राष्ट्रपतिद्वारा सहमतिको सरकारका लागि ५ दिन म्याद थप :

काठमाडौं, असार २३- राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि ५ दिनको समय
थप गरेका छन्। दलका नेताहरूले राष्ट्रपति कार्यालय पुगेर २५ दलको निर्णय बुझाएलगत्तै म्याद थप्ने निर्णय गरेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार, थप अवधिमा सहमति कायम गरी नयाँ सरकार बनाउने विश्वासका साथ म्याद बढाउने निर्णय गरेका हुन्। २५ दलको निर्णय लिएर एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, कानूनमन्त्री प्रेमबहादुर सिंह र सभासद् विश्वेन्द्र पासवान बुधवार साँझ ५ बजे राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर समय थप्न अनुरोध गरेका थिए।

प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले राजीनामा दिएको भोलिपल्ट असार १७ गते अन्तरिम संविधानको धारा ३८(१) अनुसार असार २३ गते बुधवारसम्म 'राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न' व्यवस्थापिका-संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेका थिए, जसको म्याद बुधबार सकिंदैछ।

source:nagarik