'प्रधानमन्त्रीमा दाबी गर्ने आधार छैन' :

काठमाडौ, श्रावण २ - एमाले नेता केपी ओलीले पार्टीले निर्णय गरिनसकेकाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको दाबी गर्ने
कुनै आधार नभएको बताएका छन् । उनले भने, 'संस्थागत निर्णय बिना मलाइ समर्थन गर्नुस भन्नुको कुनै अर्थ छैन् ।'
कांग्रेसबाट प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलसँग आइतबार आफ्नै निवासमा भेटेपछि रेडियो कान्तिपुरसँग कुरा गर्दै केन्द्रीय कमिटीले नयाँ सरकारको स्वरुप र त्यसमा पार्टीको दावीबारे कुनै निर्णय नगरेकाले ब्यक्तिगत इच्छाले कुनै महत्व नराख्ने बताए ।
'संस्थागत रुपमा निर्णय छैन, त्यसैले प्रधानमन्त्रीमा दावी गर्दै हिड्नुको आधार छैन', उनले भने, 'केन्द्रीय कमिटीले निर्णय नगरेकाले अहिलेनै कुनै आधार छैन् ।'
उनले सरकारलाई समर्थन, सहभागिता र समिकरण हेरेर मात्र त्यसबारे निर्णय गर्नु उपयुक्त हुने बताए ।
'केन्द्रीय कमिटीको निर्णय भन्दा अगाडी कसको मनमा के इच्छा छ, त्यो ब्यक्तिगत हो । कसैले कसैलाई मन पराएर फलानो हुनुपर्छ भनेको होला', उनले भने, 'त्यस्तो न त संस्थागत निर्णय छ न अध्यक्षनै प्रधानमन्त्री हुने कुनै परम्परा छ ।'
उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय सहमति निर्माणका लागि भन्दै राजीनामा दिन भनिएकाले त्यो अवस्था नआइ नेतृत्वको दावी गर्न नसुहाउने बताए ।
'के कारणले हिजो माधव जी लाई राजीनामा गर्न भनियो । के कारणले फेरी लिडरसीपको दाबी गरिन्छ,' उनले भने, 'राष्ट्रिय सहमति नबने आफ्नो बिष्लेषण निराधार, गलत, भ्रमपूर्ण वा धोखापूर्ण रह्यो भन्ने मान्नुपर्‍यो ।'
उनले कांग्रेस नेता पौडेलले एमालेले नेतृत्व गरेको सरकारलाई आफूहरुको अन्तिमसम्म पूर्ण सर्मथन रहेको भन्दै सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।
'कांग्रेसले कहिल्यै एमालेको नेतृत्वको सरकारसँग राजीनामा मागेन । बोरु एमालेभित्रैबाट राजीनामा माग भयो', पौडेलेको भनाइ उद्धृत गर्दै उनले भने, 'माओवादीको नेतृत्वको सरकारको सम्भावना नरहेकाले अब हामीलाई सहयोग गर्नुस ।'

source:kantipur