चिनियाँ व्यापारी लुटपाटमा माओवादी केन्द्रीय नेता कालीबहादुरको संलग्नता :

काठमाडौ, अषाढ २८ - तीन दिनअघि राजधानीमा लुटिएका चिनियाँ व्यापारीलाई माओवादी केन्द्रीय सदस्यको योजनामा
लुटिएको खुलासा भएको छ । यार्चा किन्न गएका तीन चिनियाँ व्यापारीबाट लुटिएको केही नगद र यार्चा प्रहरीले माओवादी लडाकु तेस्रो डिभिजन शक्तिखोरका ब्रिगेडियर कालीबहादुर खामको डेरामा भेटिएपछि प्रहरीले उनको योजनामा लुटपाट भएको दाबी गरेको हो ।
यार्चा लिन गएका तीन चिनियाँ व्यापारी शुक्रबार राति नयाँ बसपार्कको नवमित्र गेस्टहाउसमा लुटिएका थिए । प्रहरीले ४८ घन्टाको लामो अनुसन्धानपछि घटनामा संलग्न ८ जनालाई सार्वजनिक गर्दै खामको योजना र निर्देशनमा लुटिएको बताएको हो ।
प्रहरीले आइतबार राति खामको गोंगबुस्थित डेरामा व्यापारीबाट लुटिएमध्येको नगद चार लाख रुपैयाँ, ७ किलो ८ सय ७१ ग्राम यार्चागुम्बु बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश खरेलले खामको कोठामा भेटिएको सबुत प्रमाणले संलग्नता पुष्टि गर्ने बताए । 'व्यापारीबाट लुटिएको पैसामात्र होइन, गैरकानुनी यार्चागुम्बुलाई कानुनी बनाउनका लागि सरकारी कार्यालयका नक्कली कागजात र स्ट्याम्पहरू बरामद भएका छन्,' खरेलले भने, 'उनले प्रयोग गर्ने गाडीसमेत लुटपाटका क्रममा प्रयोग भएको छ ।'
आइतबार दिउँसो घटनाका अर्का आरोपित रुकुम जाङका गणेशबहादुर मल्ललाई पक्राउ गरेपछि प्रहरीले खाम बस्दै आएको गोंगबुस्थित भाडाको फ्याटमा छापा मारेको थियो । खाम र मल्ल साझेदारीमा यार्चागुम्बुको व्यापार गर्दै आएका थिए । मल्लले यार्चा खाम र आफ्नो आधा-आधा भएको बयान प्रहरीलाई दिएका छन् । 'एउटै फ्याट भाडामा लिएर बसेका रहेछन्,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने, 'छापा मार्न जाँदा खाम थिएनन् ।'
प्रहरीले खामको डेराबाट उनले प्रयोग गर्ने गरेको ना१च ८७३६ नम्बरको स्यान्ट्रो कार, नगद पाँच लाख, इन्सास राइफलको गोली चार राउन्ड, म्यागनम राइफलको गोली दुइ राउन्ड र सानो चाइनिज पेस्तोलको गोली एक राउन्ड बरामद गरेको छ ।
प्रहरीले खामको कोठाबाट उनको नागरिकताको प्रमाणपत्र, राहदानी, उनको परिचयपत्र, वन कार्यालय, रेन्जर पोस्टको स्ट्याम्प, वन अधिकृत शंकरप्रसाद गुप्ताको स्ट्याम्प र खुकुरीहरू बरामद गरेको छ । प्रहरीले खामलाई सरकारी कागजपत्र किर्ते अभियोगमा समेत मुद्दा चलाउने तयारी गरिरहेको छ । 'वन कार्यालयका कागजपत्रहरू नक्कली बनाउने गरेको देखिएको छ,' एसपी खरेलले भने, 'हामी अनुसन्धानपछि सरकारी कागजात किर्ते अभियोगमा पनि कारबाही प्रक्रिया अघि बढाउँछौं ।'
प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ८ जनालाई पक्राउ गरे पनि घटनाका मुख्य दोषी मानिएका खामलाई पक्राउ गर्न सकेको छैन । 'खाम यसअघिका घटनामा पनि दोषी ठहर गरिएका व्यक्ति हुन्' खरेलले भने, 'हामीले खोजतलास गरिरहेका छौं, प्रहरीले सबै अपराधीलाई एकैपटक पक्राउ गर्न सक्दैन ।' उनले माओवादीलाई खामलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइदिनसमेत आग्रह गरे ।
खाम तीन वर्षअघि राजधानीको कोटेश्वरका रामहरि श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्तसमेत हुन् । अदालतले हत्याकै अभियोगमा पक्राउ पुर्जी जारी गरेका उनी प्रहरीको फरार सूचीमा छन् ।
प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै रुकुम जाङका गणेशबहादुर मल्ल, पाल्पाका लालबहादुर राना, तनहुँका मिलनसेन ठकुरी, दाङका मधुसूदन शर्मा, रुकुमका जितेन्द्र बुढामगर, कर्मशाही घर्ती, सौगात बुढामगर र नुवाकोटमा अशोक खातीलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्रहरीले गणेशबहादुर मल्लले प्रयोग गर्ने गरेको बा३९प ७२२३ नम्बरको पल्सर मोटरसाइकलसहित ल्यापटप, स्याटेलाइट फोन र यार्चागुम्बु तौलिने मेसिन बरामद गरेको छ ।
यार्चा किन्न गएका चिनियाँ व्यापारीहरू ४३ वर्षीय माखुम दुख, ३३ वर्षीय ममानी र ४३ वर्षीय ममालीको साथमा रहेको २६ लाख २० हजार रुपैयाँ लुटिएको थियो । यसअघि चिनियाँ व्यापारी काठमाडौं र सिन्धुपाल्चोकमा लुटिएका कारण नेपाल र चीनको व्यापारिक नाका खासा प्रभावित हुँदै आएको छ ।

source: kantipur