महेन्द्रनगर, असार २७ - यार्सागुम्बा ब्यापारीलाई लुटपाट गर्ने एनेकपा माओवादीका नेता
भएको बझाङ्ग प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न एक नेतालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले माओवादीको भेरी कर्णाली राज्य समिती सदस्य खडक तामाङ तथा विनोद शाहीलाई पक्राउ गरेको हो। तामाङ्ग हुम्ला मेलछाप-४ का वाशिन्दा हुन। पक्राउ परेका शाही कालिकोट सदरमुकाम मान्माका वाशिन्दा भएको प्रहरी निरीक्षक जयसिह बिष्टले बताए। पक्राउ परेका तामाङवाट ४ लाख ७५ हजार रुपैंया र एक तोला सुनको औंठी तथा शाहीवाट दुई थान पेस्तोल र ३ लाख रुपैया वरामद गरिएको प्रहरी निरिक्षक विष्टले बताए। प्रहरीले दुवै जना विरुद्ध चोरी डकैती र अबैध हातहतीयारको मुद्धा लगाएको छ।
तामाङ्ग र शाही सहितको पाँच जनाको समुहले चार दिन अघि बझाङ्गको काँडा गाविस-१ धलौनको जङ्गलमा हुम्ला खगाल-२ का यार्सागुम्बा ब्यापारी छेपाल लामालाई लुटेका थिए। लामाले ५० लाख ४० हजार रुपैंया र चार तोला यार्सा लुटिएको प्रहरीमा उजुरी दिएको छ।
लुटपाट गरिएको ठाउँ सदरमुकाम चैनपुरबाट ३० कोष उत्तरमा पर्छ। लुटपाटमा संलग्न अन्यको खोजी भईरहेको बझाङ्ग प्रहरीले जनाएको छ। 'धुली र मेलबिसौना प्रहरी चौकीबाट सुरक्षा टोली खोजी कार्यमा खटिएको छ' प्रहरी निरिक्षक बिष्टले भने।
यार्सागुम्बा संकलन सिद्धिएकाले यतिवेला व्यापारीहरु लाखौं रुपैंया वोकेर संकनकर्ताको घर घर चहार्ने गर्छन्। तर लाखौं रुपैंया गाउँघर डुल्दा जोखिम पनि उत्तिकै छ। ब्यापारीहरु दार्चुला र बझाङ्गका वस्तीमा यार्सा खरिद गर्न आवत जावत गरिरहेका छन्। व्यापारी र संकलकको खरिद विक्री प्रकृयामा दुई तीन महिना वित्ने गर्छ। अघिल्ला वर्षमा पनि ब्यापारीवाट यार्सा र नगद लुटपाट गरिएको थियो।
source:nagarik