हामीले चाहेको प्रधानमन्त्री :

उपयुक्त व्यक्तिको खडेरी:


प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

आफूलाई प्राथमिकतामा नराखी विरोधीलाई मिलाउँदै लान सक्ने व्यक्ति नै प्रधानमन्त्री बन्नुपर्ने खाँचो छ । त्यसो भयो भने हामी जनतालाई राम्रो हुन्छ । अब त गिट्टी कुट्ने, भारी बोक्नेजस्ता जनताका बारेमा चिन्तन गर्न सक्ने प्रधानमन्त्री हुनुपर्छ । अहिले देशमा यस्ता व्यक्तिको खडेरी छ । अब को बन्ने भनेर व्यक्तिको नामभन्दा भएकामध्ये राम्रो छान्नुपर्छ । प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुरलगायतको परीक्ष्ाण भइसकेको छ । अब रामचन्द्र पौडेल र बाबुराम भट्टराईजस्ता व्यक्तिमध्येबाट जो राम्रो छ, त्यसैलाई प्रधानमन्त्री बनाउनुपर्छ ।

भट्टराई कि पौडेल:

रागिनी उपाध्याय, कलाकार

व्यक्तिगत रूपमा भन्नुपर्दा पहिलो बाबुराम भट्टराई र दोस्रोमा रामचन्द्र पौडेल भन्छु । तैपनि बाबुराम भट्टराईलाई नै समर्थन गर्छु । उहाँले देशका लागि केही गर्न सक्नुहुन्छ भन्ने कुरा अर्थमन्त्री हुँदा देखाइसक्नु भएको छ । उहाँ कुर्सीका लागि मात्र दौडधुप गर्ने व्यक्ति होइन । देशलाई विकासको बाटोमा दौडाउन अर्थतन्त्रको सही उपयोग हुनुपर्छ । बाबुराम भट्टराईलाई देशको कस्तो ठाउँमा कति खर्च गर्नेदेखि कुन ठाउँबाट कति देशले फाइदा लिनसक्ने पूर्ण ज्ञान छ । उहाँ प्रधानमन्त्री हुनुभयो भने देशको भ्र्रष्टाचारमा पनि कमी हुन्छ ।

सबै सक्षम:

डा. केदारनरसिंह केसी, अध्यक्ष, नेपाल चिकित्सक संघ

नेपालमा हालसम्म जति पनि प्रधानमन्त्री भए तिनीहरू सबै एउटा सीमित घेरा र स्वार्थभित्र मात्र रहे । अब नेपालमा नैतिक आचरण ठीक भएको, जनताको भावना बुझ्ने, देशमा शान्ति अमनचयन कायम राख्न सक्ने र सबैलाई नेतृत्व गरी अगाडि बढ्न सक्ने व्यक्ति नै प्रधानमन्त्री बन्न आवश्यक छ । अहिले प्रधानमन्त्री बन्न जोजो व्यक्ति तयार भएका छन्, ती सबै सक्षम छन् भन्ने मलाई लागेको छ । उनीहरूमा एउटा कुराको खराबी छ, त्यो हो पार्टीको निश्चित दायराबाट माथि उठ्न नसक्नु । व्यक्ति आफंैमा नराम्रा हुँदैनन् र छैनन् पनि । तर, जब पदमा जान्छन् उनीहरू राष्ट्रको प्रधानमन्त्री बन्न सक्दैनन् । प्रधानमन्त्रीको पदमा गएर जुन जिम्मेवारी बहन गर्नुपर्ने हो, त्यो हाम्रा नेताले भुलेका छन् । यो पार्टीको यो नै व्यक्ति सही वा उपयुक्त छ भन्नुभन्दा पनि सबै सक्षम र योग्य छन् भन्ने मलाई लाग्छ ।

प्राथमिकतामा प्रचण्ड:

खगेन्द्र संग्रौला, लेखक

घन्टाँै कुरा गर्दा पनि प्रधानमन्त्री को बन्ने भन्ने प्रश्नको उत्तर निकाल्न सकिँदैन । फेरि पनि बहुमतको सरकार बन्दै छ । त्यसमा पुष्पकमललाई म प्राथमिकतामा राख्छु । विद्रोहबाट उठेका हुनाले उनीमाथि धन र जनको क्षतिको ऋण छ । तसर्थ उनी परिवर्तनका लागि बाध्य छन् । तर, बहुमतको सरकार बन्ने भए पनि उनलाई सबैको सहमतिमा प्रधानमन्त्री बनाइनुपर्छ । त्यसले संविधान बन्ने कुरा सुनिश्चित गर्छ । त्यसबाहेक कांग्रेसका रामचन्द्र पौडेल या एमालेका झलनाथ खनाल बने पनि मलाई आपत्ति छैन । त्यसमा माओवादीको पनि सहमति भने हुनुपर्छ, ऊ विपक्षमै बसे पनि । संविधान बन्ने सुनिश्चित हुनुपर्छ ।

मधेसलाई हेरून्:

उमाशंकर शाह, कलाकार

देशको अवस्था हेर्दा सरकार भए/नभएको अनुभूति नै हुन छाडिसक्यो । तर, सरकारले गतिलो काम नगरे पनि देश सरकारविहीन हुन सक्दैन । त्यसैले अहिलेको अवस्थामा प्रधानमन्त्रीका रूपमा म बाबुराम भट्टराई र उपेन्द्र यादवलाई लिन्छु । बाबुरामजी एउटा पढेलेखेको मान्छे हुनुहुन्छ । उहाँमा देशको अर्थतन्त्रलाई सही ठाउँमा उपयोग गर्न सक्ने क्षमता छ । त्यति मात्र नभएर उहाँ कहिल्यै पनि कुर्सीका लागि हिँड्नुभएन । जो व्यक्ति पदका लागि कुद्छ, त्यसको क्रियटिभिटी मर्छ र त्यो कुर्सीमा सेन्ट्रलाइज हुन्छ । यस्तो अवस्थाबाट बाबुराम भट्टराई मुक्त भएको देखिन्छ । उहाँले मधेसका लागि पनि केही राम्रो काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

सहमतिको सरकार चाहन्छु:

अस्मिता रञ्जित

सरकार सहमतिको नै हुनुपर्छ । सहमतिबाट सरकार बन्यो भने यो र त्यो प्रधानमन्त्री हुनुपर्छ भन्ने मलाई लाग्दैन । सबैको सहमतिबाट सरकार बने जो प्रधानमन्त्री भए पनि उसलाई काम गर्न कसैको असहयोग हुँदैन । तर, बहुमतको सरकार बन्यो भने मै हुँ भन्ने नेताले पनि हावा खान्छन् । त्यो लामो समय पनि टिक्दैन । देश झन्झन् बिगि्रएर जान्छ । धेरैभन्दा धेरै भ्रष्टाचार हुन्छ ।

पौडेल उपयुक्त:

अरुणिमा लम्साल, नायिका

प्रधानमन्त्रीको चर्चामा अहिले जोजो छन्, तीमध्ये नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई बनाउँदा राम्रो होला किनभने उनी चर्चामा आएका अरूभन्दा युवा पनि छन् । उनलाई एकचोटि मौका दिनु उपयुक्त होला ।

कसैको विश्वास छैन:

प्रा. डा.गोविन्दराज भट्टराई, साहित्यकार

प्रधानमन्त्रीको त चुनावले निर्णय गरिहाल्छ नि । मैले किन भन्ने र ? हामीले भन्दा हुने पनि होइन । यही नेताले देशका तमाम समस्याका समाधान गर्लान् भन्ने विश्वास कुनै नेतामाथि छैन । जो भए पनि प्रधानमन्त्री हुने न हो, अरू काम हुने होइन । जो भए पनि राष्ट्रिय सहमतिमा बनाए राम्रो हुने थियो ।

माओवादीको नेतृत्व होस्:

मनोज गजुरेल, हास्य कलाकार

लोकतान्त्रिक मूल्यमान्यतालाई मान्ने हो भने संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीलाई नेतृत्व गर्ने जिम्मेवारी दिनुपर्छ । किनभने जनताले उसलाई नेतृत्व गर्ने जिम्मेवारी दिएर पठाएका हुन् । यसमा पनि प्रचण्ड, बाबुराम या बादल जो बनाउने हो पार्टीले निर्णय गर्ने कुरा हो । यदि कांग्रेस र एमालेबाट हुने हो भने एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट रामचन्द्र पौडेल भए राम्रो होला । मेरो कुनै पनि पार्टीप्रति आग्रह वा पूर्वाग्रह छैन । तैपनि लोकतान्त्रिक मान्यतालाई सम्मान गर्ने हो भने माओवादीलाई नेतृत्व गर्न दिनुपर्छ । यदि यो देश प्रयोगशाला नै हो भने माओवादीले एकचोटि बाबुरामलाई नेतृत्व गर्ने अवसर दिँदा हुन्छ ।

युवा आऊन्:

मदनकृष्ण श्रेष्ठ, कलाकार

सहमतिमा सरकार बनाउनुपथ्र्याे त्यो हुन सकेन । त्यसपछि दलहरूले बहुमतको सरकार बनाउने निर्णय गरेका छन् । कसलाई प्रधानमन्त्री बनाउने म कसरी भन्न सक्छु ? त्यो नेताहरूले भन्ने हो । मैले भनेर हुन्छ भने म त नयाँ अनुहार र युवा अनुहार आउनुपर्छ भन्छु । पुरानाको धेरै हेरियो । गगन थापाजस्ता युवा नेता अबको नयाँ प्रधानमन्त्री बन्नुपर्छ ।

बाबुरामलाई अवसर:

रामकृष्ण ढकाल, गायक

एकीकृत नेकपा माओवादीलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिनुपर्छ । माओवादी संविधान सभाको सबैभन्दा ठूलो दल हो । जनताले नेतृत्व गर्ने जिम्मेवारी माओवादीलाई दिएका हुन् । यसो भनिरहँदा मैले कुनै पार्टीको समर्थन गरेको भने होइन । माओवादीभित्र पनि डा.बाबुराम भट्टराईलाई नेतृत्वमा पठाउँदा राम्रो होला । उहाँ बौद्धिक नेता हुनुहुन्छ । देशलाई कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा उहाँसँग राम्रो भिजन छ । त्यसलाई प्रयोग गर्ने अवसर दिनुपर्छ ।

कागलाई बेल:

भुवन के.सी, नायक

जुन पार्टीबाट जो भए पनि उस्तै हो । सबैका कुरा ठूला, कामचाहिँ केही पनि हुन्न । मलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात ।

सहमति होस्:

सुरेन्द्रवीर मालाकार, उद्योगी

अब साउन ५ गते प्रधानमन्त्रीको निर्वाचन त हुँदै छ । तर, कुन दलबाट को उठ्ने भन्ने कुनै आधिकारिक उम्मेदवार घोषणा गरिएको छैन । सकेसम्म सहमतिका आधारमा बनाए राम्रो हुन्छ । बजारको हल्लाका भरमा यही नेता प्रधानमन्त्री बन्न ठीक हुन्छ भन्नु त्यति उपयुक्त नहोला ।

साना दललाई दिए राम्रो:

शर्मिला कार्की, महासचिव एनजिओ फेडरेसन नेपाल

यो, त्यो भनेर म व्यक्ति या पार्टीको नाम लिन सक्दिनँ । नेपाली जनताले सभासद् चुनेको प्रधानमन्त्रीको खेल खेल्नका लागि होइन । प्रधानमन्त्री को बन्ने भन्ने प्रश्न नै होइन, प्रश्न संविधान बन्ने या नबन्ने भन्ने हो । जसले जनमुखी संविधान बनाउन सक्छ, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सक्छ त्यसलाई प्रधानमन्त्री बनाइनुपर्छ । त्यो पनि ठूला तीन दलको सहमतिमा । ठूला दल संविधान निर्माणमा लागेर साना दललाई प्रधानमन्त्री दिए राम्रो हुन्छ ।

siurce:nayapatrika