अमेरिकी महिला हत्या अभियोगमा शोभराजलाई जन्मकैद :

काठमाडौं, साउन १४- सर्वोच्च अदालतले शुक्रवार फ्रान्सेली नागरिक चार्ल्स शोभराज बारे
पुनरावेदन अदालत पाटनले गरेको आजन्म कैदको फैसला सदर गरेको छ। अमेरिकी महिला कोन्निजो ब्रोनिचज हत्या तथा जाली पासपोर्ट प्रयोगको अभियोग अदालतले प्रमाणित गरेको हो।
न्यायाधीशहरु रामप्रसाद शाह र गौरी प्रधानको संयुक्त इजालसले शुक्रवार पुनरावेदन पाटनको फैसला सदर गरेको हो। शोभराजले पुनरावेदन अदालतलको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

शोभराजकी २१ वर्षे पत्नी निहिता विश्वास सर्वोच्चको फैसलापछि निकै आक्रोसित देखिएकी थिइन्। उनले न्यायाधीशले पैसा खाएर शोभराजविरुद्ध फैसला गरेको आरोप लगाइन्। उनले न्यायाधीशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने पनि बताइन्। उनले यो निर्णयविरुद्ध अन्तर्राष्ट्रिय अदालत पनि जाने बताएकी छन्।

शोभराजविरुद्ध वकालत गर्ने कानून व्यवसायीहरुले अदालतको निर्णयको स्वागत गरेका छन्। शोभराजविरुद्ध वकालत गर्ने कानून व्यवसायी रमेशप्रसाद कोइरालाले प्रमाणको उचित र सही मूल्याङ्कन भएको र त्यसैका आधारमा फैसला भएको प्रतिक्रिया दिएका छन्।

तर शोभराजतर्फबाट वकालत गर्ने कानून व्यवसायी भने अदालतको यस निर्णयबाट रुष्ट भएका छन्। शोभराजकी सासू तथा उनको तर्फबाट वकालत गर्नेमध्येकी एक शकुन्तला थापाले आक्रोशित हुँदै अदालतको यो फैसला आफूहरुलाई मान्य नहुने बताइन्। असार ३० गते हुने भनिएको शोभराजको फैसला केही अध्ययन बाँकी रहेको भन्दै आजलाई सारिएको थियो।

उनीमाथि २०३२ साल पुस ६ गते साँगामा भेटिएको अमेरिकी महिला कोन्निजो ब्रोनिचज शव र पुस ८ गते कोटेश्वरमा भेटिएको अर्को एक शवसँग जोडेर त्यसको हत्यामा संलग्न भन्दै मुद्दा चलाइएको थियो। उनीविरुद्ध २०३३ सालमा मुद्दा दायर गरिएको थियो। तर शोभराज भागेकाले उनी भेटिएपछि कारबाही चलाउने गरी उक्त मुद्दा तामेलीमा राखिएको थियो।

सन् १९७६ मा शोभराज एक अपराधका सिलसिलामा भारतमा पक्राउ परेपछि उनी हत्यामा संलग्न तिनै चार्ल्स शोभराज भएको थाहा भएको थियो।

शोभराजविरुद्ध दायर भएका मुद्दाहरु विश्वका विभिन्न मुलुकमा अझै छन्।

शोभराज जीवनका करिब ४० वर्ष विभिन्न अपराधवापत जेलमा बिताइसकेका व्यक्ति हुन। उनी ९ वटा देशका जेलमा परिसकेका छन्। उनीविरुद्ध २० वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये उनले ६ वर्ष बिताइसकेका छन्। यो फैसलाअनुसार अब उनले बाँकी १४ वर्ष जेलमै बिताउनुपर्नेछ।

source:nagarik