपाधि जितेको छ।
दुई महादेशको तुलना गर्दा अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोना युरोपको हाराहारीमा दक्षिण अमेरिका कहिल्यै नहुने धारणा राख्छन्। 'हामी युरोपजस्तो कहिल्यै शक्तिशाली हुन सक्दैनौं,' १९८६ को विश्वकप विजेता कप्तान म्याराडोनाले भने, 'दक्षिण अमेरिकाको सबैभन्दा ठूलो पुरस्कार युरोपमा उत्कृष्ट खेलाडी पठाउनु हो।' दक्षिण अमेरिकी बाल खेलाडीले युरोपकै सपना देख्ने उनको भनाइ छ। 'हामी उनीहरुलाई आधारभूत प्रशिक्षण दिन्छौं,' उनले भने, 'तर १७ वर्षमुनिलाई युरोप खेल्न पठाउनु हुँदैन।'
दक्षिण अमेरिकी क्षेत्रबाट चार टोलीले सिधै विश्वकपमा स्थान पाउँछन्। पाँचौं स्थानको टोलीले प्लेअफबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा स्थान बनाउनुपर्छ। दक्षिण अफ्रिकाको विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो टोली उरुग्वे दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा थियो र टोलीले प्लेअफमा उत्तर अमेरिकी टोली कोस्टारिकालाई हराउँदै अफ्रिकी महादेशको टिकट काटेको थियो।
पाँचै टोलीले नकआउट चरणमा प्रवेश पाएर विश्वकपमा दक्षिण अमेरिकाले प्रभाव देखाएको छ। चिलीबाहेक सबै समूह चरणमा विजेता बनेका छन्। चिली भने युरोपियन च्याम्पियन्स स्पेनको पछाडि रह्यो।
युरोपका १४ मध्ये ६ टोलीले मात्र नकआउट चरणमा स्थान बनाउन सकेका छन्। आफ्नो खेलाडी उत्पादन गर्नुभन्दा अन्य देशका स्टार खेलाडीलाई आफ्नो देशको लिगमा खेलाउनु नै युरोपेली राष्ट्रले आफ्नो असफलताको कारण मानेका छन्।
source:nagarik