काठमाडौं, अषाढ २४ - वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको रिहाईका लागि अपहरणकारीले भारतमा
तीन किलो सुन फिरौति लिएको प्रहरीले जनाएको छ ।
डा. श्रेष्ठ रिहाई भएको एक महिनापछि प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त कुरा सार्वजनिक गरेको हो । काठमाडौंको सामाखुसीमा भक्तमानलाई राखेर अपहरणकारीका नाईके दुई मध्येका एक रोहित पलिवालले भारतमा गई बार्गेनिङ गरी उक्त रकम बुझेको अनुसन्धान टोलीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीको जानकारी दिए ।
यसरी अपहरण
चितवन क्यान्सर अस्पतालमा पहिले काम गरेका सवारी चालक बद्रि ढुंगानाले आपराधिक समूह भीमसेन पण्डितका प्रमुख पण्डितलाई चितवनमा राम्रो कमाई हुने डाक्टर भनी खबर गरेको प्रहरीको भनाई छ । उनकै सुराकीका आधारमा नुवाकोट चारघरे घर भएका पण्डित र भारत घर भई नेपाल र भारतमा बराबरी बस्दै आएका रोहित पलिवलले जेठ ४ गते राति अस्पतालबाट घर फर्कंदै गरेका डा. श्रेष्ठको अपहरण गरेको थियो ।
अपहरणपछि डा. श्रेष्ठलाई सोहि दिन राति चितवनबाट मुंग्लिङ हुँदै पण्डितको चारघरेस्थित निवासमा लगेर राखेका थिए । त्यहाँबाट पण्डित, पलिवल, ढुंगानासहितका सहयोगीहरुले डा. श्रेष्ठलाई काठमाडौंको सामाखुसी ल्याएका थिए । सामाखुसीमा पण्डितले लिएको भाडाको फ्ल्याटमा भक्तमानलाई राखिएको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ ।
सामाखुसीमा भक्तमानलाई 'सिफ्ट' गरेपछि बार्गेनिङ गर्न रोहित भारत गएका थिए र इन्टरनेट टथा कलबाइपालबाट फिरौति माग गरेका थिए । पछि परिवारले भारतमै गएर उनीहरुलाई फिरौति बापत तीन केजी सुन बुझाएका थिए । फिरौति लिन आएका अपहरणकारी नम्वर नचिनिने सवारीमा आएको सुवेदीले जनाए ।
भारतमा फिरौति बुझाएपछि काठमाडौंमा राखिएका भक्तमानलाई मोटरसाइकलमा राखेर पण्डितसहित दुई अपहरणकारीले धादिङको मझिमटारमा पुर्याएर जेठ २२ गते राति छाडेका थिए ।
को को अपहरणमा
अपहरणमा पहिले पनि आपराधिक कृयाकलापमा संलग्न नुवाकोट चारघरे घर भएका ३७ वर्षिय भीमसेन पण्डित, भारत घर भएका ३० वर्षियरोहित पलिवल, जिलिङ नुवाकोटका बद्रि ढुंगाना, नुवाकोट चारघरेका लुक्पा तामाङ, काठमाडौं महाराजगञ्जमा सुनिल श्रेष्ठ र भारत दार्जिलिङका नविन क्षेत्री संलग्न रहेको प्रहरीले जनाएको छ । ती मध्ये नविन, सुनिल र बदि्र ढुंगाना पक्राउ परेका छन् ।
चार सवारी प्रयोग
डा. भक्तमान श्रेष्ठको अपहरणका लागि उक्त गिरोहले चार वटा सवारी प्रयोग गरेका थिए । ती मध्ये एउटा भारतीय गाडि थियो, जुन पलिवलले लिएर आएका थिए । यस्तै डा. श्रेष्ठले प्रयोग गरेको गाडिलाई भने दुई अपहरणकारीले पोखरामा लगेर छाडेका थिए ।
यसबीचमा अपहरणकारीले दुई मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले दुवै मोटरसाइकललाई बरामद गरेको छ ।
डा. श्रेष्ठ विपि कोइराला मेमोरियर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् । जेठ ४ गते राती अस्पतालबाट घर फर्कंदै गर्दा अपहरणमा परेका उनलाई १९ दिन बन्धक बनाइएको थियो । अपहरणकारीलाई आफन्तले एक करोड दश लाख रुपैयाँ बराबरका सुन भारतको लखनउ नजिकै बुझाएपछि उनी रिहा भएका थिए ।
source:kantipur