पोखरा, साउन १२- बालबालिकादेखि वृद्धसम्मका व्यक्ति अपहरणमा परेको समाचार आइरहेको बेला
नवलपरासीका एक युवाले आफै अपहरणमा परेको भन्दै परिवारका सदस्यलाई दिनु सम्मको दुःख दिएका छन्।
नवलपरासीको नारायणी-९, दाउनबारीका २३ वर्षिय ठाकुर भण्डारीले आफू अपहरणमा परेको भन्दै परिवार सदस्यलाई झुक्याएका थिए। उनले आफू अपहरणमा परेको भन्दै उद्दारका लागि पटक पटक दाजु सुन्दर भण्डारी र साथीहरुलाई अनुरोध सहितको एसएमएस गरेका थिए।
असार १५ गते बुटबल जान भनि घरबाट निस्केका उनले एक साता पछि दाजुलाई पहिलोपटक एसएमएस गरेर आफु अपहरणमा परेको जानकारी गराएका थिए। तर बुटवल हिडेका उनी पोखरा आएर फूलबारीमा रहेका साथीहरु विशाल ढकाल, योगेश मगर र गणेश देवकोटाको कोठामा बसेका थिए। कास्की प्रहरीले उनलाई साथीहरुको कोठाबाट फेला पारेको थियो।
पोखरामा साथीहरुसँगै रहेका ठाकुरले परिवारका सदस्यलाई निरन्तर आफु अपहरणमा परेको जानकारी गराएपछि दाजु सुन्दरले नवलपरासीको कावासोतीस्थित प्रहरीलाई खबर गरेका थिए। 'अपहरणमा परेको भन्दै भाईकै मोवाईलबाट एसएमएस आएपछि आत्तिएर खोज्न थाल्यौ' दाजु सुन्दरले भने, 'हामीलाई त दुख दियो नै अरुले समेत बिनासित्ती पीडा खेप्नुपर्यो।'
दाजु सुन्दरका अनुसार ठाकुरले पहिलोपटक आफुलाई ५०/६० जना युवाले अपहरण गरेर अपरिचित जंगलमा राखेको भन्दै एसएमएस गरेका थिए। 'बुटवल जान्छु भनेर निस्केको मान्छे अपहरणमा परेको खबर पाउँदा चिन्ता लाग्नु स्वभाविक थियो' उनले भने।
'अपहरणकारीले 'किड्नी' बेच्ने रहेछन, राती सुतेको बेलामा बेहोस बनाएर लैजान्छन, तर कहाँ लैजान्छन मलाई थाहा हुँदैन भन्दै एसएमएस आएपछि हामीलाई झनै चिन्ता लाग्यो' सुन्दरले भने, 'त्यसपछि प्रहरीलाई उजुर गरेर खोजतलास सुरु गर्यौ।' उनले आमासँग भेट हुने चाहना छ, त्यसैले मलाई बचाउनुस भन्दै समेत एसएमएस पठाएको सुन्दरले बताए। 'अपहरणको घटना भईरहेका हुनाले अविश्वास पनि गर्न सकनौ' उनले भने।
एसएमएस पठाइएको ठाकुरको आफ्नै मोवाईलको कल 'डाईभर्ट' गरिएकोले परिवारका सदस्यलाई झनै चिन्ता थपिएको थियो। तर नवलपरासी प्रहरीले अनुसन्धान गर्ने क्रममा मोवाईल पोखरामा रहेको जानकारी दिएपछि परिवार खोज्दै पोखरा आएका थिए।
'कावासोती प्रहरीले खोजी गर्ने क्रममा पोखराको फूलबारी र रानीपौवा क्षेत्रमा मोवाईल रहेको जानकारी दिएपछि हामी पोखरा प्रहरीमा पुग्यौ' दाजु सुन्दरले भने। कास्की प्रहरीले त्यही सुचनाको आधारमा खोजतलास गर्दा ठाकुरलाई साथीहरुको कोठामा फेला पारेको थियो।
'मोबाइल नम्बरको टावर परीक्षण गर्दा फूलबारी र रानीपौवा क्षेत्रमा देखिएपछि सोही आधारमा व्यापक रुपमा परिचालित भएर खोजतलास गर्दा भेट्यौ' कास्की प्रहरी प्रवक्ता प्रेम बस्नेतले भने, 'साथीहरुको कोठामा बसिरहेको अवस्थामा फेला पारेका थियौ।'
बस्नेतका अनुसार ठाकुरले पोखराका साथीहरुलाई समेत घरमा पठाएको एसएमएसको बारेमा जानकारी दिएका थिएनन। 'पोखरा घुम्न आएको भन्दै साथीहरुको कोठामा बसेको र साथीहरुले पनि सजिलै राखेका रहेछन' उनले भने, 'उ व्यक्ति नै बद्मास रहेछ, परिवारलाई दुख मात्र दियो।' प्रहरीले ठाकुरलाई दाजु सुन्दरको जिम्मा लगाएर घर पठाएको छ।
दाजु सुन्दरले भाईलाई नवलपरासीको कावासोतीस्थित प्रहरीलाई बुझाएका छन। दाजु सुन्दरले समेत भाईले अपहरणको एसएमएस पठाउनुको कारण नबुझको बताए।
'हामीले उसका अहिलेसम्मका सबै माग पुरा गरेका थियौ, तर ज्यादै दुख दियो' उनले फोनमा नागरिकसँग भने, 'खै किन त्यसो गर्यो, थाहै भएन।' कावासोती प्रहरीले अहिले उनको बारेमा अनुसन्धान गरिरहेको छ। भण्डारी बुटवल स्थित लिटस् क्याम्पसमा सिएमए अध्ययनरत विद्यार्थी हुन।
source:nagarik