चितवन, असार २७- पहिरो हटाउने क्रममा डोजरले ट्याक्सीलाई पुर्दा चार जना घाइते भएका छन्। अविरल वर्षपछि
आएको पहिरो फ्याँक्न भरतपुबाट चितवनको जुगेडीमा डोजर पुगेको हो।
डोजरले माटो फाल्दा आइतबार दिउँसो ट्याक्सी पुरिएपछि सो क्षेत्रमा केह बेर तनाव उत्पन्न भएको थियो।
नारायणगढ मुग्लिन सडकको जुगेडीमा डोजरले माटो फालेर पहिरो हटाउन लाग्दा ट्याक्सी पुरिएको हो। ट्याक्सी पुरिँदा ट्याक्सीमा सवार एक बिरामीसहित अन्य चारजना सामान्य घाइते भएका छन्।
मुग्लिनबाट बिरामी लिएर ग १ च ३२६६ नम्बरको ट्याक्सी भरतपुरको क्यान्सर अस्पताल आउँदै गरेको सो ट्याक्सी पहिरो गएका कारण जुगेडीमा रोकिएको थियो। ट्याक्सी पुरिएपछि यात्रु तथा सडक डिभिजनका कर्मचारीबीच बिवाद हुँदा तनाव उत्पन्न भएको हो। करीब डेढ घण्टा विवाद साम्य भएको हो। जुगेडी प्रहरीले ट्याक्सीलाई क्षतीपूर्ती र घाईतेलाई आवश्यक उपचार खर्च बेहोर्न लगाउने प्रतिबद्धता जनाएपछि बिवाद साम्य भएको प्रत्यक्षदर्शी एवं नागरिक दैनिकका सवारी चालक किसन श्रेष्ठले बताए।
डोजरका चालकले माटो फाल्नेक्रममा ट्याक्सी नदेखेका कारण पुरिएको बताएपनि ट्याक्सी चालक र यात्रुहरुले भने जानीजानी ट्याक्सीमा माटो फालेर पुरेको भन्दै आक्रोशित बनेपछि केहीबेरे बिवाद भएको जुगेडी प्रहरीले जनाएको छ। यसअघि उनीहरुले माटोले पुरिएको ट्याक्सी क्षतिग्रस्त भएकाले क्षतिपूर्ति नदिएसम्म बाटो खुलाउननदिने भन्दै सडक बन्द गराएका थिए। पहिरो हटेपछि पनि उनीहरुको बिवादका कारण सडक खुल्न सकेको थिएन।
ट्याक्सी पुरिँदा घाईते भएका र बिरामीलाई प्रहरी र यात्रुहरुले उद्धार गरि उपचारकालागि भरतपुर ल्याएका छन्। बिवाद मिलाएपछि आईतवार दिउँसो साँढे १ बजेबाट सडक सुचारु भएको जुगेडीका प्रहरी हवल्दार कृष्ण बिकले जानकारी दिए।
अविरल वर्षासँगै आएको पहिरोका कारण चितवनको मुग्लीननारायणगढ सडकखण्ड भने आईतबार बिहानैदेखि अवरुद्ध बनेको थियो।
चण्डीभञ्याङ्गको खहरे खोलानजिकै गएको पहिरो खुल्ननपाउँदै जुगेडीमा अर्को पहिरो गएपछि बाटो लगाताररुपमा बन्द भएको हो। बिहान पाँच बजेदेखि अबरुद्ध सडक साँढे १ बजेपछि मात्र खुलेको हो।
अलपत्र अवस्थामा रहेको सवारीसाधन गन्तव्यतर्फ नलाग्दै चितवनको जुगेडीमा अर्को पहिरो गएपछि सयौं सवारीसाधन र यात्रुहरु पुन बिच बाटोमै अलपत्र परेका थिए।
source:nagarik