बुटवल/ लुम्बिनी प्रवेशद्वारका रूपमा रहेको भैरहवामा नान्स रिसोर्ट स्थापना गरिएको छ । भदौ दोस्रो सातासम्म सञ्चालनमा आउने रिसोर्ट झन्डै १८ करोड लागतमा निर्माण भएको हो ।
स्थलमार्ग हुँदै विदेशी पर्यटक नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो मार्गका रूपमा लुम्बिनी क्षेत्रमा भैरहवाका व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले रिसोर्ट निर्माण गरेका हुन् । नारायणी पश्चिमको उत्कृष्ट होटल तथा रिसोर्टका रूपमा रहने दाबी श्रेष्ठको छ । रियल स्टेटलगायत व्यवसाय गर्दै आएका युवा उद्यमी श्रेष्ठले १२ करोडमा रिसोर्ट निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि विभिन्न समयमा भएका बन्द-हडतालका कारण निर्माण अवधि लम्बिँदा तथा सामग्ा्री मूल्य बढ्नु र गुणस्तरीय सामग्री प्रयोग तथा पाँचतारे होटलका सुविधा थप्दा लागतमा वृद्धि भएको जानकारी दिए ।
भैरहवाको देवकोटाचोकनजिकै सिमानाका बेलहिया जाने सिद्धार्थ राजमार्गछेउमा ६ कठ्ठा ३ धुर क्षेत्रफलमा निर्माण भएको रिसोर्टमा एकैपटक ९० पाहुना बस्न सक्नेछन् । रिसोर्टमा कुल ४० कोठा रहेकामा सबै वातानुकूलित छन् । २० जनासम्मको मिटिङ गर्न सकिने सुविधासम्पन्न दुइटा भिआइपी कोठा (स्विटरुम) समेत रहेका छन् ।
रिसोर्टमा स्विमिङपुल, बाथ, स्टिमबाथ, ज्याकुजी स्पा व्यायामशाला, लिप\mटलगायत आधुनिक सुविधा उपलब्ध हुनेछन् । रिसोर्टमा दुई सयसम्म अट्ने सुविधासम्पन्न कन्प|mेन्स हलसमेत निर्माण गरिएको छ । रिसोर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका प्लेन टिकट, रेल रिजर्भेसन तथा टिकट बुकिङसमेत गरिने बताइएको छ ।
विदेशी तथा भारतीय पर्यटकलाई लक्षित गरेर रिसोर्ट बनाइए पनि स्वदेशी आन्तरिक पर्यटकलाई सुविधा पहँुच उपलब्ध गराउन कोठा तथा अन्य मूल्य कायम गर्ने सोचअनुरूप विदेशीलाई प्रतिकोठा ७५ अमेरिकी डलरसम्म र स्वदेशीका लागि प्रतिकोठा दुई हजार (मुअकबाहेक) कायम गरिने सञ्चालक श्रेष्ठले बताए ।
नेपालमा पर्यटनको प्रशस्त सम्भावना रहेको र लुम्बिनी क्षेत्रमा थप पर्यटक आकषिर्त गर्न रिसोर्ट निर्माण गरिएको श्रेष्ठ बताउँछन् । नान्स रिसोर्ट पश्चिम क्षेत्रकै उत्कृष्ट हुने उनको दाबी छ । सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०११ का क्रममा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक लुम्बिनी आउँदा स्तरीय बसोबास थलोको नान्स रिसोर्टलाई सम्झनेगरी निर्माण गरिएको उनको भनाइ छ ।
रिसोर्ट सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारत सिमानाका बेलहिया (भैरहवा) मा समेत दीपप्रकाश इन्टरनेसनलनामक पाँचतारे होटल निर्माण प्रक्रिया अगाडि बढाइसकेको बताए । दुई बिघा क्षेत्रफलमा बन्ने पाँचतारे होटलमा ८५ कोठा र दुई सय पाहुना अट्न सक्ने क्षमताको, भारतीय पर्यटकलाई आकषिर्त गर्न क्यासिनोसमेत सञ्चालन गरिने सो क्यासिनो ०६९ भित्र निर्माण भइसक्ने श्रेष्ठले जानकारी दिए । सरकारले पर्यटकीय विकासका निम्ति निर्माण गरिएका होटल, लजका लागि विभिन्न छुट दिने बताए पनि बेवास्ता गरेको उनको गुनासो छ ।
पर्यटकलाई लक्षित गरी करोडौँ खर्च गरी होटल, रिसोर्ट निर्माण गर्दा भारतलगायत तेस्रो मुलुकबाट निर्माण तथा अन्य सामग्री ल्याउँदा छुट सुविधा पाउन नसकेको उनले बताए । सरकारले पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीलाई उत्साही गर्न सेवा-सुविधा तथा होटल, रिसोर्टमा प्रयोग हुने सामग्रीमा भन्सार सुविधा तथा छुट व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
source:nayapatrika