कलैयामा विष्फोट हुँदा दर्जन बढी घाइते :

श्रावण १ - अज्ञात समुहले बारा सदरमुकाम कलैयाको मुख्य बजारमा राखेको टिफिन बम शनिवार साँझ साढे पाँच बजे
विष्फोट हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

बजारमा भिडभाड भएको बेला भएको उक्त विष्फोटमा परी कलैया १२ रामपुर निवासी ६० वर्षिय मनकी ठाकुर, कलैया ८ निवासी भक्ति देवी मिश्रा, कलैया ६ का मनोज कुमार दासकी १० वर्षिया छोरी अनामिका कुमारी दास, कलैया ३ निवासी आसान मिया मंसुरकी १० वर्षिया छोरी सविना खातुन, भतौडा ४ गंगापुरका जगदीश साह, प्रष्टोका ७ का विनोद मणि मण्डल, कलैया ५ का रामबाबु गोसाईं, कलैया ५ की लालमति देवी, प्रष्टोका ४ का सोनालाल राम र उनकी श्रीमती ईन्द्रासनी देवी राम लगायत घाइते भएका छन ।

उनीहरु मध्ये मनकी, अनमिकाको अवस्था गम्भिर रहेको र उनीहरुलाई कलैया अस्पतालको प्राथमिक उपचारपछि थप उपचारको लागी नारायणी उपक्षेत्रिय अस्पताल बीरगन्जमा लगिएको छ । अन्य आठ जनाको कलैया अस्पतालमा र नाम नखुलेका दुई जननको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।

बिष्फोटपछि कलैया बजारमा भाग दौड मच्चिएको थियो । घटनापछि सदरमुकाम कलैयामा सुरक्षा कडा बनाइएको बाराका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

केटाकेटी खेलिरहेको ठाउँमा सकेट बम:

सिरहाको सन्हैठा ३ सहरपा टोल नजिकै खेतमा एउटा बेवारिसे सकेट बम शनिवार फेला परेको छ ।

गाई भैंसी चराउने बच्चाहरुले खेलिरहेको अबस्थामा शुक्रवार डल्लो आकारको बस्तु फेलापारे पछि एक जना बच्चाले हातले उठाएर फ्याँक्दा बिष्फोट भएको स्थानीय वीरेन्द्र यादवले बताए । सो बिष्फोटबाट कुनै क्षति नभएको उनले भने ।

शनिवार पनि सोही स्थानमा केटाकेटीहरु खेलिरहेको अबस्थामा त्यस्तै डल्लो भेटाएपछि आ आफ्ना अभिभावकलाई जानकारी गराएपछि प्रहरी पुगेको थियो । सिरहाबाट खटिएको प्रहरी टोलीले सकेट बम रहेको बताए । श्री नाथ नया गण चोहर्वाबाट खटिएको डिष्पोजल टोलीले सो बम डिष्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

source:kantipur