द्रुतमार्गको लागत थप २० करोड डलर :

काठमाडौं, असार २०- सरकारले निर्माण प्रक्रिया अगाडि बढाएको तराई काठमाडौं द्रुतमार्गको लागत थप २०
करोड डलर लाग्ने अनुमान गरिएको छ। एसियाली विकास बैंक(एडीबी)ले गरेको पछिल्लो अध्ययन अनुसार मार्गको लागत बढ्ने देखिएको हो।

एडीबीले दुई वर्ष अघि गरेको अध्ययन अनुसार यो मार्ग निर्माणको लागि ८० करोड डलर लाग्ने अनुमान गरेको थियो। पछिल्लो अध्ययनले द्रुतमार्ग बनाउन एक अर्ब डलर लाग्ने भएको छ।

चार लेनको द्रुतमार्ग बनाउन एक अर्ब डलर लाग्ने र दुई लेन बनाउन ४० करोड डलर लाग्ने एडीबीको अध्ययनमा देखिएको छ।

एडीबीले योजना निर्माणको समय लम्बिदै गएकोले लागत बढ्दै गएको जनाएको छ।


‘योजना निर्माण अघि नबढ्दा अन्यौलतासँगै लागत समेत बढ्दै जानेछ,' भौतिक योजना तथा निर्माण मन्त्रालएका एक अधिकारीले भने, ‘निर्माणको समय लम्बिदै गएमा अझ लागत बढ्नसक्छ।'एडीबीले द्रुतमार्ग चार लेनको बनाएमा निजी क्षेत्र आउननसक्ने जानकारी गराएको छ।

‘यदि द्रुतमार्ग चार लेनको बनाइएमा निजी क्षेत्र आउनसक्ने सम्भावना अत्यन्त कम हुन्छ,' एडीबीले भनेको छ, ‘यसमा लगानी धेरै हुन्छ र व्यवसायको जोखिमपनि बढी रहन्छ।' सरकारले यो मार्ग निर्माण स्वामित्व र हस्तान्तरण(बुट) मोडेलमा अगाडी बढाउने योजना बनाएको छ। चार लेनको मार्ग बनाउने हो भने सरकारनै सहभागी हुनुपर्ने एडीबीले उल्लेख गरेको छ।

एडीबीले सवारीसाधनको चाप घटाएको छ। पहिलो अध्ययनमा दैनिक आठ हजार सवारी साधन चल्ने भनेको अहिले पाँच हजार सवारीसाधन चल्ने अनुमान गरेको छ। एडीबीले मार्गमा पर्ने पुल र सुरुङ कम बनाउन सुझाव दिएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत द्रुतमार्गलाई प्राथमिकतामा राखेको छ।

source:nagarik