काठमाडौं साउन १२ (नागरिक) - प्रधानमन्त्री माधवकुमार नेपाल र एसियाली विकास वैंक(एडीवी)का अध्यक्ष
हारु हितो कुरेहाबीच आज भेटवार्ता भएको छ। वार्तामा कुहारेले आगामी दिनमा एडीवीले थप सहयोग दिने प्रतिवद्धता जाहेर गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन्
भेटमा एडीवीले नेपालमा लामो समयदेखि गर्दै आएको सहयोगका विषयमा कुराकानी भएको थियो। अध्यक्ष कुरेहाले सन् २००८ को तुलनामा सन् २००१० सम्ममा नेपाललाई गर्दै आएको आर्थिक सहयोगमा दोब्बर वृद्धि गरिएको स्मरण गराएका थिए।
प्रधानमन्त्री नेपालले नेपालको भौतिक संरचना निर्माण तथा विभिन्न आयोजना र सरकारी संरचनाहरुको क्षमता अभिवृद्धिमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। 'एडीवीले अफठ्यारो अवस्थादेखि नै सहयोग पुर्याउँदै आएको छ,' प्रधानमन्त्रीले भने। उनले आगामी दशकमा यातायात र विकासमा फड्को मार्ने गरी ठूला योजनाहरु पूरा गर्ने लक्ष्यसहित सरकार अगाडि बढिरहेकाले त्यसमा नेपाल सरकारले एडिवीबाट सहयोगको अपेक्षा गरेको बताए।
प्रधानमन्त्री नेपालले सरकारले मध्यपहाडी राजमार्ग, काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माण, पूर्व-पश्चिम, काठमाडौं-वीरगञ्ज, काठमाडौं-पोखरा र काठमाडौं-चीन जोड्ने रेलवे सेवा बिस्तारको योजना अगाडि बढाइरहेको, बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको, जलविद्युत आयोजना निर्माण र पर्यटन क्षेत्रको विकासको लक्ष्य राखिएको अवगत गराउँदै सहयोगका लागि आग्रह गरेका थिए। जवाफमा एडीवी अध्यक्षले शान्ति र स्थिरतापछि नेपालको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
उनले पहिलो पटक नेपाल भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै एडिवीको सहयोगमा सञ्चालित आयोजनाहरुको निरीक्षणका क्रममा देखेको प्रगतिबाट आफू सन्तुष्ट रहेको बताए।
source:nagarik