एडीबी अध्यक्षले प्रधानमन्त्रीलाई भने, 'शान्ति ल्याउ सहयोग हुन्छ' :

काठमाडौं, श्रावण १२ - नेपाल भ्रमणमा रहेका एसियाली विकास वैंक (एडीवी)का अध्यक्ष हारु हितो कुरेहाले
शान्ति र स्थिरतापछि नेपालको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालसँग बुधबार भएको भेटमा कुरेहाले सन् २००८ को तुलनामा २०१० सम्ममा नेपाललाई गर्दै आएको आर्थिक सहयोगमा दोब्बर वृद्धि गरिएको स्मरण गर्दै शान्ति र स्थिरता भए आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीले सरकारले मध्यपहाडी राजमार्ग, काठमाडौँ-तराई जोड्ने फास्ट ट्रयाक निर्माण, पूर्व-पश्चिम, काठमाडौँ-वीरगञ्ज, काठमाडौँ-पोखरा र काठमाडौँ-चीन जोड्ने रेलवे सेवा बिस्तारको योजना अगाडि बढाइरहेको जानकारी दिए । साथै उनले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको, जलविद्युत आयोजना निर्माण र पर्यटन क्षेत्रको विकासको लक्ष्य राखिएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका थिए ।
भेटमा प्रधानमन्त्री नेपालले एडीवीले अप्ठ्यारो अवस्थादेखि नै सहयोग पुर्‍याउँदै आएको भन्दै आभार व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
वेलायती राजदूतद्वारा विदाई भेट
प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागी वेलायतका राजदूत एन्ड्रयू हलले बुधबार विदाई भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्री नेपालले आफ्नो कार्यकालमा राजदूत हलले  नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र विकास निर्माणमा पुर्‍याएको सहयोगप्रति धन्यवाद दिए ।
राजदूत हलले आफ्नो कार्यकालमा प्रधानमन्त्री र नेपाल सरकारको तर्फबाट पाएको सहयोगप्रति आभार प्रकट गर्दै नेपालमा लामो समयसम्म रहन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि निरन्तर नेपालको सम्पर्कमा रही सहयोग गरिरहने प्रतिवद्धता पनि व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । 

source:kantipur