माओवादी नेतृत्व असम्भवः ओली :

कीर्तिपुर, असार २८- वरिष्ठ एमाले नेता केपी शर्मा ओलीले माओवादी नेतृत्वमा सहमतिको सरकार असम्भव
भएको बताएका छन्। हिंसात्मक गतिविधिलाई निरन्तरता दिइरहेको र सत्ता कब्जाको रणनीतिलाई कायमै राखेकाले माओवादीले कुनै पनि हालतमा सत्ताको नेतृत्व गर्न नसक्ने बताए।


नेकपा एमाले गण्डकी अञ्चल कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालय मदननगरमा आइतबार आयोजित सङ्गठित सदस्यको भेलालाई सम्बोधन गर्दै नेता ओलीले माओवादीले दिन-प्रतिदिन हत्याको शृङ्खलालाई बढाइरहेकोप्रति आक्रोश व्यक्त गरे। माओवादीको हिंसात्मक गतिविधि भण्डाफोर गर्न केही पनि डराउनु नपर्ने पनि बताए।


एमालेका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य ममता गिरीलगायतले एमालेका मूल्यमान्यता र आदर्शलाई आत्मसात् गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउनका लागि क्रियाशील बन्न सम्पूर्ण सदस्यलाई आग्रह गरे।

कार्यक्रममा गण्डकी अञ्चल क्षेत्रका १९७ जना सङ्गठित सदस्य एवम् त्यस क्षेत्रका विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता थियो।

यसैबीच एमालेका उदयपुर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरीका अगुवा कार्यकर्ताको पार्टी केन्द्रीय कार्यालय मदननगरमा आइतबार बसेको भेलाले माओवादीद्वारा मारिएका पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छवि कार्कीलाई सहीद घोषणा गर्न माग गरेको छ।

नेपाली जनताको मुक्तिका लागि पुर्‍याउनुभएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने माग गरिएको हो।

भेलाले कार्कीको हत्यामा संलग्नलाई राज्यले अविलम्ब कारबाही गर्नुपर्ने र हत्याको छानबिनका लागि पार्टीले छुट्टै आयोग गठन गर्नुपर्ने माग गरेको छ।

source:nagarik