टाट पल्टिएको बैँकमा जम्मा भएको सर्वसाधारणको पैसा आज फिर्ता दिइने :

काठमाडौँ, साउन १४ - नेपाल राष्ट्र बैँकले खारेजी प्रक्रियामा लगेको नेपाल विकास बैँकमा रकम जम्मा गर्ने
साना निक्षेपकर्ताहरुको रकम आज दिउँसो २ बजेदेखि फिर्ता गरिँदैछ। पुनरावेदन अदालत पाटनको एक वर्षअघिको आदेश अनुसार सानो रकम जम्मा गर्ने सर्वसाधारण र संघसंस्थाहरुको निक्षेप फिर्ता गर्न लागिएको हो।

नेपाल विकास बैँक लिक्विडेटरको कार्यालय, हेरिटेज प्लाजा, कमलादीमा राष्ट्र बैँकका गभर्नर वीरविक्रम रायमाझीले निक्षेपकर्ताहरुलाई चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको सो बैँकका लिक्विडेटर नारायण बजाजले जनाएका छन्।

नेपाल सहकारीमा रहेको सो बैंकको ९ करोड रूपैयाँ साना निक्षेपकर्तालाई फिर्ता गर्न पुनरावेदन अदालतका न्यायाधिश दिनेश कार्की र मोहनप्रकाश घिमिरेको इजलासले गत वर्ष साउन १४ गते आदेश दिएको थियो।

यो बैंकमा तीनहजार सर्वसाधारणको २१ करोड रुपैयाँ निक्षेप छ । उनीहरुले बढी ब्याज दिने र टेलिभिजन उपहार पाइने आशामा निक्षेप जम्मा गरेका थिए । झण्डै तीन वर्ष अघि नै राष्ट्र बैंकले यो बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । यो बैंकको कुल नोक्सानी ६८ करोड ८६ लाख रुपैयाँ थियो।

बैंक खारेजीमा लैजाने निर्णयसँगै ठूला निक्षेपकर्ताहरु कर्मचारी सञ्चय कोष र नेपाली सेनाको कल्याणकारी कोषले आफूले पहिलो प्राथमिकता पाउनुपर्ने दाबी गर्दै आएका थिए। सञ्चय कोषको ३३ करोड र सेनाको कल्याणकारी कोषको १८ करोड रुपैयाँ बैंकमा छ।

source:nagarik