यो दुनियाँको कुनै माइकालालले एमाले केन्द्रीय कमिटीमा झलनाथ खनाल अल्पमतमा छ भनेर सावित गर्छ भने म त्यही दिन राजीनामा दिन्छु :

दुई ठाउँबाट हारेकालाई प्रधानमन्त्री बनाउने हिम्मत मैले गरेँ  :झलनाथ खनाल :
(भाग्यको खेल भनेको पनि सायद यही हो, संविधानसभाको चुनावमा
दुई-दुई ठाउँबाट हारेका र पार्टी पराजित भएकोमा नैतिक जिम्मेवारी लिँदै महासचिवबाट समेत राजीनामा दिने माधवकुमार नेपाल देशको प्रधानमन्त्री भए, तर संविधानसभा चुनावमा विजयी, एमाले संसदीय दलबाट नेतामा निर्वाचित र व्यवस्थापिका संसद्का झन्डै-झन्डै दुईतिहाइ बहुमत भएर पनि केही मत नपुगेको भनेर प्रधानमन्त्री पदको उम्मेदवारबाट फिर्ता गरिए झलनाथ खनाल । यो सब कसरी भयो, साझा सवालका लागि हामीसँग हुनुहुन्छ एमाले अध्यक्ष झलनाथ खनाल-रवीन्द्र मिश्र)

प्रधानमन्त्री चयन गर्न तपाईं संसद्को बैठकमा बस्दाखेरि टेलिभिजनमा आएको तपाईंको अनुहार हेर्नुभएको भए तपाईं एकदम दुःखी देखिनुहुन्थ्यो आँखाबाट आँसु झर्लाजस्तै, रुनै लागेजस्तै देखिएको थियो । कस्तो लागेको थियो तपाईंलाई ?

यो हेर्ने मान्छेको नजरिया हुन सक्छ । त्यतिखेर यो देशमा राष्ट्रिय सहमति निर्माण गर्नका लागि हामीले अरू दुई घन्टा टाइम लिन पाएनौँ । तपाईंले देख्नु भो ७ गते पनि प्रधानमन्त्रीको चुनाव भयो । चुनाव बिहान ११ बजे हुनुपर्ने, राति सात बजे भयो । तर, मेरोपालामा दुई बजे हुनुपर्ने दुई बजे नै सुरु भयो । दुई बजे नै सुरु गर्दा पनि झन्डै दुईतिहाइ बहुमत आयो ।

त्यसमा तपाईंहरूको आन्तरिक खिचातानी होला, त्यो कुरामा हामी पछि आउँला, तर, तपाईंले जहिले पनि माधवकुमार नेपालले राजीनामा दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्छ भन्नुभयो । तर, माधव नेपालले राजीनामा दिएपछि राष्ट्रिय सहमतिको सरकार बनेन । अझ अहिले त सरकार नै नभएको गम्भीर अवस्थामा गुजि्ररहेको छ, यसलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

मलाई अहिले पनि विश्वास छ कि फेरि पनि राष्ट्रिय सहमतिको सरकार बन्छ र त्यो सरकार बनाउन मिहिनेत गर्नुपर्छ । नेकपा एमालेले त्यो मिहिनेत गर्दै छ, त्याग गर्दै छ । त्यसैगरी अरू पार्टी पनि राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ । राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ, राष्ट्रिय सहमतिको सरकार नबनाउनुको अर्थ के हुन्छ भने शान्ति र संविधान हुँदैन ।

कहिलेसम्म बन्छ त ?

अहिले नै हाम्रासामु अवसर छन् । अवसरबाट हामी वञ्चित भएका छैनौँ । त्यो अवसरलाई चिन्न, बुझ्न र उपयोग गर्न सक्नुपर्छ । अब १७ गतेसम्म जुन चुनावको अवधि छ यसबीचमा पनि सहमतिका सम्भावना छन् । यो समय पनि अनमोल छ र मैले सबै राजनीतिक पार्टीका नेताहरूलाई हार्दिक रूपमा आग्रह गरिरहेको छु हामी खालि कुर्सी र पदको मोहमा नफसौँ । हामी सिंहदरबारमा प्रधानमन्त्री भएँ भन्ने नक्सा झुन्ड्याउने मोहमा नफसौँ ।

यो त सुन्दा आदर्शवादी कुरा भयो । तर, संसदीय राजनीतिमा निश्चतै रूपमा बहुमतीय प्रतिस्पर्धा हुन्छ, त्यसमा तपाईंहरूले सहमति जनाउँदा के हुन्छ ?

हामी पूर्णरूपले संसदीय व्यवस्थामा गएका छैनौँ । हामी अहिले संक्रमणकालमा छौँ, संसदीय राजनीति र संसदीय व्यवस्थामा गइसकेका छैनौँ । कस्तो व्यवस्थामा जाने भन्ने संविधान बनाउने अवस्थामा छौँ । अब बन्ने संविधानले भन्छ- देशमा संसदीय राजनीति हुन्छ कि राष्ट्रपतीय शासन-प्रणाली हुन्छ कि कस्तो राजनीतिक प्रणाली रहन्छ । कस्तो पद्धतिवाट देश अगाडि जान्छ भन्ने कुरा टुंगोमा पुगेको छैन । हामी यो संक्रमणकालमा छौँ भन्ने कुरा बुझेर नेपालका राजनीतिक शक्तिहरूले अगाडि बढ्नुपर्छ ।

अहिलेको काम चलाउ सरकार कहिलेसम्म कायम रहन्छ ?

काम चलाउ भनेको कुरा नै एउटा क्षणिक अवधिका लागि हो । यो जति लम्बिन्छ देश त्यति दुर्भाग्यतिर जान्छ । यो कुरा झलनाथ खनालले मात्र बुझेर हँुदैन, यो कुरा सुशील कोइराला र प्रचण्डले पनि बुझ्नुपर्‍यो । देशका राजनेताले बुझ्नुपर्‍यो । अनि हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ ।

अबको चुनाव हुँदा एमालेको भूमिका के हुन्छ ?

हामी राष्ट्रिय सहमतिमा सबैलाई अगाडि बढ्नका लागि सहमतिको ढोका खोलेर बस्छौँ । अहिलेको अवस्थामा हाम्रो केन्द्रीय कमिटीले जुन निर्णय गरेको छ त्यस आधारमा हाम्रो तटस्थता कायम रहन्छ, यदि चुनाव भइनै हाल्यो भने । तर, चुनाव हुनुभन्दा अगाडि नै हामी सहमतिमा पुर्‍याउन आफ्नोतर्फबाट भूमिका खेल्छौँ ।

तटस्थ रहने कहिलेसम्म ? यही काम चलाउ सरकार कायम रहन दिने ?

त्यो निर्वाचनको प्रक्रियाबाट बहुमतीय सरकार बनाउनुको अर्थ देशलाई मृत्युकुण्डतिर पठाउने कुरा हो । किन देशलाई मृत्युकुण्डतिर पठाउन हतारिनुपर्‍यो ? राजनीतिक शक्तिहरू किन हतारिएका छन् ?

सहमति बन्ने स्थिति थिएन भने माधवकुमार नेपाललाई राजीनामा दिनुपर्छ-राजीनामा दिनुपर्छ किन भनेको ?

हाम्रो पार्टी सहमति हुदैन भन्ने टुंगोमा कहिल्यै पुगेन । सहमतिको सम्भावना जहिले पनि हुन्छ, अहिले पनि छ । राजनीतिक पार्टीहरूले घुँडा धसेर त्यसमा प्रयत्न गर्नुपर्छ । यो देशका आमजनता सहमति चाहन्छन्, सिंगो अन्तर्राष्ट्रिय जगत् सहमति गर भनिरहेको छ । प्रवासमा रहेका बीसौँ लाख नेपाली सहमति गर भनिरहेका छन्, हामी किन गर्न सकिरहेका छैनौँ ? कुन पार्टीको कुन व्यक्तिको निहित स्वार्थका कारण हुन सकिरहेको छैन । त्यो प्रश्नमाथि हामीले छलफल गर्नुपर्छ । नेपाली जनताले आवश्यक पर्‍यो भने आन्दोलन गर्नुपर्छ । मुलुकलाई सहमतिमा ल्याएर छोड्नुपर्छ ।

दुई ठाउँमा हारेको प्रधानमन्त्री बनेकोभन्दा तपाईं दुईतिहाइ आएको व्यक्ति किन प्रधानमन्त्री बन्नुभएन ? फिर्ता किन लिनुभयो ?

हाम्रो पार्टीले के निर्णय गरेको थियो भने हामीले चार सय एक सभासद्को हस्ताक्षरसहितको लिखित समर्थन प्राप्त भयो भने नेकपा एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिनुपर्छ भन्ने कुरा आयो । मैले त्यो कुरालाई पार्टीभित्र स्वीकार गरँ । बहुमतीय ढाँचाबाट अगाडि बढ्यो भने यो मुलुक पार लाग्न सक्दैन भन्ने थियो ।

पार्टीभित्र चार सय एकको समर्थन रह्यो भने मात्र तपाईं प्रधानमन्त्री हुने भन्ने कुरा कहाँबाट आयो ? तपाईंबाट हो कि अरूबाट ?

यो केन्द्रीय कमिटीबाटै आयो, त्यसरी व्यक्तिको नाम नलिऊँ ।

केपी ओलीसँग कुरा हुँदा त तपाईंले राखेको भन्नुहुन्छ नि ?

बिल्कुल गलत कुरा हो । केन्द्रीय कमिटीले राख्यो, त्यसलाई मैले स्वीकृति दिएँ । केन्द्रीय कमिटीमा एकमतले पारित गरेको कुरा हो यो ।

तपाईंको इच्छाचाहिँ बहुमतै मात्रै आए पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने थियो ?

त्यसो पनि होइन, हामी राष्ट्रिय सहमतिमा जाऊँ भन्ने हो । सुरुदेखि म निरन्तर राष्ट्रिय सहमतिको प्रवक्ता हुँ । राष्ट्रिय सहमतिविना मुलुक अग्रगतिमा जान सक्दैन भन्ने मेरो दृढविश्वासका आधारमा पार्टीले ल ठीक छ, चार सय एकको प्रयत्न गर्नुपर्छ, राष्ट्रिय सहमतिको मार्गप्रशस्त गर्नुपर्छ भनेर स्वीकार गरेको हो । तर, त्यो पुगेन, नपुगेपछि स्वाभाविक रूपमा फिर्ता लिएर हामीले के प्रदर्शन गरेका छौँ भने हामी चार सय एक मात्र होइन छ सय एककै सहमति बनाऊँ । यसो गरेर हामीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सन्देश दिएका छौँ । बनाउन पनि सकिन्छ असम्भव कुरा होइन । यदि शान्ति र संविधानको इच्छाशक्ति हामीसँग छ भने ।

ए त्यो नभएसम्म माधवकुमार नेपालकै सरकार कायम रहन्छ ?

राष्ट्रिय सहमित हासिल नभएसम्म के हुन्छ भन्नेबारेमा राजनीतिक पार्टीहरूबीच छलफल गर्नैपर्ने हुन्छ । केयरटेकर सरकार त अर्का नबनुन्जेलसम्म रहने नै भयो ।

सामान्यतया कम्युनिस्ट पार्टीमा अध्यक्ष शक्तिशाली हुने गर्छन्, तर, तपाईं दलभित्र निरीह हुनुहुन्छ भन्छन् नि ?

बिल्कुलै होइन । नेकपा एमाले आठौँ राष्ट्रिय महाधिवेशनको निर्णयलाई लागू गर्ने कुरामा दृढतापूर्वक अगाडि बढेको छ । स्वाभाविक रूपमा हाम्रो पार्टीभित्र पनि केही समस्याहरू देखापरेका छन् । यो कुरालाई म स्वीकार गर्छु । ती समस्याले कतिपय बाधा-व्यवधान खडा गरेका छन् । तर, बाधा-व्यवधान हटाउँदै व्यवस्थापन गर्दै एमाले दृढतापूर्वक अगाडि बढेको छ । यसकारण अहिले राष्ट्रिय सहमति निर्माण गर्ने कुरामा पनि नेकपा एमाले खम्बा बनेको छ ।

अघि तपाईंले मतदानका वेला मलाई दुई घन्टा समय दिइएन भन्नुभो, दुई घन्टा पाएको भए सरकार बनाएर देखाउँथेँ भन्नुभयो, दुई घन्टा समय पनि नपाउनुको कारण के थियो त ?

त्योचाहिँ संविधानसभाभित्रको व्यवस्थापनको कुरा भयो । यो व्यवस्थापनमा एउटा पार्टीको मात्र कुरा भएन ।

अघि अरूको पालामा भएको चुनावमा समय ढिलो हुँदा पनि भयो, मेरो पालामा भएन त भन्नुभयो नि ?

त्योचाहिँ बाहिर सबैले थाहा पाएको कुरा हो । म संविधानसभाभित्र जाँदाखेरि पहिलो उम्मेदवारका प्रस्तावकले आधा काम सकिसकेका थिए । त्यहाँ पर्खने धैर्यता भएन । त्यो धैर्यता नभएको कुरालाई मैले पार्टीभित्र इंगित गरेको छैन । त्यहाँभित्र विभिन्न पार्टी थिए । विभिन्न पार्टीहरूलाई मैले बाहिरैबाट अनुरोध गरेँ । तर, त्यहाँ अनुरोध गर्नसम्म पुग्न सकिएन ।

त्यसो भए माधवकुमार नेपालले किन भन्नुभयो त मलाई आफ्नै पार्टीबाट असहयोग भयो ?

मलाई थाहा छैन उहाँले किन भन्नुभयो, यो माधवकुमार नेपाललाई नै गएर सोध्नुपर्छ । तर, नेकपा एमालेले उहाँलाई निरन्तर रूपमा सहयोग गरिरहेको हो । अझ राष्ट्रिय सहमतिको दिशातिर अगाडि बढ्न सहयोग गरिरहेको हो ।

तपाईं संसदीय दलको नेता हुनुहुन्थ्यो, संविधानसभाको चुनाव जित्नुभएको थियो, पार्टी अध्यक्षको चुनाव जित्नुभएको थियो, यति हुँदाहुँदै पनि आफू प्रधानमन्त्री नभएर चुनाव हारेको मान्छेलाई ल्याएर प्रधानमन्त्री बनाउँदाखेरि भित्र मन दुखेको अभिव्यक्ति त होइन ?

बिल्कुलै होइन, योचाहिँ के अभिव्यक्ति हो भन्दाखेरि नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल आमरूपमा राष्ट्रिय सहमति मात्र होइन पार्टीभित्र पनि सहमति चाहन्छ । दुई-दुई ठाउँमा हारेको साथीलाई संविधानसभाको सदस्य बनाएरसमेत प्रधानमन्त्री बनाउने क्षमता राख्छ यो झलनाथ खनाल । यो सहमतिका लागि हो, यो अग्रगमनका लागि हो । अहिले मैले जसरी तीन सय एकानब्बे पाउँदा मैले छोडेको छु यिनै शृंखलाहरू मिलेर यो सबै गरेको हुँ ।

त्यसो होइन भने केपी ओली र माधवकुमार नेपालले शान्ति र संविधानको अभिव्यक्ति किन नसुन्नुभएको होला त ?

सुन्ने र नसुन्ने काम कतिपयले गरिरहनुभएको छ, त्यो कुरा हाम्रै पार्टीभित्र छलफल गरौँला । तर, कुनै पनि व्यक्ति उहाँहरूले मात्र होइन जसकसैले पनि बाटो देखाउनुपर्‍यो राष्ट्रिय सहमतिको विकल्प के छ भनेर । शान्ति र संविधान बनाउने बाटो के त ? अहिले नै हामीले भन्नुपर्‍यो- हामी कमजोर साँधमा उभिएका छौँ । शान्ति र संविधानतर्फ जाने हो भने राष्ट्रिय सहमति अपरिहार्य छ, दुर्घटना र अधोगतितिर जाने हो भने बहुमतीय ढाँचामा गए पनि भयो ।

तपाईंले तीन सय एकानब्बे सांसदको हस्ताक्षर जुटाउनुभयो, माओवादीले पनि तपाईंलाई अगाडि बढाए । कांग्रेस पनि टाढाको पार्टी होइन, सहमति गर्न सक्थ्यो, सहमतीय सरकार बन्ने अवस्था हुँदाहुँदै पनि तपाईंकै साथीहरूले असहयोग गरेको देखियो, यसरी हेर्दा त तपाईंहरूभित्र ठूलै समस्या छ भन्ने देखिन्छ नि ?

यस्ता खालका समस्या छन् भन्ने प्रतिविम्ब विभिन्न ठाउँमा देखियो । त्यो प्रतिविम्बलाई कहाँसम्म के-के क्रियाहरूको यथार्थको प्रतिविम्ब हो हेर्नुपर्छ । विभिन्न पार्टीभित्र र आफैंभित्र हेर्नुपर्छ । हामीभित्र समस्या छन् भने हामी पार्टीभित्र हेर्छां । पार्टीभित्र समीक्षा होला, त्यसवेलाका घटनाक्रमहरूबारे सबै कमरेडले अध्ययन गर्नुहोला । के ठीक थियो, के बेठीक, कसरी घटनाक्रम अगाडि बढे भन्ने कुराहरू म यो मञ्चबाट धेरै टिप्पणी गर्न आवश्यक ठान्दिनँ ।

तपाईंकै पार्टीका उपाध्यक्ष विद्या भण्डारीले कांग्रेस-एमालेको पुरानै गठबन्धन रह्यो भने नयाँ प्रधानमन्त्री हुन सक्छ, नभए यही सरकारले निरन्तरता पाउँछ भन्नुभएको छ, यो एमालेको आधिकारिक धारणा हो ?

जबसम्म नयाँ सरकार बन्दैन तबसम्म स्वाभाविक रूपले यो काम चलाउ सरकार रहन्छ । केही लामो हुन सक्छ केही छोटो हुन सक्छ । तर, राजीनामा दिइसकेपछि त्यही सरकारले निरन्तरता पाउँछ भन्ने कुरा संविधानमा कहीँ छैन । यो कुरा सम्भव पनि छैन । त्यसो गर्नु पनि हुँदैन । त्यो प्रजातान्त्रिक पनि हुँदैन । सरकार नयाँ ढंगले बनाउनु अनिवार्य छ र बहुमतीय ढाँचाले त सम्भव छँदै छैन । एमाले अब बहुमतीय ढाँचाबाट अगाडि जान तयार छैन ।

केपी ओलीले के भन्नुभएको छ भने अन्य पार्टीको मागबमोजिम माओवादीले आफूलाई उभ्याएन र अन्य पार्टीका माग पूरा गरेन भने कांग्रेसलाई समर्थन गर्नुपर्ने कुरा गरिरहनुभएको छ नि ?

यो उहाँको निजी विचारको कुरा हो । तर, म एमालेको तर्फबाट के भन्न चाहन्छु भने नेकपा एमाले यो कालखण्डमा राष्ट्रिय सहमति बनाउन सकियो शान्ति र संविधान बन्यो, सहमति बनेन भने शान्ति र संविधान बन्दैन भन्ने निष्कर्षमा छ । त्यसकारण शान्ति र संविधान नबनाउने र मुलुकलाई दुर्घटनातिर लाने कुरामा एमाले सहमत हुन सक्दैन ।

तपाईंले यसो त भन्नुभो तर, तपाईंको केन्द्रीय कमिटीमा तपाईंको बहुमत छैन भनेर भन्छन् अनि अरूको कुरा हावी होला नि ?

म यो दुनियाँमा कुनै माइकालाल छ जसले नेकपा एमाले केन्द्रीय कमिटीमा झलनाथ खनाल अल्पमतमा छ भनेर सावित गर्छ भने म त्यही दिन राजीनामा दिन्छु । यो मेरो चुनौती हो ।

तर, अर्का चुनावसम्म एमालेले के निर्णय गर्छ ? कांग्रेस वा माओवादीलाई मतदान गर्ने निर्णय गर्छ कि के गर्छ त ?

१७ गते एमाले आफ्नो अडानमा चट्टानझैं उभिन्छ ।

अनि १७ गतेपछि ?

जब बहुमतीय प्रक्रिया र तरिकाले मुलुकलाई निकास दिन सक्दैन त्यो तरिका र प्रक्रिया पनि यथास्थितिवादी भएको र अग्रगतितर्फ लान नसक्ने भएको सावित हुन्छ । स्वाभाविक रूपले त्यसलाई फेर्न प्रयत्न गर्छाैं । नियमावलीमा पुनर्विचार गरौँ भनेका थियौँ, मलाई खुसी पनि लागेको छ बाबुराम भट्टराईले यो विचारलाई समर्थन गर्नुभएको रहेछ । अब कांग्रेसका नेताहरूले पनि फराकिलो दृष्टिकोण राख्नुहुन्छ, उहाँहरू पनि राष्ट्रिय सहमतिको यो बाटोमा आउनुहुन्छ ।

तपाईंको माओवादी पार्टीप्रति अलि नरम दृष्टिकोण हो ?

मेरो माओवादीप्रति न नरम छ न गरम दृष्टिकोण छ । माओवादी संविधानसभाको निर्वाचनमा यो देशको सबैभन्दा ठूलो पार्टीको रूपमा निर्वाचित भएर आएको पार्टी हो । यो यथार्थतालाई स्वीकार गर्नेको नाम हो झलनाथ खनाल । तर, त्यसलाई स्वीकार नगरेर निषेधको राजनीति गर्नुपर्छ भन्ने भाँडभैलो राजनीति हो । त्यो भाँडभैलो राजनीतिको पक्षमा झलनाथ खनाल छैन । तर, माओवादीले अहिले पनि आफ्ना हिंसात्मक राजनीतिलाई नछोडेर हत्या, अपहरण, आक्रमण गर्ने कामको निन्दा र भत्र्सना गर्छु । यो आठौँ महाधिवेशनले पारित गरेको एकता र संघर्षको नीति हो ।

एउटा बिन्दुमा आएर तपाईंहरूले कांग्रेस वा माओवादीलाई समर्थन गर्नुपर्ने स्थिति आयो भने तपाईं व्यक्तिगत रूपमा कसलाई समर्थन गर्नुहुन्छ ?

हामी अहिले यसलाई वा उसलाई भन्दैनौँ । दुवै महत्त्वपूर्ण शक्तिहरू छन्, दुवैलाई मिलाएर लिएर जाने राष्ट्रिय सहमतिको बाटो हो । दुईमध्ये एकातिर जाने बाटो दुर्घटनाको बाटो हो । हामी त्यो बाटो हिँड्दैनौँ । राष्ट्रिय सहमतिको बाटो हिँड्न दुइटै शक्तिलाई मिलाउनुबाहेक अर्का विकल्प छैन ।

(बिबिसी वल्र्डट्रस्टको साझा सवालमा एमाले अध्यक्ष खनालले व्यक्त गरेका विचार)