यसरी छाडिए नागाल्यान्डका गृहमन्त्री :

काठमाडौं, १६ असार
प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ परेका नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेन भारतीय
दबाबमा छुटेका छन् । बुधबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा इमचेनलाई प्रहरीले भारतीय पाँच सय र एक हजारका नोटसहित पक्राउ गरेको थियो ।
बिहान १० बजे पक्राउ परेका इमचेन पाँच घन्टापछि प्रहरी नियन्त्रणबाट मुक्त भएका हुन् । इमचेनलाई छुटाउन बुधबार दिनभर भारतीय दूतावासका अधिकारीले दौडधुप गरेका थिए । नेपाली कानुनअनुसार उनीमाथि वैदेशिक मुद्रा अपचलनको अभियोगमा कारबाही गर्न पर्याप्त आधार भए पनि राजनीतिक र कूटनीतिक दबाबका कारण उनलाई कारबाहीविनै प्रहरीले छाडेको हो । उनलाई तत्काल मुक्त गर्न गृह मन्त्रालयले आदेश दिएपछि छाडिएको विमानस्थल प्रहरी स्रोतले बतायो । इमचेनबाट बरामद गरिएको रुपैयाँ भने अनुसन्धान विभागमा बुझाइएको छ ।
इमचेन गत १३ असारमा काठमाडौं आएका हुन् । पत्नी अलिला, छोरो संगतीकुम्बा र एक सुरक्षा सहयोगीका साथ आएका उनलाई प्र्रतिबन्धित नोटसहित चेकजाँचका क्रममा पक्राउ गरिएको थियो । उनले सुटकेसमा नौ लाखबराबरको पाँच सय र हजारका नोट बोकेका थिए । स्रोतका अनुसार उनले प्रहरी चेकजाँचका क्रममा आफूसँग ५० हजार रुपैयाँमात्रै भएको दाबी गरेका थिए । तर, चेक गर्दा सुटकेसभित्र पैसाको चाङ भेटेपछि प्रहरीले उनलाई 'अनुसन्धानका लागि' भन्दै नियन्त्रणमा लिएको थियो ।
इमचेनलाई पक्राउ गरेपछि मात्रै उनी नागाल्यान्डका गृहमन्त्री भएको प्रहरीले थाहा पाएको थियो । यसपछि प्रहरीले भारतीय दूतावासमा खबर गर्‍यो । इमचेन पक्राउ परेको केही समयमै भारतीय मिडियाले लगातार समाचार दिएपछि भारतीय गृह मन्त्रालयले विदेश मन्त्रालयमार्फत भारतीय दूतावासमा सम्पर्क गरी इमचेनलाई तत्काल छुटाउने पहल गर्न निर्देशन दिएको थियो ।
विदेश मन्त्रालयबाट निर्देशन आएलगत्तै भारतीय राजदूत राकेश सुद तथा दूतावासका उच्च अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावललगायतलाई सम्पर्क गरेर उनलाई तत्काल छाड्न दबाब दिएका थिए । दूतावासका केही अधिकारीले प्रधानमन्त्री नेपाललाई भेटेरै दबाब दिएको स्रोतले बतायो ।
इमचेनले आफूलाई नेपालमा भारतीय पाँच सय र एक हजारका नोट प्रतिबन्धित भएको बारेमा कुनै जानकारी नभएको बयान प्रहरीलाई दिएका छन् । विवाह भोजमा सहभागी हुन र बिदा मनाउन आएको बताउने उनले सो रकमको स्रोत भने खुलाउन नसकेको स्रोतले बतायो ।
इमचेन पक्राउ गरिए पनि विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यको कोठामा राखिएको थियो । बज्राचार्यले इमचेनले आफूलाई नेपालमा ती नोट प्रतिबन्धित भएकोबारेमा कुनै जानकारी नभएको बताएको जानकारी दिए । बज्राचार्यले इमचेनबाट दुई लाख रुपैयाँ मात्रै भेटिएको दाबी गरे पनि स्रोतका अनुसार उनको सुटकेसमा आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम थियो । पौने चार बजेको जेट एयरको फ्लाइटबाट इमचेनलाई दिल्ली पठाइएको बज्राचार्यले वताए । 'उहाँलाई नियमअनुसार नै छाडिएको हो,' उनले भने, 'कतैबाट छाड्नका लागि दबाब आएको होइन ।'
प्रहरी अधिकारीहरू भने यस विषयमा खुलेर कुरा गर्न तयार छैनन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता माधव नेपालले बुधबार साँझसम्म आफूलाई यस विषयमा आधिकारिक जानकारी नआएको बताए ।
इमचेन पक्राउ परेलगत्तै भारतीय मिडियासँग कुरा गर्दै नागाल्यान्डका मुख्य सचिव लालथराले इमचेन बिदा मनाउन नेपाल गएको र उनले अरूको रकम नभई आफ्नै रकम बोकेको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री इमचेनले अज्ञानताका कारण गल्ती गरेकाले रकम राखेर उनलाई छाड्न भारतको केन्द्रीय गृह मन्त्रालयमार्फत आग्रह गरिएको लालथराको भनाइ थियो ।
नागाल्यान्डका मुख्यमन्त्रीका प्रेस सेक्रेटरी अबु मेथाले अज्ञानताका कारण गृहमन्त्री इमचेन पक्राउ परेको स्विकारेका थिए । उनले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, 'नेपाली कानुनका विषयमा जानकार नभएका कारण धेरै भारतीयले नेपालमा यस्ता समस्या झेलिरहनुपरेको छ ।'
तर, केही भारतीय मिडियाले भने एउटा राज्यको गृहमन्त्रीलाई छिमेकी देशको कानुनबारे सामान्य जानकारी पनि नहुनुलाई लज्जास्पद भनेका छन् । टाइम्स नाउले आफ्नै देशले विदेशी भूमिमा लैजान प्रतिबन्ध लगाएको नोट बोकेर हिँड्नुलाई इमचेनको 'गल्ती' भनेको छ ।
भारत सरकारको आग्रहमा एक दशकअघि नै नेपाल सरकारले पाँच सय र एक हजारका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो । यस्तै एक दशकअघि रिजर्भ बैंक अफ इन्डियाले ती नोट विदेशी भूमिमा प्रयोग गर्न नपाउने नियम ल्याएको थियो । छिमेकी मुलुक बंगलादेश, नेपाल र पाकिस्तान हुँदै पाँच सय र एक हजारका नक्कली भारतीय नोटको कारोबार भएको भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो ।
नेपालमा प्रतिबन्धित रुपैयाँसहित पक्राउ परेकालाई वैदेशिक मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने गरिन्छ । अभियोग प्रमाणित भएमा बिगोभन्दा पाँच गुणा जरिवाना वा पाँच वर्ष कैद तथा दुवै सजायको कानुनी व्यवस्था रहेको छ ।
विवादास्पद पृष्ठभूमिका इमचेन
नागाल्यान्डका गृहमन्त्री इमचेन राजधानी मणिपुरका स्थायी बासिन्दा हुन् । उनी नागाल्यान्ड सरकारका सबैभन्दा बढी विवादित मन्त्री हुन् । इमचेनमाथि नागाल्यान्डका तीन जिल्लामा मारवाडी व्यापारीसँग अनाधिकृत रूपमा पैसा असुल्ने गरेको आरोप लागेको छ ।
ती जिल्लाका कतिपय प्रहरी स्टेसनमा उनीविरुद्ध जाहेरीसमेत परेको डेटलाइन इन्डिया अनलाइनले जनाएको छ । उनी यसअघि शिक्षामन्त्री थिए । शिक्षामन्त्री हुँदा शैक्षिक बजेट घोटालामा निकै विवादित बनेका उनी मुख्यमन्त्रीभन्दा प्रभावशाली मानिन्थे । 'उनी शिक्षामन्त्री छँदै प्रहरी प्रमुखलाई घरमै बोलाएर आदेश दिन्थे,' डेटलाइन इन्डियाले आफ्नो अनलाइनमा लेखेको छ, 'मुख्यमन्त्रीको भन्दा उनको कुरा बढी चल्थ्यो ।' इमचेन सबैभन्दा बढी समय मणिपुर कांग्रेसको उपाध्यक्षसमेत रहेका व्यक्ति हुन् ।
गत वर्ष बलात्कारका अभियुक्तलाई सहयोग गरेको भन्दै इमचेन विवादमा आएका थिए । त्यसवेला उनलाई मन्त्रीमण्डलबाट हटाउन चौतर्फी आवाज उठे पनि सफल भएन । उनी पटक-पटक मुख्यमन्त्री बन्न कोसिस गरेको, तर आपराधिक छवी र आतंकवादीसँगको साँठगाँठका कारण सम्भव नभएको भारतीय मिडियाले लेखेका छन् । केही वर्षअघि मणिपुर लोटरी घोटाला कान्डका मुख्य आरोपी मणिकुमार सुब्बासँग उनको नाम जोडिएपछि झन्डै गएको उनको पद मणिपुर कांग्रेसको दबाबमा बचेको थियो ।
'इमचेन थाइल्यान्ड र नेपालको नियमित यात्रा गर्ने व्यक्ति हुन्,' भारतीय मिडियाले लेखेका छन्, 'उनको साथमा थुप्रै पासपोर्ट भएको बताइन्छ ।' सरकारी रेकर्डमै उनको धेरै नाम भएको र प्रायः सबैजसो नामबाट उनले पासपोर्ट लिएको बताइएको छ ।

source:nayapatrika