लिटिल बुद्ध' का रूपमा चिनिएका तपस्वी रामबहादुर बम्जनले २४ घन्टा नियन्त्रणमा लिएर १७ जना
सर्वसाधारणलाई कुटपिट गरेका छन् । उनले बाराको रतनपुरी जंगल क्षेत्रमा साग खोज्न गएका सर्वसाधारणलाई निर्घात कुटपिट गरेका हुन् ।
गढीमाई मेलामा पशुबली किन दिएको भन्दै बम्जनले कुटपिट गरेको पीडितले बताएका छन् । उनको कुटाइबाट मनहर्वा गाविस- ५, ६ र ७ का चौधरी थरका देवनाथ, प्रह्लाद, प्रदेशी, हरि, चैत, सुनेसी, सन्तु तथा राजमन माझी, समफुल माझीलगायत घाइते भएका छन् । उनीहरूले बम्जनविरुद्ध संयुक्त रूपमा प्रहरीचौकी जैतापुरमा उजुरी दिएका छन् ।
पीडितका अनुसार जंगलमा साग खोज्दै गर्दा भेटिएका बम्जनले 'तिमीहरू किन आयौ ? तिमीहरूलाई कसले पठाएको हो ? गढीमाई मेलामा बोका लगेर काट्ने तिमीहरू नै होइनौ ?' भन्दै कुटपिट गरेका थिए ।
मनवहर्वाका सर्वसाधारण वनमा पाइने पिडारको साग खोज्न ६ साउनमा रतनपुरी जंगल गएका हुन् । बम्जनको तपस्यास्थलनजिकै पुगेपछि उनी आफैँले बोलाएर नजिकैको घरमा लगेर बन्दक बनाएको पीडित देवनाथ चौधरीले बताए । 'हामी तरकारी खोज्न गएका वेलामा बम्जनले पहिला बोलाएर नजिकैको घरमा पुर्याए,' उनले भने, 'छिट्टै छोड्लान्जस्तो लागेको थियो, तर २४ घन्टा थुनेर निर्घात कुटपिट गरे ।' बिहीबार लगेर शुक्रबार दिउँसो मात्र बम्जनले छोडेको उनले बताए । उनका अनुसार बम्जनले दाउराले सबैलाई कुटपिट गरेका थिए ।
अर्का पीडित मनहर्वा-६ का प्रह्लाद चौधरीले टाउको हात र पिठ्युँको चोट देखाउँदै भने, 'हाम्रो मोबाइलसमेत खोसेर कुटपिट गरे ।' उनका अनुसार अधिकांश घाइतेको टाउको, हात र पिठ्युँमा चोट लागेको छ ।
जैतापुर प्रहरीका प्रमुख असइ भीष्मकुमार लम्सालले बम्जनले कुटपिट गरेको भन्दै सर्वसाधारणले कारबाहीको मागसहित उजुरी दिएको बताए । 'उनीहरूलाई चोट लागेको पनि देखिएको छ,' उनले भने, 'अनुसन्धान भइरहेकाले बम्जनले नै कुटेको हो भन्ने प्रमाणित भइसकेको छैन ।'
यसअघि पनि तपस्वी बम्जनले तपस्यास्थलमा पुगेका सर्वसाधारणलाई कुटपिट तथा तरबार प्रहार गरेका थिए । पाँच वर्षदेखि तपस्यामा बसेका उनका बारेमा प्रशासनले सत्यतथ्य जानकारी नगराएका कारण दुःख पाएको सर्वसाधारणको गुनासो छ ।
source:nayapatrika