जर्मनीको चौथो पटक उपाधि जित्ने सपनालाई स्पेनले चकनाचुर पारेको छ। पुयोलले ७३ औँ मिनेटमा गरेको एक मात्र गोलको मद्धतले जर्मनीलाई १-०ले पराजित गर्दै स्पेनले आइतबार नेदरल्यान्डससित उपाधिको
लागि भिडन्त निश्चित बनाएको छ।
स्पेन र नेदरल्यान्डस दुवैले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन्। यी युरोपेली टिममध्ये जुनसुकै जित्दा पनि आफ्नो महादेशबाहेक बाहिर आयोजना भएको विश्वकप उपाधि जितेको पहिलो कीर्तिमान बन्नेछ। यसअघि दक्षिण अमेरिकी टोलीले मात्र यो गौरव पाएको थियो।
स्पेनको आक्रामक खेलका कारण सुरुदेखि नै जर्मन अग्रपंक्ति फितलो देखिएको थियो तर रक्षापंक्ति सुदृढ भएकैले खेल सकिन लगभग २० मिनेट बाँकी छँदासम्म उसले गोल खानु परेको थिएन। जर्मनीले खेलको पहिलो ३० मिनेटसम्म एउटा पनि गतिलो आक्रमण विपक्षी पोस्टमा गर्न सकेको थिएन। स्पेनले भने कयौँ सुनौलो मौका गुमाएका थिए।
source:nagarik