किन हटाइयो म्याराडोनालाई अर्जेन्टिनाको प्रशिक्षकबाट? :

ब्युनस आयर्स, साउन १२ (एपी)-डिएगो म्याराडोनालाई अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट
हटाइएको छ। यसका साथै विश्वकप क्वार्टरफाइनलबाट निराशाजनक रुपमा बाहिरिएपछि पनि चर्चामा आइरहेका म्याराडोनाको प्रशिक्षकका रुपमा २१ महिने कार्यकाल समाप्त भएको छ। म्याराडोनाले सन् २०१४सम्मका लागि आफ्नो नयाँ चार वर्षे कार्यकालको अर्जेन्टिनाको फुटबल संघको प्रस्तावलाई आफ्ना सम्पूर्ण सहायक सहित मात्र स्वीकार गर्ने बताएपछि उनको अनुबन्धलाई नबढाइएको र यस सम्बन्धमा सर्वसम्मत निर्णय गरेको अर्जेन्टिनी फुटबल संघ (एएफए)को कार्यकारी समितिले बताएको छ।


म्याराडोनाको माग अर्जेन्टिनी फुटबल संघका अध्यक्ष जुलियो ग्रोन्डोनाका लागि स्वीकार्य हुन सकेन। उनले म्याराडोनाका थुप्रै सहायकहरूलाई निकाल्ने निर्देशन दिएका थिए। ती मध्ये एक जना म्याराडोनाका नजिकका साथी अलेजान्द्रो मान्कुसो थिए।

एएफए प्रवक्ता एर्नेस्टो चेरक्विसल बिआलोले उक्त निर्णय संघका लागि निकै पीडादायक भएको बताए। तर समस्याको समाधानका लागि अन्य कुनै बाटो नभएको पनि उनले बताए।

source:nagarik