सबै माओवादी सेना नेपाली सेनामै समायोजन गर्नुपर्छ : दाहाल :

काठमाडौं, असार १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी सेनालाई समायोजनमा
समेट्नुपर्ने बताएका छन्। उनले माओवादी सेनाको एउटै युनिट बनाएर त्यसलाई विशेष जिम्मेवारी दिनु राम्रो हुने पार्टीको धारणा पनि व्यक्त गरेका छन्।
हिँजो सकिएको पोलिटब्युरो बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अनमिनले प्रमाणित गर्नुको अर्थ सबै माओवादी सेना सुरक्षा निकायमा समायोजन हुन फिट छन् भन्ने हो भने। शान्ति सम्झौता र अन्तरिम स‌‌ंविधानको मर्म माओवादी सेनालाई नेपाली सेनामै समायोजन गर्ने भएको दाबी पनि उनको थियो।

यो सरकारको राजिनामा नआएसम्म बजेट अधिवेशनका कुनै पनि काम अघि बढ्न नदिने भनाइ पनि उनको थियो। यो सरकार जनताका लागि समस्यामात्र भएको भन्दै उनले सरकारको राजिनामापछि माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी पनि गरे।

असार १ देखि सुरु भएको माओवादी पोलिटब्युरो बैठक ११ गते सकिएको थियो। बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेका थिए, जसको उत्तर अध्यक्ष दाहालले दिएका थिए।

source:nagarik