काठमाडौंबाट मुम्बई पुग्नु नै मेरा लागि ठूलो घटना थियो । सन् १९७० को दशकमा म मुम्बई पुगेको थिएँ । मुम्बईबाट फर्केपछि मात्रै मैले 'सम्झना' फिल्ममा काम गरेको हुँ ।
त्यतिवेला मुम्बईमा कलाकारलाई संघर्ष गर्न ज्यादै अप्ठ्यारो थियो । अहिले मुम्बईमा केही सजिलो भएको छ । किनभने, अहिले यहाँ नवप्रवेशी कलाकारले संघर्ष पनि गर्छन् र सानोतिनो काम पनि पाउँछन् । कुनै सिरियलमा एक/दुई एपिसोडमा सानोतिनो रोल गर्न पाउनेले महिनादिनको खर्च निकाल्न सक्छ । तर, हामीले मुम्बईमा संघर्ष गर्दा त्यति धेरै सम्भावनाका ढोका खुला थिएनन् ।
त्यतिवेला हामी जहाँ पनि हिँडेर जान्थ्यौँ । घन्टौँ हिँडिन्थ्यो । हामी मेहबुब स्टुडियोमा जान्थ्यौँ, सिने साउन्डमा जान्थ्यौँ, बम्बे ल्याबमा जान्थ्यौँ । कहीँ कतै अभिनय या गायनसम्बन्धित केही काम पाइन्छ कि भनेर हामी यताउता भौँतारिरहन्थ्यौँ ।
म भारत सरकारको छात्रवृत्ति पाएर पढ्न मुम्बई पुगेको थिएँ । मलाई खान र बस्नको अप्ठ्यारो थिएन । तर, खासमा म गायक र कलाकार बन्न मुम्बई पुगेको थिएँ । खान-बस्नको त्यति समस्या थिएन भन्नुको अर्थ दुःख पाइएन भन्ने होइन । मैले पाएका दुःखलाई शब्दमा बयान गर्न कठिन छ । संगीतकारकहाँ धाउनु, एक हरफ मात्रै गाउन पाए पनि हुन्थ्यो भन्ने छटपटीका साथ मौकाको प्रतीक्षा गर्नु, घन्टौं घाममा टाट्टनि....स्ट्रगल त कति गरियो कति !
हामीलाई बिएस थापा (माइतीघरका निर्देशक) ले धेरै सहयोग गरेका थिए । मलाई र उदीतलाई । उनी हामीलाई म्युजिक डाइरेक्टरहरूकहाँ लिएर जान्थे, चिनापर्ची गराइदिन्थे ।
हामी प्रसिद्ध संगीतकार जयदेवकहाँ खुब जान्थ्यौँ । मेरो र उदीतको आवाज सुनेर उनी प्रभावित भएका पनि हुन् । उनी चर्चगेटमा बस्थे । हामी लोकल ट्रेनमा धक्कामुक्की खाँदै उनको निवासमा पुग्थ्यौँ । र, कलबेल बजाउँथ्यौँ । उनी ढोका आधा खोलेर टाउको यसो निकालेर हेर्थे र भन्थे, 'अरे, आप लोग ! आज मेरी तबियत ठीक नहीँ है (ए, तपाईंहरू आउनुभएको रहेछ । आज मलाई सन्चो छैन ।)'
हामी अर्का दिन त्यसैगरी उनको घरमा पुग्थ्यौँ । उनी त्यसैगरी ढोका आधा खोलेर टाउको निकालेर भन्थे, 'आज मेरी बाइँ हातमे बहुत दर्द है -आज मेरो वायाँ हात असाध्यै दुखिरहेछ । '
महिनौँ धायौँ र एकदिन उनले भने, 'मेरे पास काम हि नहीँ है (तपाईंहरूलाई दिन मसँग कामै छैन) ।'
यसप्रकारका स्ट्रगल धेरै भए ।
०००
उदीतनारायण, शम्भु प्रधान र म सँगै बस्थ्यौँ । उदीत र म दसैँ मनाउन नेपाल फर्किएका थियौँ । दसैँपछि बम्बई पुग्दा त हाम्राे फ्ल्याटमा एउटी महिला पो बसिरहेकी छिन् बा ! हामी छक्क पर्यौँ ।
मैले उनलाई सोधेँ- 'तपाईं को ?'
उनले भनिन्- 'म मिसेस शम्भू प्रधान ।' र, मलाई चिनेझैँ गरेर सोधिन्, 'तपाईं मुरलीधर होइन ?'
हामी दसैँमा घर गएको वेला शम्भु प्रधानले नूतनसँग बिहे गरेका रहेछन् ।
उदीत र म एक/दुई साता त्यहाँ बस्यौँ । त्यसपछि, नब दम्पतीलाई के डिस्टर्ब गर्नु ? भनेर हामी अर्का कोठा खोज्न थाल्यौँ । मैले दत्तात्रेय लज भन्ने ठाउँमा एउटा कोठा पाएँ । म त्यतैतिर सेटल भइहालेँ । उदीतचाहिँ अन्धेरीके लल्लुभाइ पार्क भन्ने ठाउँमा पेइङ गेस्ट भएर रहन थाल्यो ।
०००
हिँडेका पाइला मेटिँदै जान्छन् । पूर्वार्द्धका कुरा धमिला हुँदै जान्छन् । बम्बईमा मैले धेरै पाएँ भने धेरै गुमाएँ पनि । पाएको कुरा गर्नुपर्दा- मैले बम्बईमा धेरै कुरा सिक्ने अवसर पाएँ ।
गुमाएका पनि छन् । धेरै छन् ।
बम्बईमा हुँदा मेरो आमा बित्नुभयो । म तुरुन्तै नेपाल आउन खोजेँ । तर, त्यसदिनको फ्लाइट नै क्यान्सिल भयो । आमाको दाहसंस्कारमा पुग्न सकिनँ । मेरो प्रतीक्षामा मेरा दाजुभाइले एक दिनसम्म मेरो आमाको पार्थिव शरीरलाई त्यतिकै राखेछन् । दोस्रो दिन बिहान ६ बजे म घर पुगेको थिएँ । म घर पुग्दा मलामीहरू भर्खरै घाटबाट फर्किरहेका थिए ।
बुम्बईमा मैले धेरै सिकेँ । काठमाडौंमा बसेको भएर त्यति धेरै सिक्ने थिइनँ, होला । यस्तै हो पाउनु र गुमाउनुको कथाक्रम !
०००
मेरो जीवनको सबभन्दा ठूलो घटना (या दुर्घटना) भयो फिल्म मिस्टर इन्डियामा । जाबेद अख्तरले यस फिल्मको कथा लेखेका थिए । फिल्म बनेपछि उनले भने, 'अरे यार, मेन भिलेन तो मुरलीधर हो गया (मुख्य खलनायक त मुरलीधर पो भयो) । किनभने, मोग्याम्बोको ग्याङमा मान्छे अदृश्य हुने घडीको र्फमुलाको बारेमा मलाई अर्थात् डा. हो आन्चुलाई मात्र थाहा थियो । त्यस र्फमुलाका लागि मैले हिरोको बाउलाई मर्डर गरेको हुन्छु । पछि क्लाइमेक्समा हिरोले मलाई तेजाबको टबमा हाल्छ । मेरा हड्डी पग्लेको देखाइन्छ । मिस्टर इन्डियाको वरिजिनल क्लाइमेक्स यो थियो ।
मोग्याम्बो (अमरीश पुरी)कोे क्लाइमेक्स थिएन ।
मोग्याम्बोको क्लाइमेक्सका लागि फेरि ३० दिनको सुटिङ गरियो । धेरै सिन काटिए । तथापि, उनीहरूले मलाई पब्लिसिटीमा राम्रै स्थान दिएका थिए । होर्डिङ बोर्ड, पोस्टर जहीँ-तहीँ मैले स्थान पाएको थिएँ । तर, मेरा दृश्यमा व्यापक कैँची चलाइएको थियो ।
त्यसपछि मैले हिन्दी फिल्ममा कामै गर्न छोडिदिएँ । सानोतिनो रोलको अफर प्रशस्त पाएको थिएँ । मालपुवाको टुक्रो खानुभन्दा कोदाको सिंगै रोटी खानु बेस ! त्यसैले मैले नेपाली फिल्म गरेँ । मिस्टर इन्डियामा त्यस्तो नहुँदो हो त, आज म हिन्दी फिल्म उद्योगमा ठूलो भिलेनका रूपमा स्थापित हुन्थेँ होला ।
०००
धार्मिक सिरियल महाभारत गर्दै थिएँ । म कृपाचार्यको भूमिकामा थिएँ । चार एपिसोड रिलिज भइसकेको थियो । ठीक त्यही वेला, म एउटा लोककथामा आधारित सिरिएलमा हिरोको भूमिकामा थिएँ । लद्दाखमा सुटिङ गर्न जाँदा आँधी तुफानका कारण म बीस दिनजति अल्झेर बसेँ । पछि, म महाभारतका निर्माता/निर्देशक रवि चोपडालाई भेट्न गएँ । उनले मलाई बेस्कन गाली गरे ।
मेरो ठाउँमा धर्मेश तिवारीलाई लिइएछ, तर सुटिङ भने भइसकेको थिएन । धर्मेश तिवारीका ठाउँमा म पुन आउने भएँ । धर्मेश रुन थाले । किनभने निर्देशकले भने, 'यसमा कृपाचार्यको भूमिकामा मुरलीधरजी स्थापित भइसक्नुभएको छ । तपाईं -धर्मेश)लाई अर्काे रोल दिउँला ।' मैले धर्मेशको रुवाइ हेर्न सकिनँ । मैले भनेँ- 'ये रोल इसीको दिजिए -यो रोल धर्मेशलाई नै दिनूस्) ।' मैले आफ्नो भाग्य उसमा सारिदिएको हुँ । उदीत र म कुनै वेला रुम पार्टनर थियौँ । ऊ धेरै माथि पुग्यो । मलाई लाग्छ- भाग्य धेरै ठूलो कुरा हो । तपाईंसँग ज्ञान या प्रतिभा मात्रै भएर पुग्दैन, तपाईंले अवसर समात्न पनि जान्नुपर्छ । मैले त्यसो गर्न जानिनँ कि ? मैले आफ्नो मार्केटिङ गर्न जानिनँ । सेल्सम्यानसिप रहेनछ मसँग । कतै-कतै मेरो भावुकता -जस्तो, धर्मेशलाई आफ्नो रोल दिनु) पनि मेरो प्रगतिको बाधक भएर आयो होला ।
मेरो स्ट्रगल गर्ने तरिका पनि फरक छ । म धाइरहने, बसिरहने, जी हजुर गरिरहने प्रकृतिको मान्छे होइन ।
भाग्य पनि हो । व्यासले भनेका थिए- गुणवन्त पे मत जाइयो, भागवन्तकी द्वारपे पडिरहे गुणवन्त अर्थात् भाग्यमानीको ढोकामा गुणवन्तहरू बसिरहेका हुन्छन् ।
उदीत मान्छे एकदम समर्पित थियो, प्रतिभाशाली थियो । उसको स्ट्रगल गर्ने तरिका मेरोभन्दा एकदम फरक थियो । हामी सँगै जान्थ्यौँ । ऊ दिनभरि बस्थ्यो । म भने वाक्क हुन्थेँ र 'तँ बसिराख्, म त गएँ' भनेर उसलाई एक्लै छाडेर हिँडिदिन्थेँ । मसँग कसैलाई कुरिराख्ने धैर्य थिएन, तर उदीतमा थियो । स्टुडियोको गेटमा बसिराख्थ्यो, छाता र झोला बोकेर हिँड्थ्यो, म्युजिक डाइरेक्टरकहाँ खुब धाउँथ्यो । मैले छाता र झोला कहिल्यै बोकिनँ ।
०००
त्यतिखेर शत्रुघन सिन्हासँग मेरो राम्रो मित्रता थियो । स्टुडियोमा भेट्दा उनी मलाई अँगालो हालेर हिँड्थे । र, सम्झाउने गर्थे, 'मुरली तिमी राम्रो कलाकार हौ । तिमीले धैर्य राख्नुपर्छ, सानोतिनो रोल भए पनि गरिराख्नुपर्छ ।' उनले दुई/तीनवटा फिल्ममा काम पनि दिए । उनी भन्ने गर्थे- 'मेरो समय आउन देऊ । म तिम्रा लागि केही गर्नेछु ।'
एनको खुदगर्ज फिल्म सुपर डुपर हिट भएपछि एउटा फिल्मको शुभमुहुर्तमा म उनलाई भेट्न गएँ । भीड थियो । मैले उनलाई भेटेर भनेँ- 'अब त मेरो ड्रामा फिट गर्नूस् । तपाईंको समय आयो नि !' उनले भने, 'मुरली, अहिले त म आफ्नैबारे त केही सोचिराख्न सकिरहेको छैन भने तिम्रा लागि के गरूँ ? अहिले म असाध्यै व्यस्त छु ।' उनको कुराले मलाई च्वास्स घोच्यो । मैले भनेँ, 'ठीक छ, जुन दिन तपाईंलाई फुर्सद हुन्छ, त्यही दिन हामी भेटुँला ।' त्यसदिनदेखि आजसम्म हाम्राे भेट भएको छैन । मैले उनलाई न फोन गरेँ, न भेट्नै गएँ । शत्रुघनले मलाई पटक-पटक सन्देश भने पठाएका थिए । तर, म सन्देशवाहकलाई भनिदिन्थेँ, 'म सानो मान्छे हुँ । उहाँजस्तो ठूलो मान्छेसँग मेरो के काम हुन सक्छ र ?'
०००
म उर्दूमा गजल गाउँछु । नेपालीमा गजल गाउँदिनँ । म्युजिक नेपालबाट मेरो एल्बम आउँदै छ- आँखाको भाका । नेपालमा अहिले तथाकथित गजलको बाढी चलेको छ । हामीलाई उधारो खाने बानी छ । अर्काको नक्कल गर्यो, खायो । बयालीस सालतिर मेरो फूलबारी एल्बम निकाल्दा यसलाई गजल भनिएको थियो । त्यतिवेला मलाई लाग्यो- उर्दूमा पो गजल हुन्छ, नेपालीमा केको गजल ? गीत र लयलाई जोडेर गीतल किन
नभन्ने ? मौलिक शब्द पनि हुन्छ । सन् १९९१मा प्रज्ञा प्रतिष्ठानमा मेरो गीतल-९१ भन्ने एकल सांगीतिक कार्यक्रम भएको थियो । मानिसले निकै प्रशंसा गरेका थिए । म श्रोतालाई भन्न चाहन्छु, भाषाविद्लाई भन्न चाहन्छु -गीतल शब्दले ठाउँ पाउनुपर्छ । यसले माया पाउनुपर्छ । किनभने, यो मौलिक शब्द हो । गजल लेख्नेलाई उर्दूमा सायर भनिन्छ, यहाँचाहिँ गजलकार ! जे पायो त्यही गर्ने ?
source:nayapatrika