काठमाडौं - नेपालले पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ को पहिलो खेल अमेरिकासँग खेल्ने भएको छ। अगस्ट १४ देखि २२ सम्म इटालीको
बोलोग्ना प्रान्तमा हुने प्रतियोगिताको खेलतालिका नेपाल क्रिकेट संघले सोमबार सार्वजनिक गरेपछि नेपालले अमेरिकासँग अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) को प्रतियोगितामा लगातार तेस्रो पटक खेल्न लागेको हो।
गत फेब्रुअरीमा काठमाडौंमा भएको डिभिजन-५ नेपालले अमेरिकालाई फाइनलमा पराजित गरेर जितेको थियो। त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि यी दुई टोली नै भिड्दा अमेरिकाले नेपाललाई पराजित गरेको थियो। डिभिजन-५ को पहिलो दुई स्थानमा रही नेपाल र अमेरिका इटालीका लागि छानिएका थिए।
अगस्ट १४ मा अमेरिकासँग खेलेको भोलिपल्ट नेपालले आयोजक इटालीसँग खेल्नेछ। त्यस्तै तान्जेनियासँग अगस्ट १७ मा अर्जेन्टिनासँग १८ मा तथा २० मा क्यामी आइल्यान्डसँग खेल्नेछ। फाइनल २१ मा हुनेछ।
अमेरिका र इटालीबाहेक नेपालका लागि अन्य सबै प्रतिद्वन्द्वी नयाँ हुन्। नेपालले अमेरिकासँग यसअघि ४ पटक खेलिसकेको छ, जसमा नेपालले २ तथा अमेरिकाले एक खेल जितेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो। इटालीसँग यसअघिको दुवै खेलमा नेपाल विजयी भएको थियो।
डिभिजन-४ का शीर्ष दुई टोली डिभिजन-३ मा छनोट हुने छन्। डिभिजन-३ २०११ को जनवरीमा चीन/हङकङको ग्वाङझाउमा हुने कार्यक्रम छ। डिभिजन-४ का दुई टोली रेलिगेसनमा पर्नेछन्। डिभिजन लिग २०१५ को विश्वकप छनोटका खेल पनि हुन्।
source.nagarik