काठमाडौ, श्रावण १४ - एमाले अध्यक्ष झलनाथ खनालद्वारा राष्ट्रिय सहमतिको लागि गरेको आग्रह माओवादी र कांग्रेस दुवै पार्टीले अस्वीकार
गरेका छन् ।
बहुमतीय सरकारबाट शान्ति र संविधान निर्माण हुन नसक्ने भन्दै राष्ट्रिय सहमतिको लागि उम्मेदवारी फिर्ता लिन खनालले गरेको लिखित आग्रह दुवै दलले निर्वाचन प्रकृया अघि बढिसकेको उल्लेख गर्दै अस्वीकार गरेका हुन् । माओवादी प्रवक्ता दिननाथ शर्मा र कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले खनालको आग्रह स्वीकार गर्न नसकिने उल्लेख गरेका हुन् ।
प्रधानमन्त्रीको तेस्रो चरणको निर्वाचन यही साउन १७ गते हुँदैछ । एमालेले बहुमतीय सरकारको निर्वाचन भाग नलिने भन्दै तटस्थ बसेपछि यसअघिको दुई वटा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत जुटाउन सकेनन् ।
माओवादी प्रवक्ता शर्माले पार्टी अध्यक्ष दाहाललाई प्रधानमन्त्री स्वीकार गरी कांग्रेसका उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता लिएमा मात्र सहमतिको लागि तयार हुने उल्लेख गरे । केसीले भने निर्वाचन प्रकृया अघि बढिसकेको उल्लेख गर्दै सहमतिको लागि समय नभएको उल्लेख गरेका हुन् ।
खनालले शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको उल्लेख गर्दै बिहीबार संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्र पठाएका थिए ।
source:kantipur