सप्तरी, १ साउन ,सप्तरीको करिब एक हजार बिघा नेपाली भूमि अतिक्रमण गरेर भारतीय नागरिकले निर्बिघ्न
रूपमा खेती गर्दै आएका छन् । वर्षौंदेखि नेपाली भूमिमा पसेर खेती गर्न थालेका भारतीयलाई हटाउन सरकारले कुनै पहल गरेको छैन ।
सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म सात किलोमिटरको दुरीमा रहेको एक हजार विघाभन्दा बढी नेपाली भुमि भारतीयले अतिक्रमण गरेका हुन् । उनीहरुले सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर-टहरा निर्माण गरेका छन् भने दशगजा क्षेत्र मिचेर ग्रामिण सडकसमेत बनाएका छन् । लालापट्टी र गोविन्दपुर गाविस तथा भारतको विहार राज्यको राजपुर र न्यौर गाउको बीचमा रहेको दशगजा क्षेत्र पुरै भारतीयको कब्जामा छ । उनीहरुले त्यहाँ घरै बनाएर बसोबास गर्दैआएका छन् ।
लालापट्टीका किशोरकुमार यादव भारतीयले दशगजा हुदै प्रत्येक वर्ष नेपाली भूमिमा अतिक्रमण बढाउदै लगेको बताउछन् । दशगजामा निर्माण भएका सबै घर भारतीयको रहेको उनको भनाई छ ।
सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म सात किलोमिटरको दूरीमा रहेको एक हजार बिघाभन्दा बढी नेपाली भूमि भारतीयले अतिक्रमण गरेका हुन् । उनीहरूले सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर-टहरा निर्माण गरेका छन् भने दसगजा क्षेत्र मिचेर ग्रामीण सडकसमेत बनाएका छन् । लालापट्टी र गोविन्दपुर गाविस तथा भारतको बिहार राज्यको राजपुर र न्यौर गाउँको बीचमा रहेको दसगजा क्षेत्र पूरै भारतीयको कब्जामा छ । उनीहरूले त्यहाँ घरै बनाएर बसोवास गर्दै आएका छन् ।
लालापट्टीका किशोरकुमार यादव भारतीयले दसगजा हुँदै प्रत्येक वर्ष नेपाली भूमिमा अतिक्रमण बढाउँदै लगेको बताउँछन् । दसगजामा निर्माण भएका सबै घर भारतीयको रहेको उनको भनाइ छ ।
अतिक्रमित भूमिमा भारतको राजपुरका श्याम यादव, वासुदेव यादव, मनोजकुमार पण्डित, मंगल रजकलगायतले वर्षौंदेखि खेती गर्दै आएका छन् । स्थानीय शिक्षक अशोक रजकका अनुसार उनीहरूको घर दसगजा क्षेत्रमा रहेको छ । यता, भारत सरकारले नै दसगजा मिचेर कच्ची ग्रामीण सडक बनाएको छ । हाल सो सडकमा पक्की कल्भर्टको निर्माण थालिएको छ ।
भारतीयले नेपाली भूमि अतिक्रमण गरेर खेती गर्दै आए पनि रोक्न ठोस पहल भएको छैन । गत वर्ष असारमा सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामविलास राय यादवसहित सुरक्षा निकायका प्रतिनिधिको अनुगमनमा नेपाली भूमि अतिक्रमण गरेको तथा दसगजामा घर बनाएको पाइएको थियो । तर, भारतीयलाई नेपाली भूमिबाट हटाउन सरकारले कुनै पहल गरेन ।
तत्कालीन प्रजिअ रायले दसगजा क्षेत्रमा कसैले घर बनाउन नपाउने उल्लेख गर्दै गृह मन्त्रालयमा जानकारी गराएर समस्या समाधान गर्ने बताएका थिए । तर, उनको सरुवा भएपछि नेपाली भूमि अतिक्रमण गरेर खेती गर्ने क्रम झन् बढेको लालापट्टीका किशोरकुमारले बताए ।
भारतीयले नेपाली भूमिमा खेती गर्न थालेपछि स्थानीय बासिन्दालाई चरिचरनको समेत समस्या भएको छ । 'सुरुमा नेपाली भूमि बाँझो रहेकोले चरिचरनमा समस्या थिएन,' गोविन्दपुरका बासिन्दा शिवनारायण यादवले भने, 'अहिले निकै समस्या परेको छ ।' उनका अनुसार भारतीयले उपभोग गरेको नेपाली भूमिमा स्थानीयवासीका गाईवस्तु गएमा कुटपिट गरेर धपाउँछन् ।
सप्तरीका वर्तमान प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले सुनसरीमा हुने नेपाली र भारतीय अधिकारीको आसन्न बैठकमा अतिक्रमणबारे कुरा उठाइने बताए । 'सप्तरीमा सीमा मिचिएको जानकारी हामीलाई पनि छ,' प्रजिअ घिमिरेले भने, 'वर्षाको मौसम भएकाले तत्काल जान सकेका छैनौँ, नेपाली र भारतीय दुवै पक्षका अधिकारी सम्मिलित टोलीले चाँडै त्यस क्षेत्रको निरीक्षण गर्ने वातावरण मिलाइरहेको छु ।'
यता, भूमि अतिक्रमण गरेर बसोबास गर्दै आएका भारतीय नागरिक भने सीमा स्पष्ट रूपमा नछुट्याइएकाले यो समस्या आएको दाबी गर्छन् । भारत सरकारले सिमानाप्रति कुनै चासो नदेखाएकाले नेपाली पक्षसित झगडासमेत हुने गरेको भारतीय नागरिक देवेन्द्र यादवको भनाइ छ । 'हाम्रो अवस्था हेर्न न त सरकारकै कुनै पदाधिकारी आउँछ न त मिडियावाला आउँछन्,' उनले गुनासो गरे ।
एक सय ५६ वटा सीमास्तम्भ हराए
सप्तरीको १६ वटा गाविसमा नेपाल-भारत सीमा छुट्याउन गाडिएका एक सय ५६ वटा सीमास्तम्भ हराएका छन् । उक्त सीमाक्षेत्रमा २८ वटा जंगेपिलर (ठूलो स्तम्भ) र तीन सय ५५ वटा सानो पिलर गरी जम्मा तीन सय ८३ वटा सीमास्तम्भ गाडिएका थिए । जसमध्ये ९ वटा जंगेपिलर र एक सय ४७ सानो पिलर हराएका हुन् ।
टापुजस्तो गाउँको रूपमा रहेको सप्तरीको गोबरगाढा गाविसमा मात्र तीनवटा जंगे र ३० वटा साना सीमास्तम्भ हराइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत वर्ष गरिएको निरीक्षणका क्रममा लालापट्टी गाविसअन्तर्गत ४७ वटामध्ये १९ वटा सानो पिलर (बेसाबुत) हराएको पाइएको थियो । पूर्वमा रहेको कोसीनदीदेखि पश्चिममा बलाननदीसम्म सप्तरीको सीमा क्षेत्रको दूरी ७८ किलोमिटर छ ।
सीमाक्षेत्र तथा सीमास्तम्भको सुरक्षाका लागि प्रत्येक ६/६ महिनामा सीमाक्षेत्रको अवलोकन गर्नुका साथै सीमास्तम्भको निरीक्षण गर्नुपर्ने सीमाविद्हरू बताउँछन् । तर, अनुगमनको अभावमा अधिकांश सीमास्तम्भ भत्केको पाइएको छ भने ठूला स्तम्भ (जंगेपिलर) हराउने क्रम पनि जारी छ ।
source:nayapatrika