भक्तपुर, श्रावण २ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्ने निश्चित भएको
दाबी गरेका छन् । आइतबार भक्तपुरको कमविनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग उनकै निवासमा बिहान नौ बजेदेखि एक घण्टासम्म भएको भेटपछि सञ्चाकर्मीसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् ।
आगामी पाँच गते प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा आफूलाई समर्थनका लागि आग्रह गर्न यहाँ आएको उनले बताए ।
बिजुक्छेसँगको भेटघाट सकारात्मक भएको पनि उनले बताए । 'राष्ट्रका समस्याको बारेमा छलफल भयो । बिजुक्छे र हाम्रो पार्टीको कुरा एउटै लाग्यो ।' उनले भने ।
बिजुक्छे नीतिमा आधारित कुरा गर्ने भएकाले कार्यक्रम हेरेर मात्रै सहयोग र समर्थन गर्ने आश्वासन पाएको उनले जानकारी दिए ।
पार्टीले आफ्नो धारणा समेटेर कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले बताए । कांग्रेसले ल्याउन लागेको कार्यक्रममा मुलुकलाई सुशासन र शान्ति दिने तथा लोकतान्त्रिक संविधान निर्माणलाई प्राथामिकतामा राखिने उनले बताए । उनले भने, 'खासगरी कृषिलाई प्राथमिकता दिन्छौ ।'
भेटमा नीतिगत र देशको समस्याका बारेमा छलफल गरेको पौडेलले बताए । उनले भने, 'कता कता मेरो मनको कुरा उहाँले बोल्नु भएको र उहाँको मनको कुरा मैले गरेको जस्तो लाग्यो ।'
नेमकिपाले उठाउदै आएको १८ बुदे मागमा आफू पनि सकरात्मक रहेको उनले बताए ।
बिजुक्छेलाई भेटनु अघि पौडेलले बालकोटस्थित एमाले नेता केपी ओलीलाई निवासमा गएर भेट गरेका थिए । भेटपछि बिजुक्छेले सरकारको समर्थन र बिरोध कार्यक्रमको आधारमा हुने बताए । 'समथर्नका लागि कार्यक्रम माग्यौ, कार्यक्रम नभएकाले समर्थनको बचन दिन सकेनौ ।'
वन विनाश बढेको तथा समयमा मलको आपूर्ति हुन नसकेको र अपराध बढेकोप्रति ध्यानाकर्षण गराउदै बिजुक्छेले जनतालाई दिने राहत कार्यक्रममा बिषयमा कुराकानी गरेको जानकारी दिए ।
मुलुकमा हुने हरेक अपराधका घटनामा माओबादीको संलग्नता हुने गरेको उनले आरोप लगाए । पौडेलसँगको भनाइ उद्धृत गर्दै उनले भने, 'अब तपाईहरुको सरकार आउने हो भने माओबादीसंग सुरक्षाको बिषयमा कुरा गर्नु पर्छ । अनि मात्रै जनतालाई राहत दिन सकिन्छ भनेको छु,' । भेटवार्तामा कांग्रेसको तर्फबाट पौडेल संगै उपसभापति प्रकाशमान सिंह थिए भने नेमकिपाको तर्फबाट अध्यक्ष बिजुक्छे केन्द्रीय सदस्य प्रेम सुवाल र कोषाध्यक्ष चैत्यराज शाक्य थिए ।
source:kantipur