यो युथफोर्स र वाइसिएल जस्तो अराजक हुँदैन-
विराटनगर, जेठ ३१- सत्तारुढ कङ्ग्रेसका केन्द्रीय सदस्य एवम् ऊर्जा मन्त्री डा.प्रकाशशरण महतले तरुण दस्ता गठन गर्नु पार्टीको बाध्यता रहेको बताएका छन्। अरु पार्टीका अर्धसैनिक दस्ताले कङ्ग्रेसीलाई निशाना बनाइरहेका बेला तरुण दस्ताको निर्माण कङ्ग्रेसका लागि बाध्यकारी भएको उनको भनाई छ।
‘तरुण दस्ता आत्मरक्षाका लागि गठन गर्नुपर्ने भए पनि त्यो निशस्त्र हुनेछ’, नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भने- ‘कङ्ग्रेसका धेरै कार्यकर्ता मारिएका छन्, जिल्ला तहमा कङ्ग्रेसलाई आत्मरक्षा गर्न चुनौती छ, त्यसैले तरुण दस्ता हाम्रो बाध्यता हो।’ उनले पार्टी सङ्गठनलाई बलियो र मजबुत बनाउन तरुण दस्ता जरुरी रहेको बताउँदै भने।
कङ्ग्रेसबाटै तरुण दस्ता गठनको विरोध भइरहेको बेला नेता महतले तरुण दस्ता अहिलेको लागि अपरिहार्य रहेकाले निशस्त्ररुपमा गठन गर्न सकिने तर्क गरे। पोशाक लगाउँदैमा तरुण दस्ता युथ फार्स र वाइसिएल जस्तो अराजक नहुने तर्क गर्दै उनले भने- दस्ता गठन गर्नुको उद्देश्य भनेको आइपरे जाइलाग्नका लागिमात्र हो।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नै कङ्ग्रेसको प्राथमिकता रहेको उनले बताए। तीन बुँदे सहमति पालना गरेर माओवादीले सबै दलको विश्वास जितेपछि मात्र प्रधान मन्त्रीको राजिनामा आउने उनको भनाइ थियो।
महतले माओवादीले विगतमा भएका सहमतिअनुसार शान्ति प्रक्रियाको कार्यान्वयन सुरु गरेपछि राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा लाग्नुपर्छ भने।
माओवादीले समानान्तर सेना विघटन नगरेसम्म उनीहरुमाथि विश्वास गर्न नसकिने उल्लेख गर्दै माओवादीहरु सत्ता प्राप्तिको एक सूत्रीय अभियानमा लागेकै कारण संविधान निर्माण कार्य ओझेलमा परेको आरोप पनि उनले लगाए।
source:nagarik