अब प्रहरीकै घरमा छापा :

काठमाडौं, १३ साउन , सत्य सेवा सुरक्षणम् भन्दै नागरिकको सुरक्षा गर्ने कसम खाएका हजारौँ प्रहरीले हाकिमको घरमा बाथरुम सफा गर्ने र 'म्याडम'को वस्त्र धुने गरेको धेरै वर्ष भइसक्यो । प्रहरी संगठनभित्रको यो अत्याचारविरुद्ध गृह-प्रशासनले अब छापा मार्ने र दोषीलाई कारबाही गर्ने तयारी गरेको छ ।
प्रहरीका उच्च अधिकारीका घरमा नियमविपरीत राखिएका प्रहरी कामदार पत्ता लगाउन गृह-प्रशासन आफैंले छापा मार्ने तयारी गरेको हो । छापा मार्दा कसैको घरमा प्रहरीलाई घरेलु कामदार पाइएमा त्यस्ता प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्ने तयारीसमेत गृहले गरेको छ ।
राज्यको ढुकुटीबाट तलब खाने प्रहरी जवानलाई प्रहरीकै उच्च अधिकारीले विभिन्न बहानामा आफ्नो घरमा कामदारको रूपमा राख्दै आएका छन् । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बारम्बार पत्र लेखी घरेलु कामदार हटाउन निर्देशन दिए पनि पालना नभएपछि मन्त्रालय आफैं छापा मार्ने तयारीमा जुटेको हो ।
प्रहरी नियमले पनि अधिकृतहरूलाई कम अधिकार दिएको छैन । उनीहरूले प्रहरी जवानलाई व्यक्तिगत सुरक्षा, ड्राइभिङ तथा क्वाटरको काममा लगाउन पाउँछन् । तर, त्यतिले नपुगेर प्रहरीका उच्च अधिकारीहरूले विभिन्न बहानामा घरमा लगी घरेलु कामदारको रूपमा प्रयोग गरिरहेका छन् ।
घरेलु कामदारको रूपमा रहेका प्रहरी जवानले आफ्नो हाकिमको घरमा सरसफाइदेखि लिएर परिवार तथा बालबच्चाको सेवासम्मका काम गर्दै आएका छन् । उच्च प्रहरी अधिकारीहरू त आफ्नो घरको खेतिपातीदेखि लिएर घरनिर्माणमा समेत प्रहरी जवानको प्रयोग गर्नु सामान्य मान्छन् । राष्ट्रसेवक प्रहरीमाथि भइरहेको यो ज्यादति रोक्न गृह मन्त्रालयले दुईपटकसम्म पत्र लेखी उच्च अधिकारीको घरमा राखिएका घरेलु कामदार हटाउन निर्देशन दिएको थियो । तर, गृहको दुईवटै पत्रको निर्देशन प्रहरीले अवज्ञा गरेको छ ।
प्रहरीले निर्देशन अवज्ञा गरेपछि गृहले तेस्रोपटक कडा निर्देशनसहितको पत्र गृहलाई केही साताअघि मात्रै लेखेको छ । 'आचारसंहिताविपरीत र नियमविपरीत प्रहरी उच्च अधिकारीको घरमा प्रहरी घरेलु कामदार राखिएको भन्ने जानकारी आएकाले सो तुरुन्त हटाउन निर्देशन छ,' गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई तेस्रोपटक लेखिएको पत्रमा अगाडि भनिएको छ, 'प्रहरी कामदार नहटाइएमा गृह मन्त्रालयले निकट भविष्यमा आफैं निरीक्षण र अनुगमन गर्नेछ र अनुगमन गर्दा कुनै उच्च अधिकारीकहाँ प्रहरी घरेलु कामदार राखिएको पाइएमा त्यस्ता अधिकारीमाथि विभागीय कारबाही गरिनेछ ।'
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्तो कडा व्यहोराको पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि अधिकारीको घरमा प्रहरीलाई कामदारको रूपमा नराखिएको व्यहोरासहितको जवाफ केही दिनअघि मात्रै गृहलाई पठाएको छ । तर, प्रहरी प्रधान कार्यालयको सो पत्रप्रति गृह मन्त्रालय विश्वस्त बन्न सकेको छैन । त्यसैले छापा मार्ने तयारी भएको हो ।
गृह मन्त्रालयका सहसचिव प्रेमकुमार राईले प्रहरी प्रधान कार्यालयबाट पत्र आए पनि मन्त्रालय आफैं प्रहरी अधिकृतको घरमा निरीक्षण र अनुगमन गर्ने तयारीमा जुटेको जानकारी दिए । 'हामीले (छापा मार्ने) तयारी गरिसकेका थियौँ, तर सरकार कामचलाउ भएकाले समस्या भएको हो,' राईले नयाँ पत्रिकासँग भने । यद्यपि अनुगमन र निरीक्षण गर्ने कार्य छिट्टै सुरु हुने राईले जानकारी दिए । राईले कुनै प्रहरी अधिकृतको घरमा प्रहरीलाई कामदार राखिएको भन्ने उजुरी मन्त्रालयमा परे आवश्यक कारबाही गरिने बताए ।
इन्स्पेक्टरले एकजना, एसपीले दुईजना तथा डिआइजी र सोभन्दा माथिका अधिकारीहरूले कम्तीमा पनि चारदेखि पाँच प्रहरीलाई घरको काममा लगाउँदै आइरहेको अनौपचारिक जानकारी गृह मन्त्रालयलाई छ । प्रहरी अधिकृतले प्रहरीलाई घरेलु कामदारको रूपमा राखेको गुनासो व्यापक रूपमा बढ्न थालेपछि गृह मन्त्रालयले दुई वर्षअघि नै त्यसलाई रोक्न प्रहरी आचारसंहिता २०६५ लागू गरेको थियो । आचारसंहितामा कुनै पनि प्रहरी कर्मचारीले अन्य कुनै कर्मचारीलाई व्यक्तिगत वा घरेलु प्रयोजनको काममा लगाउन नपाइने उल्लेख छ ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरीका हाकिमहरूले विभिन्न काममा प्रहरी जवानलाई आफ्नो गृहक्षेत्रमा काजमा खटाउने गर्छन् । बाहिर जिल्लामा रहेका प्रहरी जवान काजमा काठमाडौं आउने गर्छन् र काठमाडौंमा रहेको हाकिमको घरको काममा सहयोग पुर्‍याउँछन् ।
तर प्रहरीलाई घरेलु कामदारको रूपमा प्रयोग गर्ने पद्धति रोक्न गृह मन्त्रालयले प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन समितिसमेत बनाएको छ ।
तर यी अनुगमन समितिले जिम्मेवारीपूर्वक काम गर्न सकेका छैनन् । 'प्रहरी अधिकारीले जानकारी नदिएपछि समितिले उचित जानकारी नै पाउन सक्दैन,' गृह स्रोत भन्छ । त्यसैगरी मन्त्रालयले क्षेत्रीय प्रशासकहरूलाई पनि अनुगमन गर्न निर्देशन दिए पनि प्रहरीकै असहयोगका कारण क्षेत्रीय प्रशासकहरूले पनि केही जानकारी दिन सकेका छैनन् ।
मन्त्रालय स्रोतका अनुसार विभिन्न स्थानमा गरी त्यस्ता घरेलु प्रहरी कामदारको संख्या तीन हजारभन्दा बढी छ । सोमध्ये ८५ प्रतिशतभन्दा बढी काठमाडौंमा छन् । 

source:nayapatrika