भक्तपुर, अषाढ १२ - प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामाको बिषय आफनो स्वेच्छाको कुरा भएको
बताएका छन् ।'राजनीतिक रुपमा पनि सबैको समर्थन र पूर्ण बहुमतको सरकार भएकाले कसैले राजिनामा माग्दैमा दिन्न,' उनले भने-'राजिनामा दिने कुरा मेरो स्वेच्छिक बिषय हो ।' सहमतिको नया सरकार बनाउने बिषयमा दलहरुबीच सहमति भयो भने राजिनामा दिने उनले प्रष्ट पारे ।
समान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठको पिता गोबिन्द भक्त प्रधानाङ्गको बाषिर्की अवसरमा शनिबार भक्तपुरको नगदेशमा प्रसाद ग्रहण गर्न प्रधानमन्त्री र आधा दर्जन भन्दा बढी मन्त्री पुगेका थिए । 'सहमती र समझदारीका लागि म बाधक बन्दिन,' नेपालले भने । सहमतिको नया यात्रा सुरु भयो भने आफूलाई खुशी लाग्ने उनले बताए ।
माओवादीतर्फ इंगित गर्दै उनले 'कसैकसैले राजनीतिक रुपमा यो सरकारको औचित्य समाप्त भयो भन्छ भने' त्यो गलत आकलन हुने बताए ।
त्यस अवसरमा शान्ति मन्त्री रकम चेमजोङले माओबादी लडाकु समायोजन र पुन स्थापनाको कार्य नसकिएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताए ।
'कति संख्यामा समायोजन गर्ने, कहा, कहा समायोजन गर्ने र कुन कुन मापदण्ड हुने हो प्रष्ट हुनु पर्यो,' उनले भने-'त्यसको सुनिश्चितता, संविधान निर्माण र शान्ति प्रक्रियाको निष्कर्ष नपुगेसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न ।'
मन्त्री श्रेष्ठको निजि निवासमा प्रसाद गह्रणका लागि उद्योग मन्त्री मेहेन्द्र राय यादव, भूमिसुधार मन्त्री डम्मर बहादुर श्रेष्ठ, शान्ति मन्त्री रकम चेम्जोङ, वातावरण मन्त्री ठाकुर शर्मा, संस्कृती मन्त्री मिनेन्द्र रिजाल, कानुन मन्त्री प्रेम बहादुर सिंह, स्वास्थ्य मन्त्री उमाकान्त चौधरी, स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा, समान्य प्रशासन राज्यमन्त्री जितु गौतम विना विभागीय मन्त्री लक्षमण कर्ण, उर्जा राज्यमन्त्री चन्द्रसिंह भण्डारी लगायतका मन्त्रीहरुको पुगेका थिए ।
'माओवादीको चालवाजी र दाउपेच बुझेनन्'
यसैबीच ललितपुरमा शनिबारनै आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले एमालेका केही नेताले माओवादीको चालवाजी र दाउपेच नबुझेको भन्दै आक्रोस व्यक्त गरे । उनले पार्टी फुटाउने नियतले एमालेमा हस्ताक्षर अभियान संकलन गरिएको स्मरण गर्दै उनले भने, 'पार्टी फुटाउन फेरी कोसिस भएको छ । त्यस्ताको निन्दा र भत्र्सना गर्नुपर्छ ।'
उनले २२ दलको समर्थनमा सरकार निर्माण भएको र समर्थन जारी नै रहेकाले 'कसैले हल्ला गर्दैमा र चिच्याउदैमा केही नहुने' समेत बताए ।
source:kantipur